दसैंले अर्थतन्त्र चलायमान, भन्सार र आन्तरिक दुवैको राजस्व संकलन लक्ष्यमाथि, २३० अर्बमाथि उठ्यो

बिजमाण्डू
२०७८ कात्तिक १ गते १५:१५ | Oct 18, 2021
दसैंले अर्थतन्त्र चलायमान, भन्सार र आन्तरिक दुवैको राजस्व संकलन लक्ष्यमाथि, २३० अर्बमाथि उठ्यो

काठमाडौं। सरकारले असोज महिनाको राजस्व संकलनमा पनि लक्ष्यअनुरुप सफलता हात पारेको छ। गत असोजमा भन्सार र आन्तरिक दुवैतर्फको राजस्व संकलनमा लक्ष्य नाघेको हो। यससँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकार कुल दुई खर्ब ३० अर्ब २८ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ।

Tata
GBIME
Nepal Life

दसैंअघि सरकारले भन्सार महसुल संकलन गर्ने सन्दर्भ सूची परिमार्जन गरेको थियो। दसैंमा अधिक मात्रामा वस्तु तथा सामग्री आयात हुने भएकाले पनि  त्यसैलाई केन्द्रमा राखेर अर्थमन्त्री जनार्दन शर्माले सन्दर्भ सूची परिमार्जनमा सहमति  जनाएका थिए।

असोज महिनामा भन्सार विभागले ४४ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। उक्त लक्ष्यभन्दा पनि ३ अर्ब ७ करोड रुपैयाँ बढीले भन्सार उठेको छ। असोजमा भन्सार राजस्ववापत कुल ४७ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको हो। 

यो महिना व्यावसायीहरुले दसैंलक्षित अत्याधिक सरसामान आयात गरेका छन्। भन्सार विभागका अनुसार असोज महिनामा मात्रै एक खर्ब ५० अर्ब रुपैयाँभन्दा धेरैको आयात भएको छ । योसंगै चालु अर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल आयात ४ खर्ब ६५ अर्ब रुपैयाँको भन्दा नाघेको छ। यसबाट विभागले तीन महिनामा कुल भन्सार महसुल एक खर्ब ३४ अर्ब संकलन गरेको छ। यो यस अवधिको कुल लक्ष्यभन्दा ८ अर्ब रुपैयाँले बढी हो। तीन महिनामा सरकारले एक खर्ब २६ अर्ब रुपैयाँ भन्सार महसुलबाट उठाउने लक्ष्य लिएको थियो। 

आन्तरिक राजस्वको पनि लक्ष्य नाघ्यो

राजस्व संकलन अर्को महत्वपूर्ण निकाय आन्तरिक राजस्व विभागले पनि लक्ष्य नाघेको छ। राजस्व विभागले असोजमा २५ अर्ब ८२ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा त्योभन्दा झन्डै पाँच अर्ब बढी अर्थात् ३० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

यो महिनामा सबैभन्दा धेरै अन्तःशुल्क शिर्षकमा राजस्व संकलन भएको छ। अन्तःशुल्कवापत असोजमा लक्ष्भन्दा ६० प्रतिशत धेरै राजस्व उठेको हो, जसवापत ५ अर्ब ९१ करोड संकलन गर्ने लक्ष्य लिएकोमा ९ अर्ब ४४ करोड रुपैयाँ उठेको हो।

मदिराका उत्पादन तथा व्यापार वृ‌द्धि हुँदा पनि असोजमा सरकारले अन्तशुल्क राजस्व अपेक्षित भन्दा बढी उठाउन सकेको देखिएको छ।असोजमा नेपालीहरुको प्रमुखमध्येको चाड दसैं परेकाले पनि व्यवसायीहरुले अधिक मात्रामा मदिरा उत्पादन गर्ने गर्छन्। कोभिड महामारीमा सुस्ताएको मदिरा व्यावसाय विस्तारै बढ्दै गइरहेको छ। यस्तै कात्तिकमा पनि अर्को ठूलो चाड तिहार पर्ने भएकाले त्यसलाई समेत लक्षित गरेर व्यवसायीहरुले यतिबेला देखि नै मदिरा उत्पादनमा जोड दिइरहेका छन्।

यद्यपि केही मदिरा उत्पादकले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्दा त्यसले भने राजस्व संकलनमा असर परेको छ। आयकर पनि असोजमा लक्ष्यभन्दा धेरै राजस्व उठेको छ। यो महिना नौ अर्ब ४४ करोड रुपैयाँ आयकरवापत उठाउने लक्ष्य लिइएकोमा १२ अर्ब संकलन भएको हो। सरकारले व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेपछि आयकर संकलन बढ्दै गएको छ।

यसैगरी, स्वास्थ्य सेवा कर शिर्षकमा पनि उल्लेख्य रुपमा राजस्व संकलन भएको छ। यो शिर्षकमा जम्मा १२ करोड ९६ लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा त्योभन्दा झन्डै साढे पाँच गुणा अर्थात् ६९ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

यी शिर्षकमा उत्साहजनक राजस्व संकलन भएको भए पनि मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा भने सरकारले लक्ष्य भेटेको छैन। असोजमा भ्याटबाट आठ अर्ब ८४ करोड रुपैयाँ उठाउने लक्ष्य लिइएकोमा त्योभन्दा एक अर्ब ३२ करोड कम अर्थात् ७ अर्ब ५२ करोड रुपैयाँ मात्रै संकलन भएको हो।  

विभागले चालु आवको पहिलो त्रैमासमा यी सबै शिर्षकहरुबाट गरी कुल ९६ अर्ब २८ करोड राजस्व संकलन गरेको छ, जुन यस अवधिको निर्धारित लक्ष्यभन‍्दा चार अर्ब ४४ करोड रुपैयाँले बढी हो। 

सरकारले कोभिड खोप लगाउन सुरु गर्दै लकडाउन हटाएसँगै आर्थिक गतिविधिले गति लिन थालेको राजस्व संकलनले पनि देखाएको छ। यस अवधिमा सरकारले हालसम्म कुल प्राप्ति दुई खर्ब ७७ अर्ब गर्दा खर्च दुई खर्ब ३४ अर्ब रुपैयाँ गरेको छ।