अल्पकालीन ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, अनलाईनबाट बोलकबोल हुने

रासस
२०७८ कात्तिक १ गते १०:१३ | Oct 18, 2021

काठमाडौँ। नेपाल राष्ट्र बैंकले  ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको सोमबारदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड रुपैयाँ, एकसय ८२ दिन अवधिको पाँच अर्ब र तीनसय ६४ दिन अवधिको  छ अर्ब रुपैयाँ गरी जम्मा  ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने एकसय ८२ दिने ट्रेजरी आगामी वैशाख छ र तीनसय ६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ ।

यसअघि बैंकले गत असोज २५ गते  १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ ।

सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी

बिल मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ ।

अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।