अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा आयल निगमको मासिक नोक्सानी साढे चार अर्ब

बिजमाण्डू
२०७८ असोज ३१ गते १५:०७ | Oct 17, 2021
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा आयल निगमको मासिक नोक्सानी साढे चार अर्ब

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ आकासिएपछि अक्टोबरमा नेपाल आयल निगमको मासिक रुपमा हुने नोक्सानी इतिहासकै सबैभन्दा बढी हुने देखिएको छ।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले शनिबार पठाएको मूल्य अनुसार निगमको नोक्सानी १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ हुने अनुमान छ। यो आधारमा निगमको मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुनेछ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अक्टोबर महिनाको नोक्सानी इतिहासकै सबैभन्दा बढी हुने बताए। 'निगमको इतिहासमा महिनाको साढे चार अर्ब नोक्सानी अहिलेसम्म भएको थिएन। यो अत्यन्तै डरलाग्दो अवस्था हो,' उनले बिजमाण्डूसँग भने, 'समयमै निर्णय लिन सकिएन भने आपूर्ति व्यवस्थामा गम्भीर असर पर्न सक्छ।'

आइतबार ब्रेन्ट क्रुड आयलको मूल्य ८४ डलर ८६ सेन्ट छ। त्यसमा पनि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ एप्रिसेसन भएर एक डलर बराबर १ सय २० रुपैयाँ ७२ पैसा पुगेको छ।

पछिल्लो मूल्य अनुसार निगमलाई पेट्रोलमा १५ रुपैयाँ १ पैसा, डिजलमा १४ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा ४ रुपैयाँ ५६ पैसा र एलपीजी ग्यास एक सिलिण्डरमा ५ सय ११ रुपैयाँ नोक्सानी छ। यो आधारमा निगमलाई १५ दिनमा पेट्रोलमा ४० करोड ५३ लाख, डिजलमा १ अर्ब ९ करोड र  ग्यासमा ७५ करोड ७० लाख नोक्सानी छ। अन्तर्राष्ट्रिय बजारका कारण निगम थेग्नै नसक्ने नोक्सानी भएपछि सरकारले तत्कालै विकल्प सोच्नुपर्ने देखिन्छ।

भारत भन्दा नेपालमा पेट्रोल लिटरमा ४८ रुपैयाँ सस्तो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि लगातार भारतले मूल्य समायोजन गर्दै आएको छ। तर नेपालमा भने अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन भएको छैन्।

जसका कारण भारतमा भन्दा नेपालमा पेट्रोल र डिजल लिटरमै क्रमश: ४८ रुपैयाँ र ५३ रुपैयाँ सस्तो छ। यही सस्तो भएका कारण भारतबाट तेल भर्नकै लागि नेपाल आउनेको संख्या पनि बढ्दो छ। आजतकका अनुसार सीमावर्ती क्षेत्रका वासिन्दा नेपाल आएर तेल भर्न थालेका छन् जसका कारण भारतका पेट्रोल पम्प सुनसान छ।

भारतको अधिकांश सहरमा पेट्रोल १ सय ८० रुपैयाँको हाराहारीमा पुगिसकेको छ। तर नेपालमा पेट्रोलको मूल्य १ सय ३० रुपैयाँ मात्रै छ। त्यही भएर अहिले भारतीयहरु मोटरसाइकल र गाडी लिएर नेपालको पम्पमा तेल भर्न आउने गरेका छन्। आजतकका अनुसार सर्लाहीको मंलगवाको एउटा नेपाली पेट्रोल पम्पमा भारतीय मोटरसाइकल र गाडीको लाइन भेटिएको थियो।

'नवमीको दिन भएर यो भीड कम भएको हो। अरु बेलामा भारतीय गाडीको लाइन अझ ठूलो हुन्छ,' पम्पमा कार्यरत कर्मचारी बरुणकुमार गोसाइँले भने। निगमको तथ्यांकले समेत सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको माग उच्च भएको देखाउँछ। अहिले दैनिक पेट्रोल ४ हजार किलोलिटर र डिजल ७ हजार किलोलिटर रहेको छ।

कोभिड अघि पनि सामान्य समयमा पेट्रोल २५ सय किलोलिटर र डिजल ५ हजार किलोलिटर मात्रै हो। प्रवक्ता उपाध्यायका अनुसार कोभिड कम हुँदै गएपछि भारतीय गाडी आउजाउँ गर्न दिएपछि पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ। 'गाडीसहित नेपाल घुम्न आउन खुला गरेपछि पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ। यो क्रम अझै बढ्ने देखिएको छ,' उनले भने, 'जति माग बढ्छ त्यति निगमको नोक्सानी उकालो लाग्छ।'

त्यही भएर निगमको डिपोहरुलाई सीमामा रहेका पम्पलाई पहिलाको मागकै आधारमा मात्रै तेल दिन निगम व्यवस्थापनले निर्देशन दिएको छ।

के छ विकल्प?

सरकारका लागि तेल आपूर्ति सहज बनाउन तीन विकल्प छन्। तेलको मूल्य बढाउने, मूल्य स्थिरीकरण कोषमा भएको रकम चलाउने वा पूर्वाधार कर घटाउने तीन विकल्प अगाडि बढाउन सक्छ।

पहिलो विकल्प नोक्सानी अनुरुप मूल्य बढाउनसक्ने अवस्थामा सरकार छैन। पेट्रोल, डिजल र ग्यासमा भएको नोक्सानी अनुसार मूल्य बढाएमा सरकारमाथि ठूलो दबाब पर्नेछ। दोस्रो विकल्पमा बुढीगण्डकीको नाममा लिन थालिएको र अहिले पूर्वाधार करमा रुपान्तरण गरेर लिटरमा १० रुपैयाँ घटाउनेतर्फ सरकारले ध्यान दिन सक्छ।

पूर्वाधार कर  लिटरमा पाँच रुपैयाँ घटाउने, पेट्रोल र डिजलमा लिटरमा केही मूल्य बढाउने र मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गर्ने विकल्प सरकारका लागि उत्तम देखिने निगमका एक कर्मचारी बताउँछन्। यो विकल्पमा अघिल्लो केपीशर्मा ओलीको सरकार कन्भिन्स भएर पक्रिया अगाडि बढाएको थियो। पूर्वाधार कर घटाउँदा राजस्व असुली भने प्रभावित हुनेछ। पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात हुने वस्तुमा पर्छ। निगमले पूर्वाधार कर वाहेक सरकारले भन्सार

पेट्रोलमा २५ रुपैयाँ २० पैसा, डिजेल र २० लिने  गरेको छ। त्यसको अतिरिक्त सडक मर्मत सम्भार शुल्क ४ रुपैयाँ, प्रदूषण शुल्क डेढ रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा लिटरमा १ रुपैयाँ १० पैसा र भ्याट १३ रुपैयाँ लिने गरेको छ।

भारतमा लगातार चार दिनदेखि पेट्रोलियमको मूल्य बढेको बढ्यै

भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो चार दिनदेखि लगातार बढेको छ। यससँगै भारतीय शहरहरुमा पेट्रोलको मूल्य लिटरको १८० रुपैयाँ (भारु १११.८४) हाराहारी पुगेको छ।

पछिल्लो १५ महिनायता भारतमा पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले उकालो लागिसकेको छ। सोही क्रम पछ्याउँदै गत बिहीबारदेखि पुनः इन्‍धनको मूल्य निरन्तर बढिरहेको हो।

यससँगै, भारतको मुम्बईमा आइतबार पेट्रोलको मूल्य लिटरको १११.७७ भारु (नेरु १७८.८३) र डिजेल प्रतिलिटर १०२.५२ भारु पुगेको छ। भोपाल, इन्दोर, औरङ्गावाद, जयपुर लगायतका शहरमा त अझ पेट्रोल लिटरको ११४.४९ भारु (नेरु १८३.१८) सम्म पुगिसकेको छ। (हे. तालिका) ढुवानी मूल्य लगायतका कारण भारतमा यी लगायतका शहरहरुमा पेट्रोलियमको मूल्य सर्वाधिक महँगो हुने गरेको छ।

२०२१ अक्टोबर १७ मा भारतका प्रमुख शहरमा तेलको मूल्य:

शहर

पेट्रोलको मूल्य प्रतिलिटर

डिजेलको मूल्य प्रतिलिटर

नयाँ दिल्ली

१०५.८४ भारु (नेरु१६९.३४)

९४.५७ भारु (नेरु१५१.३१)

मुम्बई

१११.७७ भारु (नेरु१७८.८३)

१०२.१५ भारु (नेरु१६३.४४)

चेन्नाई

१०३.०१ भारु (नेरु१६४.३२)

९८.९२ भारु (नेरु१५८.२७)

कोलकाता

१०६.४३ भारु (नेरु१६९.७८)

९७.६८ भारु (नेरु१५६.२९)

यी बाहेक नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरुमा पनि पेट्रोलको मूल्य लिटरको १७५ रुपैयाँ (भारु १०९.२४) र डिजेलको १६२ रुपैयाँ (भारु १०१.१४) सम्म पुगेको छ। (हे. तालिका)

नेपालका सीमावर्ती भारतीय शहरहरुमा पेट्रोल तथा डिजेलको मूल्य नेपालभन्दा लिटरमै ५० रुपैयाँसम्म महँगो भएको छ यतिबेला। सोही कारण तेल भर्नकै लागि भारतीय सवारीसाधन नेपालतर्फका पेट्रोल पम्प धाउने क्रम बढ्दा अहिले नेपालको पेट्रोलियम खपत पनि ह्वात्तै चुलिएको छ। यसले पनि आयल निगमको ऋणात्मक वासलातमा बल पुर्‍याइरहेको छ।

नेपालसँग सीमा जोडिएका पाँच भारतीय राज्यमा २०२१ अक्टोबर १७ को तेलको मूल्यः

राज्य

पेट्रोलको मूल्य प्रतिलिटर

डिजेलको मूल्य प्रतिलिटर

बिहार

१०९.२४(नेरु१७४.७८)

१०१.१४(नेरु१६१.८२)

उत्तरप्रदेश

१०२.८०(नेरु१६४.४८)

९४.९७(नेरु१५१.९५)

पश्चिम बंगाल

१०६.४३(नेरु१७०.२९)

९७.६८(नेरु१५६.२९)

उत्तराखण्ड

१०१.९२(नेरु१६३.०७)

९५.४३(नेरु१५२.६९)

सिक्किम

१०६.१० (नेरु१६३.७६)

९५.१५ (नेरु१५२.२४)