बैदेशिक रोजगारीको पीडा बिसाउने सेल्टर आमकास नेपाल, महिलालाई बलियो बनाउँदै बिजया




काठमाडौं। गत वर्ष कोभिड महामारी सुरु भएयता वैदेशिक रोजगारीमा गएका धेरैका लागि विदेशको बसाइँ सुखद रहेन। रोजगारी गुम्नु सामान्य थियो। एक त कोभिडको प्रकोप त्यही बीचमा कम्पनीले कामबाट निकालिदिने, बस्ने ठाउँमा समस्या लगायतका विविध कारणले मानिसहरु फर्कने क्रम चलिरह्यो। 



यही भीडमा एकदिन दुबईबाट १० जना महिलाहरु फर्किए। उनीहरुको उमेर २१ देखि ३० वर्षभित्रको थियो। त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरु सिधै आप्रवासी महिला कामदार समूह (आमकास नेपाल)को सम्पर्कमा आए। हेर्दा स्मार्ट देखिने उनीहरु सबै एसएलसी पास थिए, काम गर्न दुबई पुगेका। तर कोभिड महामारीपछि रोजगारी गुम्यो। कमाइको बाटो रहेन बस्ने ठाउँबाट पनि निकालिए। दिनभर झण्डै ५० डिग्रीको चर्को घाममा सडकपेटीमा बसे। रात पनि त्यहीँ काटे। एक साता त्यहाँ भौंतारिएपछि एनआरएनहरुले रेस्क्यू गरेर देश फर्काइदिए। फर्किँदा सबैको अनुहार घामले डढेर कालो थियो। 

आमकास नेपालमा आइपुगेका उनीहरुमध्ये चारजना तत्काल परिवारको साथ लागेर घर फर्किए। ६ जनाले भने-'हाम्रो त घर जाने कुनै उपाय बाँकी नै रहेन। रित्तै फर्किन मन पनि छैन।' संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक विजया राई श्रेष्ठले फण्ड उठाएर उनीहरुलाई बरिष्टामा तालिम दिलाइन्। एक महिना तालिम र एक महिना इन्टर्नशीप गरेपछि ६ जनामध्ये दुईजना केही दिनअघिमात्र दक्ष कामदारका रूपमा दुबई फर्किए। 

एकजना भिसा कुरिरहेकी छन्। अर्की एकले भनिन्-'अब मलाई विदेश जानु छैन यतै केही गर्छु।' विजयाले उनलाई लिएर बैंक गइन्। साढे २ प्रतिशत सहुलियत ब्याजमा ऋण उपलब्ध भयो। अहिले उनले सुन्दरीजलमा ४ रोपनी जग्गा लिएर तरकारी खेती सुरु गरेकी छन्। बाँकी दुईले पनि विदेश जाने प्रयास गरिरहेका छन्। केही दिन अघि उता पुगेर काम थालेकीले खुशी हुँदै फोन गरिन्-'दिदी, अहिले त कति राम्रो छ। सबै खर्च जोगाएर पनि महिनाको ९० हजार जति बचाउँछु।'

'ल हेर्नुस् त दक्ष कामदारका रूपमा विदेश जाँदा बढ्ने तलब र आत्मविश्वासको शक्ति !'- कार्यालयमा विदेशबाट भर्खरै आइपुगेका महिलाहरुलाई पीसीआर टेस्टका लागि लैजाँदै गर्नुअघि उनले सुनाइन्। 

अघिल्लो दिनमात्रै त्यहाँ बिभिन्न देशबाट महिलाहरु फर्किएका छन्। आमकास नेपालले विदेशबाट अलपत्र परेर फर्किएका महिलाहरुका लागि सेल्टर पनि संचालन गरिरहेको छ। वर्षौंसम्म विदेशमा विशेष गरी खाडी मुलुकहरुमा दुःख गर्दा गर्दा बिभिन्न किसिमका हिंसा र दुर्व्यवहारमा परेका महिलाहरु आइपुग्छन्। कति गर्भवती भएर फर्किएका हुन्छन् कतिले बच्चा लिएर आएका हुन्छन्। कतिले त यहाँ आइपुग्दा भाषा पनि बिर्सिसकेका हुने। कतिलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता परिरहेको हुन्छ। कति सामान्य अवस्थामै आइपुगेपनि परिवारसम्म पुग्ने उपाय नभएकाहरु पनि हुन्छन्। 

केही न केही समस्या परेकाहरु नै आमकासको सम्पर्कमा आएका हुन्छन्। ती सबैलाई सहयोग गर्नु, आश्रय दिनु र सकेको मद्दत पुर्याउनु विजयाको टिमको काम हो। विदेशमा काम गरेर फर्केका महिलाहरुमात्र सदस्य रहेका आमकास नेपालले सन् २०१७ देखि महाराजगञ्जमा यस्तै समस्यामा परेर देश फर्किने दिदीबहिनीहरुका लागि सेल्टर संचालन गर्दै आएको छ। संस्थालाई ओपन सोसाइटी फाउन्डेसन र विनरक इन्टरनेशनलले हाम्रो सम्मान परियोजनामार्फत सघाइरहेको छ। यो संस्था विजयालगायत ७ जना महिलाहरुले चलाएका छन्, जो सबै विदेशमा काम गरेर फर्किएका हुन्। विजयाले आप्रवासी महिलाहरुको हकका लागि लड्न थालेको दुई दशक भइसकेको छ। 

००००


आमकासले विदेशबाट फर्केका आप्रवासी महिलाहरुलाई संगठित गर्दै आएको छ। उनीहरुका पक्षमा वकालत गर्दै आएको छ। यसैगरी विदेश जान चाहने महिलाहरुका लागि जानुअघिका प्रक्रियामा सघाउने, विदेश पुग्दाको अवधि तथा त्यहाँबाछ फर्किएपछि मद्दत गर्ने मात्र नभई उनीहरुलाई समाजमा पुनर्स्थापना गर्ने तथा आर्थिकरूपमा आत्मनिर्भर बनाउनेसम्मको सबै काम गर्दै आएको छ। विदेशबाट अलपत्र परेर फर्किएका महिलाहरुलाई सेल्टर नभई नहुने रैछ भन्ने बुझेपछि संस्थाले ३० जना अटाउने सेल्टर सञ्चालन गरिरहेको हो।

संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक विजया दुई वर्ष जापानमा काम गरेर सन् १९९८ मा नेपाल फर्किइन्। उनी फर्किएकै समयमा कुवेतमा कामी शेर्पाको रहस्यमय मृत्यु भएको थियो। त्यो बेला आप्रवासी महिलाहरुको पक्षमा बोलिदिने संस्थाहरु अहिलेजस्तो यति धेरै थिएनन्।

त्यो बेला माइती नेपालले कामी शेर्पाको त्यहाँ भएको मृत्यु आत्महत्या होइन हत्या हो भनेर विरोध गरिरह्यो र सन् १९९८ मा महिला कामदारका लागि कुवेत प्रतिबन्ध लाग्यो। तर दलालहरुले भारतको बाटोबाट अवैध तरिकाले महिलाहरुलाई बिभिन्न देश पठाउने क्रम भने रोकिएन। कति महिलाहरु वैदेशिक रोजगारीमा लैजाने भन्दै भारत श्रीलंका वा बंगलादेशमा बेचिने समस्या पनि आयो। यी सबै समाचारहरुले विजयालाई निकै डर लाग्थ्यो। आफू जापान बस्दा श्रीमानसँगै बसेकाले यस्ता कठिनाइहरु अनुभव नगरेकी उनले जब जब महिलाहरुमाथि विदेशमा भएका दुर्व्यवहार र शोषणका समाचार पढ्थिन् उनको आँशु झर्थ्यो। सन् २००२ मा उनी वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई सघाउने काममा यूएन उमनसँग जोडिइन्। 

उनी यस्तो समयमा यो क्षेत्रमा छिरिन् जुनबेला वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निकै नराम्रो तरिकाले चित्रण गरिन्थ्यो। एकपटक एउटा कार्यक्रममा जाँदा उनले वैदेशिक रोजगारीमा गएका महिलाहरुलाई यति नराम्रो गाली गरेको सुनिन् कि उनले सहनै सकिनन्। अनेक बाध्यताका कारण विदेशिएका महिलाहरुबारे गरिएको नकारात्मक कुराहरुले उनलाई यति प्रभावित पारेछ कि पहिले यस्ता कुराहरु सुन्दा डराउने उनी त्यसबेलादेखि रिसले टेबल ठोक्ने भइछन्। अब भने उनी वैदेशिक रोजगारीमा गएका महिलाहरुका लागि काम गर्नुपर्छ भन्ने टुंगोमा पुगिन्। श्रीमानले साथ दिए साथी सरु जोशीले घच्घच्याइन्। अनि सन् २००३ मा उनले पौरखी भन्ने संस्था जन्माएर त्यहाँ काम सुरु गरिन्। 

१३ वर्ष पौरखीमा काम गरेपछि सन् २०१६ मा उनीसहित पाँचजना निस्किएर आमकास खोलेका हुन्। सन् २०१७ देखि आमकासले सेल्टरसहितको सेवा सुरु गर्यो। अहिलेसम्म यस संस्थाले २ हजारभन्दा बढी आप्रवासी महिला कामदारहरुलाई सेल्टरबाट सेवा दिइसकेको छ। सुरु सुरुमा सेल्टरमा आउने दिदीबहिनीका पीडादायी कथा सुनेर विजया उनीहरुसँगै रुन्थिन्। तर समयले उनलाई यति दह्रो बनाइदियो कि उनी भन्छिन्-'अब पुग्यो कति रुने! अब त उनीहरुको क्षमता अभिवृद्धि गर्ने प्रक्रियामा सघाउने, उनीहरुलाई पुनर्स्थापना र आत्मनिर्भर बनाउने बाटोमा यसरी काम गर्न सकियोस् कि अन्य देशहरुले पनि नेपाललाई मोडलका रुपमा लिउन्। तर विजयाको अनुभवले भन्छ -त्यो दिन आउन अझै धेरै कुर्नुपर्नेछ, अझै धेरै काम गर्नुपर्नेछ। 

००००

समय बदलिएको छ। आर्थिक रुपमा आत्मनिर्भर हुनका लागि गाउँ गाउँबाट महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ। असुरक्षित रोजगारीले निम्त्याएका समस्याहरु पनि उसैगरी बढिरहेका छन्। यसको समाधान कसरी होला? सरकारले बिभिन्न देशहरुमा रोजगारीमा जान महिलाहरुलाई प्रतिबन्ध लगाएको छ तर त्यही प्रतिबन्ध महिलाहरुको लागि चुनौती बन्न पुगिरहेछ। सीधा बाटोबाट जान नपाएपछि महिलाहरु ती देशहरुमा अवैध तरिकाले गइरहेका छन्। त्यसरी जाँदा उनीहरुले भनेजस्तो तलब नपाउने मात्र होइन कुटपिट, हिंसा, शोषण र दुर्व्यवहारमा पर्ने तथा न्यूनतम मानवअधिकारसमेत उपभोग गर्न पाउँदैनन्। तर पनि देशमा कमाउने अवसर र उपाय नभएपछि महिलाहरु दलालको हात समाएर जुनसुकै बाटो भएरपनि विदेशिइरहेको विजयाको बुझाइ छ। 

महिलाहरुलाई विदेश जान रोक्नु मात्रै यो सबै समस्याको समाधान होइन। हिँडडुलको अधिकार हरेक महिलाको आधारभूत अधिकार हो। तर जो अशिक्षित छ,आफूलेजान चाहेको देशको भाषै आउन्न, जो दक्ष छैनन्, उनीहरुलाई घरेलु कामदारका रुपमा विदेश जान भने निरुत्साहित गर्नुपर्छ। उनीहरुकालागि सरकारले देशमा कमाउने वातावरण सिर्जना गरिदिनुपर्छ र विदेश जानै चाहन्छन् भने उनीहरुलाई दक्ष बन्न तालिम दिने, भाषा सिक्ने अवसर दिने र विदेश जान सक्ने दक्षता निर्माण गरेर मात्र उनीहरुलाई सीप र क्षमता अनुसारको काममा जान सक्ने वातावरण बनाउनुपर्छ।

तर के यस्तो भइरहेको छ त?

विजया भन्छिन्-'जबसम्म महिलाहरु आर्थिक रूपले सशक्त हुन सक्दिनन्। देशमै रोजगारीको राम्रो अवसरहरु सिर्जना हुँदैन। तबसम्म असुरक्षित वैदेशिक रोजगारीको यात्रा रोकिन्न। मानब बेचबिखन रोकिन्न।'

विदेशबाट दुःख पाएर फर्किएका महिलाहरुलाई संस्थाका क्लाइन्ट सर्भिस अफिसरले एयरपोर्टमै गएर सेल्टरमा ल्याउने गर्छन्। कतिपय महिलाहरु त बोल्ने नसक्ने अवस्थामा यहाँ आइपुग्छन्। उनीहरुलाई आवश्यक उपचार, साइकोसोसल काउन्सिलिङ दिइन्छ। रहँदा बस्दा उनीहरु सामान्य हुँदै जान्छन्। उनीहरुका लागि थप सहयोग र आर्थिक आत्मनिर्भरताको बाटो पहिल्याउन पनि संस्थाले नै सघाउँछ। घर जाने चाहनेहरुलाई खर्च समेत दिएर उनीहरुले पठाउँछन्। 

संस्थाले कोभिडको पहिलो लहरका बेला निकै धेरै काम गर्यो। चुनौती धेरै थियो। लकडाउनको समय सरकारी स्वीकृति लिन पनि कति पापड बेल्नुपर्ने । २५, ३० जनाको लागि बनाइएको सेल्टर तर सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले १२, १५ भन्दा बढी राख्न नमिल्ने। वैदेशिक रोजगारीबाट फर्कएका डेढसय भन्दा बढी महिलाहरुलाई होटलमा राखेर पनि संस्थाले सहयोग गरेको थियो। 

वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै तरिकाले जीविकोपार्जन गर्दै आएका ३० जना महिलाहरुले कोभिडको समयमा असाध्यै दुःख पाएछन्। उनीहरु तत्काल संस्थाको सम्पर्कमा आए। हाम्रो त पैसा पनि सकियो, खाने बाटो पनि बन्द भयो। उनीहरुको गुनासो समाधान गर्न विजयाले मास्क उत्पादनको आइडिया सुझाइन्। अनलाइनबाटै ती महिलाहरुलाई मास्क बनाउने तालिम दिएर उनले सिलाइका मेसिन कपडा र धागो ठाउँ ठाउँमा पुर्याइदिइन्। उनीहरुले उत्पादन गरेको झण्डै ४ लाख जति मूल्यको मास्क उनले बिभिन्न दातृ निकायहरुको सहयोगमा बिक्रीको समेत जिम्मा लिइन्। यसबाट ती ३० जना महिलाहरुको जीविका चलेको थियो। ती मध्ये केही महिलाले हाल सिलाइलाई नै आफ्नो आयआर्जनको माध्यम समेत बनाइसकेका रहेछन्। 

वैदेशिक रोजगारीमा हिंसा तथा दुर्व्यवहारमा परेर फर्किएका महिलाहरुलाई तालिम, रोजगारी तथा आत्मनिर्भर बन्ने बाटो देखाउनका लागि संस्थाले हाल जीविका भन्ने परियोजनासमेत सुरु गरेको छ। तर कोभिड महामारीका कारण यस परियोजनालाई निजी क्षेत्रको नेटवर्कमा जोडेर भनेजति रफ्तारमा काम गर्न नसकेको विजयाले सुनाइन्। 

००००

लामो समयदेखि 'माइग्रेसन साइकल'मा काम गरिरहेकी विजयाका अनुसार सरकारले जबसम्म महिलाहरुलाई सीप र क्षमता अनुसार यहीँ रोजगारीको सिर्जना गर्न सक्दैन असुरक्षित रोजगारीमा जाने क्रम रोकिँदैन। यहाँको रोजगारीमा भर पर्न नसकेर विदेश जाने महिलाहरुलाई भने स्थानीय स्तरमै विदेश जाने वा नजाने छनोट गर्न सक्ने अधिकारसहित सीप र भाषा तथा आत्मविश्वासले योग्य बनाउन बिभिन्न तालिमहरु संचालन गर्नुपर्ने उनको सुझाव छ। 

उनी भन्छिन्-'सकेसम्म दिदीबहिनीहरुलाई त्यस्तो देशमा जानका लागि मोटिभेट नगरौं जुन देशमा आधारभूत मानवअधिकार समेत उपभोग गर्न पाइन्न। तर जहाँ राम्रो अवसर छ त्यहाँ भने श्रम गर्न जाने महिलाहरुले मौका पाउनुपर्यो। त्यसका लागि सरकारले नै त्यहाँको सरकारसँग एमओयु गरेर प्रक्रिया अघि बढाउनुपर्यो। नेपाली महिलाहरुलाई संसारभर असल मेहनती र मिलनसार स्वभावको मानिन्छ। कामै गर्न जान चाहनेहरुलाई शिक्षा सीप र भाषाको ज्ञान भयो, अनि सरकारको संरक्षण भयो भने धेरै कमाएर देशमा ल्याउँछु भन्ने महिला विदेश जाँदा खुशी नै मानिन्छ नि!'

हाल वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी २५ देखि ४५ वर्ष उमेरसमूहका महिलाहरु रहेको आमकासको अध्ययनले देखाउँछ। १५ देखि २० वर्ष उमेर समूहका महिलाहरु कमै मात्र वैदेशिक रोजगारीमा जाने गरेका छन्। यस्तै १९ देखि ३० वर्षका महिलाहरु धेरै  संख्यामा छन् भने २५ देखि ४५ वर्षका महिलाहरुको वैदेशिक रोजगारीतर्फको यात्रा सबैभन्दा बढी देखिन्छ। यी महिलाहरुलाई सुरक्षित रूपमा काम गर्ने अवस्था सिर्जना गर्नका लागि सरकारले राम्रो देशहरु एक्सप्लोर गर्नुपर्ने उनले आवश्यकता देखेकी छन्। हाल फिलिपिन्स र श्रीलंकालगायतका देशले आफ्ना आप्रवासी कामदारहरुलाई गरिरहेको संरक्षणको नीति नेपालले पनि लिन सुरु गर्नुपर्ने उनले सुझाव दिइन्। 

कमाएर विदेशबाट आउँदा केही बाँकी नरहने अवस्था पनि अर्को पीडादायी कुरा हो। यसका लागि परिवारले पनि पुरुष होस् वा महिला वैदेशिक रोजगारीमा गएर उनीहरुले दुःखले कमाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च नगरुन् भन्ने तर्फ सोच्नैपर्ने अवस्था सिर्जना भएको छ। यसका लागि उनीहरुको पैसा खातामा जम्मा हुने र त्यसको सदुपयोग गर्ने प्रक्रियामा वडा वा स्थानीयस्तरमा निगरानी वा भूमिका रहेमा त्यो पैसा जोगिन मद्दत पुग्ने विजयाको बुझाइ छ। यसका लागि 'विकेन्द्रीकरण' महत्वपूर्ण देख्छिन् विजया।  विदेश जान चाहनेलाई आफ्नै वडा गाउँ जिल्लामा नै पूर्व तयारीका सबै प्रक्रियाहरुमा सहभागी गराएर उनीहरुको छनोटको अधिकार सुनिश्चित गर्न सके उनीहरु आफ्नै गाउँठाउँमा मानसिक रुपमा तयार हुन सक्छन्। यहीँ बस्ने वा विदेश जाने भन्ने बारेमा उनीहरु ढुक्क भएर निर्णय गर्न सक्ने वातावरण स्थानीय स्तरमै बन्न सके 'दलाल'को चंगुलमा उनीहरुले फस्न नपर्ने र स्वविवेकमा निर्णय गर्न सक्ने अवस्था आउनेछ। विदेश जाने निर्णय गरिसकेपछि जान आवश्यक पर्ने सीप र भाषाको ज्ञान लिन पनि स्थानीय स्तरमै तालिमहरु संचालन गर्न सके शहरमा आएर हुने ठूलो खर्चको बोझ पनि कम हुने उनी बताउँछिन्। 

हालै आमकासले समुदायमा सुरक्षित वैदेशिक रोजगार तथा मानव वेचबिखनबारे बुझाउनका लागि 'लिडरसिप फर चेन्ज'को च्याम्पियन भन्ने कार्यक्रम सुरु गरेको छ। यसका लागि संस्थाले ६० जनालाई तालिम दिएको थियो, जसले गाउँ गाउँमा सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतना जगाउन थालेका छन्। कोभिडका कारण तीमध्ये दुई जनाको भने निधन भएको छ भने बाँकी ५८ जनाले आआफ्नो जिल्लामा काम गरिरहेको विजयाले जानकारी दिइन्। हाल बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, रामेछाप र काठमाडौंमा यो कार्यक्रम संचालन भइरहेको छ। बिस्तारै यसलाई अन्य जिल्लाहरुमा पनि बिस्तार गर्दै लैजाने योजना रहेको विजयाले जानकारी दिइन्। यस्ता कार्यक्रमहरुले सचेतनाका कारण महिलाहरुलाई वैदेशिक रोजगारीमा जाँदा हुने गरेको असुरक्षा र उनीहरुले भोगिरहको समस्या न्यूनीकरण गर्न सकिने उनको विश्वास छ।

विजया भन्छिन् -'म चाहन्छु श्रम गर्न विदेश जाने नयाँ पुस्ताहरुले अब कहिल्यै दुःख नपाउन्। यस्तो दिन आओस् कि हामीले यस्ता सेल्टरहरु सधैंका लागि बन्द गर्न पाइयोस्।'

००००


Share this Story

   

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell