अमेरिकाले ३३ देशका लागि यात्रा प्रतिबन्ध हटायो, पूर्ण खोप लगाएकालाई मात्र प्रवेश अनुमति

बिजमाण्डू
२०७८ असोज ३१ गते ०९:०१ | Oct 17, 2021

अमेरिकाले आगामी नोभेम्बरदेखि पूर्ण खोप लगाएका ३३ देशका नागरिकलाई देशभित्र प्रवेश दिने भएको छ।

Tata
GBIME
Nepal Life

ह्वाइट हाउसले घोषणा गरेको नयाँ नियम अनुसार पूर्ण खोप पाएका र ७२ घण्टाभित्र कोभिड १९ परीक्षणको नतिजा नेगेटिभ आएकाहरुले अमेरिका प्रवेश पाउने छन्।

गत वर्षदेखि यात्रुहरुमाथि कडा प्रतिबन्ध लगाएको अमेरिकाले हालै खुकुलो नियम ल्याएको हो। यो नियम आगामी नोभेम्बरको ८ तारिखदेखि लागू हुने बताइएको छ।

नयाँ नियम २६ यूरोपेली देशहरुको समूह अन्तर्गतका स्याङ्गेन देशहरु तथा बेलायत, ब्राजिल, चीन, भारत, इरान, आयरल्याण्ड तथा दक्षिण अफ्रिकालाई लागू हुने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन्। नयाँ नियम अनुसार अमेरिका प्रवेश गरिसकेपछि यसअघि बस्नुपर्ने क्वारेन्टिनको व्यवस्था समेत हटाइएको छ।

अमेरिकाको यो निर्णयले विश्वमा खोपले दिलाएको सफलतालाई प्रतिबिम्बित गरेको प्रतिक्रियाहरु आइरहेका छन्।

यसअघि अमेरिकाले क्यानडा र मेक्सिकोको सीमा नाका पूर्ण खोप पाएकाहरुकालागि जमीनबाट गरिने यात्राका लागि सीमा नाका खोल्ने घोषणा गरिसकेको थियो। तर खोप नलगाएकाहरुले भने जमीनबाट गरिने यात्रामा सीमा नाकामा लगाइएको प्रतिबन्ध यथावत नै राखेको छ।