रिट्ठेपानी कटानपछि मात्र पोखराको नयाँ विमानस्थल सञ्चालनमा आउने, ‘डाँडा काट्न ६ महिना लाग्छ’

बिजमाण्डू
२०७८ असोज २८ गते ११:५६ | Oct 14, 2021
रिट्ठेपानी कटानपछि मात्र पोखराको नयाँ विमानस्थल सञ्चालनमा आउने, ‘डाँडा काट्न ६ महिना लाग्छ’

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति ८४ प्रतिशत पुगेको छ। द्रुत गतिमा काम अगाडि बढाइए पनि यो विमानस्थल सञ्चालनमा ल्याउने मिति टुंगो लागिसकेको छैन।

Tata
GBIME
Nepal Life

अर्घौं चोकबाट दक्षिण भागमा रहेको रिट्ठेपानी डाँडा छ। जहाजले उडान-अवतरण गर्दा असहज हुने भन्दै प्राविधिकले डाँडा काट्नुपर्ने बताएका छन्। कटानका लागि दुई वर्ष अगाडिदेखि नै प्रक्रिया सुरु गरे पनि काम सुरु नै भएको छैन। यसर्थ विमानस्थल सञ्चालनमा आउने मिति प्राविधिकले पनि भन्न नसकेका हुन्।

आउँदो चैत मसान्तसम्म विमानस्थल निर्माण सम्पन्न भए पनि यो डाँडा कटान नभएको अवस्थामा अन्तर्राष्ट्रिय उडान गर्नै नमिल्ने आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन्। आगामी असारसम्मका लागि चिनियाँ निर्माण कम्पनी सीएमसीले ठेक्काअनुसार विमानस्थल बनाइसक्नु पर्छ। 'रिट्ठेपानी डाँडा कटान नभइ विमानस्थल सञ्चालनमा आउन सम्भव देखिएको छैन,' आयोजना प्रमुख विनेश मुनकर्मीले भने।

नयाँ विमानस्थल उडानका लागि योग्य भएको जाँच गर्न चैतसम्म क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य रहेको उनले बताए। 'डाँडा कटान नभइ फ्लाइट क्यालिब्रेसन गर्न पनि गाह्रो छ,' उनले भने।

डाँडा कटानका लागि वन नियमावली अन्तर्गत यतिखेर आयोजनाले पुरानो इआइएको अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए। इआइए स्वीकृतिका लागि मात्र तीन महिना लाग्ने अनुमान छ। 'फास्ट ट्रयाकबाट जानका लागि हामीले प्रधानमन्त्री कार्यालयमा पत्राचार गरिसकेका छौं। क्याबिनेटले निर्णय गरेको खण्डमा इआइए हुँदै गर्छ। हामी काम गर्दै जान्छौं। डाँडा नकाटेसम्म फ्लाइट क्यालिब्रेसन गर्न मिल्दैन,' उनले भने।

दुई हेक्टर क्षेत्रफलमा रहेको जंगलयुक्त डाँडाको ४० मिटर उचाइ काट्न आवश्यक रहेको उनले जानकारी दिए। डाँडामा साना ठूला गरी ६ सय वटा रुखबिरुवा छन्। जसमध्ये ८० वटा ठूला र ५ सय २० वटा साना रुख छन्।

'अहिले जग्गा सिमांकन रुखको लगत, रुखको टाँका लगाउने काम सम्पन्न भइसकेको छ। यहाँको स्थानीय तहसँग समन्वय गरेर माटो फाल्ने ठाउँ तोक्न बाँकी छ,' उनले भने, 'टेण्डर प्रक्रियासहित राम्रो ठेकेदार परिचालित भयो भने डाँडा कटानको कामका लागि ६ महिना लाग्छ।'

क्यालिब्रेसन फ्लाइटका लागि सुरुमा २०-३० मिटर कटान गर्न सकिने उनले जानकारी दिए। 'आगामी वर्ष सुरुदेखि विमानस्थल संचालनमा ल्याउन सकिने अनुमान गरिरहेका छौं,' उनले भने।

यतिखेर आयोजनाअन्तर्गत सिभिलतर्फका अधिकांश काम सकिएसँगै फिनिसिङ, मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ, फायर फाइटिङतर्फको काम भइरहेको छ। विमानस्थलमा १४ वटा भवन संरचना तयार भइसकेको छ। विमानस्थलको एक्सेस रोड (पहुँच मार्ग), कार पार्किङ, टर्मिनल एरिया रोड, फुटपाथ लगायत तयार भइसकेको छ।

यो सँगै विमानस्थलको धावनमार्गको बत्ति जडानको काम पूरा भएको छ। हाल विमानस्थल निर्माण क्षेत्रमा चिनियाँ र नेपाली गरी चार सय १५ जना कार्यरत छन्। जसमध्ये एक सय ८५ जना चिनियाँ छन्।

विमानस्थलमा प्रयोग हुने केही विद्युतीय उपकरण भने भित्रिन बाँकी नै छ। बोर्डिङ ब्रिज, एसी, फायर भेहिकल, ट्रोली, एक्रे मेसिन लगायतका सामान आउँदो डिसेम्बरमा ल्याउने तयारी छ।

'डिसेम्बर भित्र सामान आइपुग्यो भने हामी दुई महिना भित्रै सबै इन्स्टलेसन गर्छौँ। फिनिसिङमा केही समय लाग्छ। बाँकी आठ प्रतिशत सिभिलको काम उपकरण जडानकै छ। आउँदो असारसम्मको टाइम छ तर चैतभित्रै पूरा गर्ने लक्ष्य छ,' प्रमुख मुनकर्मीले भने।

विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल संचालन तथा स्थान्तरण कार्यदल परिचालन गरिसकेको छ। कार्यदलले विमानस्थल संचालनको पूर्व तयारी, सुरक्षा, सेटअपका लागि काम गर्न सुरु गरेको छ। कार्यदलले वैशाख १ गतेदेखि नै यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सिफारिस गरे पनि मुस्किल रहेको बताउँदै उनले भने,'सीएमसीलाई हामीले असार मसान्तसम्मको डेडलाइन दिएका छौं। निर्माण व्यवसायीले वैशाख अगाडि नै शतप्रतिशत काम सकाउन नसक्ने देखिएको छ।'

विमानस्थलमा ड्रेनेजको व्यवस्थापनको काममा वर्षाका कारण ढिलाइ भएको छ। 'अनावश्यक पानी सबै यहीँ जम्मा हुँदै आएको छ। सरकारी जग्गामा घर बनाइदिएका कारण निकास सबै बन्द छ। यसमा शतप्रतिशत व्यवस्थापन हुन गाह्रै देखिएको छ। समग्रमा ९० प्रतिशत व्यवस्थापन हुनेछ,' उनले भने।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ठेक्का लिएको विमानस्थल निर्माण सन् २०१७ नोभेम्बरदेखि सुरू भएको हो।