पर्यटन तीव्र रिभाइभ गर्ने देश बन्न सक्छ नेपाल; सूत्रः 'भी-टु-भी' मोडेल र 'बबल करिडोर मार्केटिङ'




करिब २० महिनादेखि हामी महामारीकै अवधिमा हिडिरहेका छौं। पर्यटन आफैंमा मुभमेन्ट (हिँडडुल) मा आधारित व्यवसाय हो। एकजना वा केही मान्छेको समूह एक ठाउँबाट अर्को ठाउँमा हिँड्दा उनीहरुले जेजति सेवा उपभोग गर्छन् वा गतिविधिमा सहभागी हुन्छन्, वा जेका लागि खर्च गर्छन्, त्यसैबाट माथि उक्लिने क्षेत्र हो पर्यटन।



अहिले यो महामारीले संसारभरि नै र आन्तरिकरूपमा पनि सहर-सहर वा स्थान-स्थान बीचमा पनि बन्दाबन्दीको अवस्थामा बस्नुपर्‍यो। त्यसले पर्यटनको मूल प्रवृत्तिमा नै असर पुर्‍याएकाले अरु क्षेत्रहरु खुलेर अलि अलि रिभाइभ गर्दा पनि पर्यटन क्षेत्र भने सबैभन्दा बढी मारमा परेको क्षेत्र बनेको छ। 

खासगरी हामी विगत २० वर्षदेखि कुनै न कुनै संकटको सामना गर्दै त्यसलाई पार लगाउँदै हिडिरहेका थियौं। तर सन् २०१५ को भूकम्प र लगत्तैको नाकाबन्दीले नेपालको पर्यटन साह्रै नराम्ररी थलिएको थियो। त्यसपछि भने जिम्मेवार सरोकारवालाहरुले एउटा निर्दिष्ट प्रयास गर्दा सन् २०१६ देखि २०१९ सम्मका चार वर्ष औसत २० प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भयो। यसले नेपालको पर्यटन क्षेत्रलाई अत्यन्त उत्साहित बनाएको थियो। 

यस्तै, हामीकहाँ लामो समयदेखि रहेको पर्यटन पूर्वाधारको सीमिततामा पनि पोखरा र भैरहवामा दुई नयाँ विमानस्थलहरुको निर्माण र त्यसले पर्यटक आगमनमा ल्याउन सक्ने वृद्धिको आकलनमा अघि बढेका थुप्रै होटलहरुले पनि आशावादी बनाएको थियो। त्यही आशामा लामो समयदेखि पर्यटन व्यवसायमा रहेका र अन्य क्षेत्रका व्यवसायीहरुले पनि पर्यटनका विविध व्यवसायमा थुप्रै लगानी गरेका छन्। तर २० महिनासम्म पर्यटकहरु नआउँदा यस क्षेत्रका व्यवसायमा ठूलो रकम हालेका लगानीकर्ता, यसमा आबद्ध श्रमिकहरु लगायतलाई मार परेको अवस्था छ।

यसका बाबजुद हामीले पर्यटन क्षेत्रलाई योभन्दा थोरै राम्रो अवस्थामा राख्न अलि अगाडि केही गर्न सक्ने ठाउँ थियो। तर पर्यटन क्षेत्रलाई नियन्त्रित अवस्थामा राख्दा त्यसको लाभ हामीले लिन सकेनौं। यद्यपि, अझै पनि हामीले यो क्षेत्रलाई अहिलेको भन्दा राम्रो बनाउने र सकेसम्म चाडै पहिलेको अवस्थामा फर्काउनका लागि गर्न सक्ने ठाउँहरु धेरै छन्।

नेपालको पर्यटन क्षेत्र आफैंमा ज्ञान तथा अनुभव नभएको कान्छो गन्तव्य हुँदै होइन। 'टुरिस्ट ह्यान्डलिङ'मा  करिब ७० वर्षको अनुभव हामीसँग छ। यसकारण कोभिडका बीचमा पनि वास्तवमा यसलाई हामी राम्रोसँग सम्हाल्न सक्थ्यौं, र अझै पनि सक्नुपर्छ।

सन् २०१९ मा एक अर्ब ४० करोड मान्छे (इन्टरनेशनल भिजिटर) हरु घुम्नका लागि आफ्नो देशभन्दा बाहिर निस्किएका थिए। आजको दिनमा त्यो संख्या निकै कम छ। युएन-डब्लुटीओको आँकडाअनुसार २०२० मा अघिल्लो वर्षको संख्याबाट ८० प्रतिशत मानिस घुम्न निस्किएनन्। यसको अर्थ २० प्रतिशत अर्थात् २८ करोड हाराहारीले भने संसार घुमे। यो वर्ष ४०-५० करोड मान्छे घुम्न निस्किरहेको अनुमान छ। तर पनि अझैसम्म पर्यटकहरुका लागि घुम्न जाने ठाउँहरु सीमित छन्, सीमित गन्तव्यहरु मात्र खुला भएकाले।

तैपनि खुलेकामध्ये केही गन्तव्यले कोभिडअघिकै जति पर्यटक भित्र्याउन थालिसकेका छन्। उदाहरणका लागि माल्दिभ्स। युरोपेली देशहरुले पनि डिजिटल कोभिड सर्टिफिकेट (डीसीसी) निर्धारण गरेर तीन किसिमका मानिसलाई जहाँसुकै भ्रमण गर्नका लागि योग्य मानेको छ- खोप लाइसकेका, भर्खरै कोभिड लागेर निको भएका र पीसीआर नेगेटिभ रिपोर्ट लिएर हिँड्ने। अमेरिका, दुबई, इजरायल, टर्की, मेक्सिको, माल्दिभ्स लगायतका देशले पनि त्यसरी भ्रमणका लागि खुला गरेका छन्। 

भ्रमण खुला गरिएका गन्तव्यहरुमध्ये जहाँ जहाँ सुरक्षित छ भन्ने विश्वसनीयता दिएको छ, जहाँ जाँदा पीसीआर, क्वारेन्टिन इत्यादिका झन्झटहरु छैनन्, ती गन्‍तव्यमा पर्यटकहरुको घुँइचो लाग्न थालेको छ।

यही क्रममा करिब दुई साताअघि हामीकहाँ पनि खोप लगाइसकेका पर्यटकका लागि नेपाल आउँदा अनिवार्य क्वारेन्टिनलाई हटाउँदै अनअराइभल भिन दिन पनि खुला भएको भनिसकिएको छ। यसले पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवालाहरु र स्रोत बजारबाट नेपालमा पर्यटक पठाउने एजेन्सीहरु लगायत  सबैलाई उत्साहित बनाएको छ। सरकारको यो निर्णयपछि पर्यटकहरुबाट इन्क्वायरीहरु अत्यन्त राम्रो आइरहेको पर्यटन व्यवसायीहरुले औपचारिक-अनौपचारिक रूपमा बताउन थाल्नुभएको छ। 

अन्तर्राष्ट्रिय पर्यटकहरुसम्‍म यसको सूचना हामीले अझ बढी पुर्‍याउनुपर्ने छ। तर अझै पनि हामीकहाँ थुप्रै अन्योलहरु देखिइरहेका छन्। 

के चाहन्छन् अहिलेका पर्यटक? 
कोभिडयता घुम्न चाहिरहेका अन्तर्राष्ट्रिय पर्यटकहरुले मुख्यगरी चार वटा कुरा हेर्छन्। 

पहिलो - म घुम्न जाने गन्तव्य कतिको सुरक्षित छ भन्ने उसले हेर्छ। त्यसका लागि  हामीले यहाँ स्वास्थ्य सुरक्षा मापदण्डहरु राम्रोसँग लागू भएको छ कि छैन, छैन भने त्यसलाई अनुगमन गर्न सकिएको छ कि छैन भन्ने हेर्नुपर्छ। यो पर्यटकले चासो राख्ने 'स्वास्थ्य सुरक्षा'को विषय भयो। 

दोस्रो- एक त कोभिडयता आम्दानी खुम्चिएकाले त्यसै पनि मान्छेसँग पैसा छैन अहिले। त्यसमा पनि होटल, वायुसेवा, ट्राभल इत्यादिमा विभिन्न हेल्थ प्रोटोकलहरु पालना गर्नपर्ने भएकाले तिनको संचालन खर्च पनि बढेकाले पर्यटकले आफू जाने गन्तव्य महँगो त छैन भनेर पनि हेर्छ। यो पर्यटकको 'भ्रमण लागत र बजेट' सँग जोडिएको कुरा हो। 

तेस्रो- अबका पर्यटकले हेर्ने कुरा भनेको 'झन्झट' को पक्ष पनि हो। क्वारेन्टिन बस्नुपर्ने, कडा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, ठाउँ ठाउँमा कोभिड खोपकरण तथा पीसीआर परीक्षण लगायत प्रमाणीकरण कागजातको बारम्बार चेकजाँच लगायतका झन्झट हुने व्यवस्था छ कि छैन भन्ने पनि पर्यटकले अहिले विचार गरिरहेको छ।

चौथो- म जाने गन्तव्यले के 'भ्यालु' दिन्छ भन्ने पनि उसले हेर्छ। संभारभरि सर्वेक्षण हुँदा धेरैजसो मान्छेले प्रकृतिमा आधारित तथा होहल्ला कम भएका गन्तव्यहरु र आइसोलेसनमा हुने गतिविधिहरु खोजिरहेका छन्। यो भ्यालुसँग सम्बन्धित स्टोरीहरु हामीले सिर्जना गर्न सक्नुपर्छ। 

अहिले यिनै चारवटा पक्षहरुलाई हेरेर हामीले पर्यटन रणनीति बनाउनुपर्छ। 

अब गर्ने के
पर्यटकको स्वास्थ्य सुरक्षा चासो सम्बोधन गर्न हामीले हेल्थ प्रोटोकलहरु कडाइका साथ पालना गर्न सक्यौं भने अन्तर्राष्ट्रिय पर्यटन जमातमा त्यसले एउटा विश्वसनीय आधार बनाउनेछ। यसको एउटा पहल अनुगमन संयन्त्र गठन र परिचालन नै हो, जुन अझै पनि गर्न आवश्यक छ। र, यो गाह्रो र यसका लागि अतिरिक्त ठूलो खर्च लाग्ने पनि होइन। काठमाडौं, पोखरा लगायतका मुख्य पर्यटकीय सहरहरुमा रहेका पर्यटन व्यवसायहरुमा हेल्थ प्रोटोकलको राम्रोसँग पालना भइरहेको छ/छैन भन्ने अनुगमनका लागि  पर्यटक प्रहरीलाई नै पनि परिचालन गर्न सकिन्छ।

अर्को, 'भी-टु-भी' मोडलको चर्चा  मैले बारम्बार ठाउँठाउँमा गर्दै आएको छु। जुन विस्तारै अभ्यासमा पनि आउन थालिसकेको छ। तर यसलाई अब हामीले घोषणा नै गरेर लागू गर्ने हो भने त्यसले पनि नेपालको पहिचान र छवि सुदृढ हुने, र हाम्रो पर्यटन क्षेत्रलाई पनि राम्रो गर्नेछ। 

'भी-टु-भी' मोडल भन्नाले 'भ्याक्सिनेटेड गेष्ट'लाई 'भ्याक्सिनेटेड होस्ट' ले सेवा दिएर गन्तव्यहरु खुला गर्ने। सरकारले आजका दिनमा खोपको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिन बस्नु नपर्ने र अनअराइभल भिसाको सुविधा खुला गरिसकेको छ। 

हामीले केही समयअघि नेपालका १०-१२ वटा प्रमुख पर्यटकीय गन्तव्यहरुमा पुगेर सर्वेक्षण नै पनि गरेका थियौं। त्यसबाट अहिले नेपालका सबै प्रमुख पर्यटकीय गन्तव्यहरुमा रहेका पर्यटन व्यवसाय, त्यसमा आबद्ध श्रमिक (टुरिज्म फ्रन्टलाइनरहरु) देखि कतिपय ठाउँमा त अझ स्थानीय समुदाय नै पनि लगभग पूर्णरूपमा भ्याक्सिनेटेड भइसकेको पाइएको छ।

यसकारण हामीले अब औपचारिक रूपमै 'भी-टु-भी मोडेल' लाई नामकरण नै गरेर त्यसलाई कार्यान्वयनमा ल्याएको प्रचार प्रसार किन नगर्ने? यसो गर्‍यो भने यो नेपालको मोडेल भनेर पनि हामीलाई अन्तर्राष्ट्रिय समुदायमा छुट्टै पहिचान मिल्छ भने अरु पर्यटकीय मुलुकहरुका लागि पनि यो पर्यटन गतिविधि चलायमान बनाउने एउटा सुरक्षित उदाहरणीय मोडेल बन्न सक्छ।

यसपछि पर्यटकहरुमा थप विश्वसनीयता प्रदान गर्न गन्तव्यहरुभित्रै 'सेफ ट्राभल करिडोर' पहिचान गर्न सक्नुपर्छ। जसमा पूर्णरूपमा भ्याक्सिनेटेड भएको वायुसेवामा विदेशबाट पर्टयक आउँछ, पूर्णरूपमा भ्याक्सिनेटेड भएको 'ग्रीन जोन' विमानस्थल प्रयोग गर्छ, त्यहाँबाट खोप लगाइसकेको चालक र गाइडसँग बसेर गाडीमा होटलसम्म पुग्छ। ऊ आएको होटल पनि सुरक्षित हुनेछ - हेल्थ प्रोटोकलको पूर्ण पालनासहित त्यहाँका कामदारहरु पनि शतप्रतिशत भ्याक्सिनेटेड हुने भएकाले। त्यसपछि संग्राहलय तथा पुरातत्वका अन्य साइटहरु पनि पूर्णरूपमा भ्याक्सिनेटेड भइसकेका हुनेछन्। खोपकरण भइसकेका अन्य गन्तव्य तथा त्यहाँका 'टुरिज्म कम्पोनेन्ट' हरुलाई पनि यसमा समेट्न सकिन्छ।

यसरी शतप्रतिशत खोपकरण भइसकेका 'ग्रीन जोन' हरुलाई समेटेर गुगल म्यापमा 'सेफ ट्राभल करिडोर' भनेर हामी देखाउन सक्छौं। यसले नेपालमा घुम्ने ठाउँहरु सबै पूर्ण रुपमा भ्याक्सिनेटेड भइसके भन्ने सन्देश जानेछ र पर्यटकहरुलाई एक किसिमको सुरक्षा आभाससहित नेपाल भ्रमणका लागि प्रोत्साहित गर्नेछ। 

पर्यटकहरुलाई अहिले स्वास्थ्य सुरक्षाप्रतिकै चासो सबैभन्दा धेरै भएकाले हामीले यी माथिका कदमहरुसँगै खासगरी पर्यटन क्षेत्रका फ्रन्टलाइनरहरुलाई निरन्तर तालिमहरु दिने व्यापक अभियान पनि संचालन गर्नुपर्ने देखिन्छ। यसले भने सकारात्मक सन्देश अप्रत्यक्ष रूपमा हाम्रो पर्यटन क्षेत्र र अर्थतन्त्रमा दीर्घकालीन भ्यालु सिर्जना गर्नेछ। 

पर्यटक कहाँबाट ल्याएर चलायमान बनाउने
आन्तरिक पर्यटनका लागि हामीले दुईवटा काम गरे हुन्छ। एउटा - स्थानीय पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुले वातावरण सिर्जना गर्ने। जस्तै, अहिले चाडपर्वको बेला केही दिन बिदा हुने भएकाले कतिपयले यतिबेला घुमफिर गर्ने योजना बनाएका हुन्छन्। यतिखेर व्यवसायीहरुले विभिन्न प्याकेजहरु ल्याएर स्थानीय पर्यटकलाई आकर्षित गरेर आन्‍तरिक पर्यटनलाई एक तहमा उद्देलित बनाउन सक्छन्। 

हुन त केही व्यवसायीले अहिले पनि यस्ता प्याकेज ल्याउन थालेका छन्। तर यसलाई अभियानकै रुपमा एग्रीगेट गर्न राज्यका नियायहरुका साथै अरु व्यवसायिक संघस‌ंस्थाहरु - हान, टान, नाटा, पाटा लगायतले पनि सक्रिय पहल गर्नुपर्छ। 

यस्तै, गत जेठ १५ मै आएको बजेट अध्यायदेशबाटै सरकार र संगठित संस्थाका कर्मचारीहरुलाई घुमफिरका लागि 'पेड होलिडे' को घोषणा भएको थियो। तर सरकारले अबिलम्ब लागु गर्न सक्ने यो कार्यक्रम अहिलेसम्म यो कार्यान्वयनमा आउन सकेको छैन। आजका दिनमा सरकारी संस्थाहरुमा मात्र यो योजना कार्यान्वयन गर्ने हो भने निजामती, नेपाली सेना, प्रहरी, सरकारी शिक्षकहरु, सार्वजनिक संस्थानका कर्मचारी इत्यादि गर्दा करिब चार लाख जना (कर्मचारी) 'पेड होलिडे' का लागि योग्य हुनेछन्। 

अहिलेको अवस्था औसतमा यी चार लाख मान्छेले १० हजार रुपैयाँ मात्र घुम्नमा खर्च गरिदिए भने ४ अर्ब रुपैयाँ पर्यटन अर्थतन्त्रमा परिचालित हुनसक्ने देखिन्छ। यसकारण यसलाई यथाशीघ्र (सकिन्छ भने ५-७ दिनभित्रै) कार्यान्वयनमा ल्याइनु पर्छ। फेरि यो नयाँ कुरा पनि होइन। भूकम्पपछि हामीले २०७३ लाई आन्तरिक घुमफिर वर्ष घोषणा गरेका थियौं। त्यतिबेला पनि नमुनाका हिसाबले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय लगायतमा पेड होलिडे कार्यान्वयन भइसकेको हो। यसको कार्यविधि पनि त्यतिबेला बनिसकेकै छ। आवश्यक देखिए त्यसमा समयसापेक्ष परिमार्जन गरेर कार्यान्वयनमा ल्याउन सकिन्छ। 

यी दुईवटा मात्र काम गरे पनि आन्तरिक पर्यटन उद्देलित हुन सक्छ।

अन्तर्राष्ट्रिय पर्यटक ल्याउनका लागि एउटा त 'बबल करिडोर मार्केटिङ' रणनीति एकदमै छिटो तयार पार्न जरुरी छ। कोभिडपछि पर्यटन गतिविधि कुनै न कुनै दिन त खुल्छ नै भन्ने थाहै थियो। यसैले अलिक अघि लकडाउनकै बेला यो रणनीति बनाइसकेको भए अझ राम्रो हुन्थ्यो। किनकि अहिले त्यसलाई थप परिमार्जन गर्न सक्थ्यौं। यद्यपि, अझै पनि ढिलो भइसकेको छैन। निजी क्षेत्रका केही विज्ञ व्यक्ति, संस्थाहरु, पर्यटन बोर्ड तथा मन्त्रालय जस्ता तालुक निकाय इत्यादिले सहकार्य गरेर 'बबल करिडोर मार्केटिङ' रणनीति एकदमै छिटो बनाएर कार्यान्वयन गर्न जरुरी छ।

अहिले हामीले पर्यटकका लागि खुला गर्‍यौं भन्दैमा सबै देशबाट घुम्न यहाँ आउने अवस्था छैन। हामीले त्यस्ता देश र सेगमेन्ट हेर्नुपर्‍यो जहाँबाट नेपाल आएर फेरि आफ्नो देश फर्किँदा क्वारेन्टिन बस्नुपर्ने हुँदैन। अर्थात् ती स्रोत देशका सरकारले त्यो लचकता अपनाएका छन्। सरसर्ती हेर्दा त्यस्ता देशका केही उदाहरण भारत, बंगलादेश, दुबई, इजरायल, जर्मनी, अमेरिका लगायतका देशले नेपाल भ्रमणलाई खुला गरिसकेका छन्। यीमध्ये भारत र बंगलादेश हाम्रा प्रमुख पर्यटक बजार पनि हुन्। तर यस्ता यस्ता सबै देश र सेगमेन्टलाई हामीले पहिचान गरेर आक्रामक प्रवर्द्धन सुरु गरिहाल्नु पर्छ। यसमा अलिक ढिलो भइसकेका छौं हामी। 

यसको एउटा उदाहरण - अनअराइभल भिसा र क्वारेन्टिनको नियम हटाएको करिब दुई हप्ता बितिसकेको भएपनि यसको सूचना स्रोत बजारहरुसम्म संचार भइसकेको छैन, जबकि यो लागु भएको दुई-तीन दिनभित्रै वेबिनार वा अन्य माध्यमबाट संचार गरेर पर्यटकहरुलाई आमन्त्रित गर्ने काम भइसकेको हुनुपर्थ्यो। 

तर यसो नहुँदा पर्यटकहरुलाई अन्‍योल छ कि नेपालले कस्ता पर्यटकका लागि यो खुला गरेको हो। त्यसैले हालसालै विभिन्न देशबाट आएका थुप्रै पर्यटकहरुलाई एयरपोर्टबाटै अध्यागमनले फर्काइदिइरहेको छ। यसलाई कसैले पनि गम्भीरताका साथ लिइरहेको छैन। जबकि यसले पर्यटकीय गन्तव्यका रुपमा नेपालप्रति साह्रै नकारात्मक सन्देश गइरहेको छ। यसलाई पनि 'बबल करिडोर मार्केटिङ' रणनीतिकै हिस्साअन्तर्गत राखेर छिटो सम्बोधन गर्नुपर्छ।

यस्तै, हाम्रो ठूलो स्रोत बजार भारतमै पनि अधिकांशले नेपाललाई हनिमुन, धार्मिक पर्यटन, क्यासिनो खेल्न र केही बिजनेस ट्रिप बाहेकको दृष्टिकोणले हेरेका छैनन्। जबकि नेपाल वाइल्ड लाइफ र एडभेन्चर टुरिज्मका लागि आफैंमा पायोनियर तथा विश्वमै उत्कृष्ट गन्तव्यमध्ये हो। भारतीयहरु यसका लागि न्युजिल्याण्ड र अफ्रिकी मुलुकहरुसम्म पुग्छन् तर नेपालको यो विशेषताबारे उनीहरुलाई धेरै थाहा छैन। तर अझै आउने ५-७ महिना उनीहरु ती गन्तव्य पुग्न सम्भव छैन। यसैले हामीले यो सेगमेन्टलाई प्रचारप्रसार गर्ने यो एकदमै सही समय हो। यसले पुराना सेगमेन्टका पर्यटक त फर्किन्छन् नै, नयाँ सेगमेन्टलाई पनि हामी एसियादेखि युरोपसम्मका सम्भाव्य स्रोत बजारसम्म जोडेर लाभ लिन सक्नेछौं। 

अन्त्यमा, हरेक संकटको सामनाका लागि आर्थिक पुनरुत्थानमा एकदमै हेला गरिने तर सबैभन्दा महत्त्वपूर्ण कुरा 'समन्वय' र 'संचार' हुन्छ, जसमा हाम्रो साह्रै कमजोरी भएको छ। यी दुईवटा कुरालाई हामीले राम्ररी ह्याण्डल गर्न जान्यौं र सक्यौं भने सन् २०२२ मै २०१९ को (१२ लाख) भन्दा बढी पर्यटक हामी ल्याउन सक्छौं। र, पर्यटन क्षेत्र एकदमै चाँडो रिभाइल हुने सीमित देशहरुमध्ये निःसन्देह हाम्रो देश पनि पर्ने निश्चित छ।  

अर्गनाइज्ड टुरिज्मको इतिहास तीन दशक पनि नपुगेको माल्दिभ्सले त यही वर्ष नै २०१९ को जति पर्यटक भित्र्याइसकेको छ भने पर्यटक ह्यान्डलिङमा सात दशकको अनुभव भएको नेपालले चाँडै रिकभर गर्न नसक्ने कुरै छैन।

(जोशी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्।)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell