अब नयाँ होटललाई टिक्न ६०% अकुपेन्सी चाहिन्छ, शशीकान्त अग्रवालको विचार

बिजमाण्डू
२०७८ असोज १९ गते ०९:०० | Oct 5, 2021
अब नयाँ होटललाई टिक्न ६०% अकुपेन्सी चाहिन्छ, शशीकान्त अग्रवालको विचार

कोभिडको मारमा महिनौं निसासिएको पर्यटन क्षेत्रमा अहिले विश्वव्यापी रूपमै विस्तारै चहलपहल सुरु भएको छ। नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। 

Tata
GBIME
Nepal Life

नेपालमा पछिल्लो समय पर्यटकीय चहलपहल बढ्नुको एउटा कारण दिल्ली (भारत) सँगको हवाई सम्पर्क बढेर पनि हो। दिल्ली-काठमाडौं दैनिक दुईवटा उडान भएपछि हाम्रा होटलहरुमा भारत भएर आउने पर्यटकको संख्यामा पनि सुधार आएको छ। 

यसबाट एक त एयर कनेक्टिभिटी सहज भयो भने हवाई भाडा पनि पहिलेको (एकतर्फी ५० हजार रुपैयाँसम्म) भन्दा सस्तो भएको छ। यद्यपि, भारत-नेपाल दुवै देशका राष्ट्रिय ध्वजावाहक वायुसेवाले लिइरहेको अहिलेको १६-१७ हजार हवाई भाडा पनि एक घन्टा २० मिनेटको उडानका लागि अझै पनि आफैंमा सुलभ भने होइन। भारतमै एकदेखि डेढ घन्टाको आन्तरिक उडानको औसत भाडादर भारु तीन हजार रुपैयाँ हाराहारी मात्र हो। यसका बाबजुद कनेक्टिभिटी र तुलनात्मकरूपमा सस्तो भाडाले दिल्ली भएर नेपाल भित्रिनेहरुलाई प्रोत्साहित गरेर पर्यटकको आगमन बढेको छ।

सरकारले तेस्रो मुलुकका पर्यटकका लागि अन-अराइभल भिसा खुला गर्नु पनि पर्यटन क्षेत्रका लागि अहिलेको अवस्थामा अत्यन्त स्वागतयोग्य कदम हो। यसले पनि पर्यटक आगमन बढाउन भूमिका खेल्नेछ। 

तर कोभिड-१९ ले विश्वव्यापीरूपमै असर गरेकाले नेपाल आउन अन्तर्राष्ट्रिय पर्यटकहरुलाई प्रोत्साहित गर्ने हो भने सरकारले यति मात्र गरेर पुग्दैन। भिसा अन-अराइभल खुलाउने मात्र नभएर कम्तिमा हाम्रो पर्यटन क्षेत्र पुरानै अवस्थामा नफर्किउन्जेल भिसा निःशुल्क (फ्रि-भिसा) नै गर्न आवश्यक छ। 

पर्यटकहरु अहिले नेपाल आउन इच्छुक देखिएका छन्। साहसी पर्यटनका लागि युरोप, अमेरिकाका पर्यटकहरु पनि आउँछन्। तर पनि हाम्रो पर्यटन क्षेत्रको ठूलो बजार मुख्यगरी भारत तथा अरु दक्षिण एसियाली देश नै हुन्। 

अन्तर्राष्ट्रिय उडान खुलापछि अहिले होटल मात्र नभएर क्यासिनोहरु पनि चल्न थालिसकेका छन्। क्यासिनो खेल्नकै लागि थुप्रै भारतीयहरु नेपाल आइरहेका छन्। परिणामस्वरुप क्यासिनो भएका प्रायः सबै पाँचतारे होटलमा अहिले पर्यटकहरु बढेका छन्। यसले पनि क्यासिनो टुरिज्ममा यतिबेला चहलपहल बढेको बुझाउँछ। 

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जानुका साथै खोपकरणको दर पनि बढ्यो। अझ त्यसमा पनि पर्यटन क्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित सबै प्रकारका व्यवसायहरुमा विभिन्न तहमा काम गरिरहेकामध्ये ९९ प्रतिशतले कोभिडविरुद्धको खोपको दोस्रो मात्रासमेत लगाइसकेका छन्। 

यसले अन्तर्राष्ट्रिय समुदाय (पर्यटकहरु समेत) मा नेपालले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोपकरण गरेको भन्ने अत्यन्त राम्रो सन्देश गएको छ। यसले पनि अहिले पर्यटकको आगमन बढाउन हामीलाई सहयोग पुगेको छ भने यो क्रम अलिअलि गर्दै विस्तारै बढ्दै गएको छ। कोभिडयताको २० महिनामा हाम्रै होटल (मेरियटमा) कुनै बेला ३-४ वटा कोठा पनि बिकेको हुँदैनथ्यो भने अहिले दैनिक ४०-५० वटा हाराहारी कोठा गइरहेको छ। औसतमा होटलहरुको अकुपेन्सी २० देखि २५ प्रतिशत पुगिसकेको छ। पार्टी, ब्याङ्केटहरु पनि सुरु भएको छ। त्यसकारण लामो समयपछि होटलमा चहलपहल बढेर गएको छ।

यसका बाबजुद नयाँ होटलहरुलाई अहिलेको अकुपेन्सी दरले व्यवसाय धान्न पुग्दैन। किनभने नयाँ होटललाई ब्याज भुक्तानीको दायित्व ठूलो हुन्छ। होटलमा मुख्य खर्च नै कर्मचारीको तलब-सुविधा र बैंकको ऋण (साँवा-ब्याज) भुक्तानी हो। १०-२० वर्ष पुराना ठूला तारे होटलहरुलाई बैंकको कर्जा (निर्माणका लागि लिएको) भुक्तानीको दबाब छैन। हामी (नयाँ होटल) पनि संचालन आम्दानीबाट स्टाफको खर्च त धान्न सक्छौं तर ब्याजको दायित्व धान्ने उपाय केही छैन यतिबेला।  सरकारले पुनर्कर्जाको सुविधा त दिएको छ तर त्यो यति थोरै रकम छ कि ३० करोड लगानीको होटलले पनि २० करोड (पुनर्कर्जा) पाउँछ भने चार अर्बको होटलले पनि त्यति नै पाउँछ।

नयाँ होटलहरुले आफ्नो दायित्व बहन गर्नसक्ने अवस्थामा पुग्नका लागि कम्तिमा ६० प्रतिशत अकुपेन्सी पुग्नुपर्छ। त्यति अकुपेन्सी भयो भने सम्पूर्ण संचालन खर्च र अन्य वित्तीय दायित्व व्यहोर्न सकिन्छ। तर यसमा पनि कोठा कतिकाे दरले बिक्री हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। 

जस्तै- हामीले म्यारिओट बनाउँदै गर्दा अपेक्षित प्रतिफल दरसहित निश्चित अवधिमा लगानी उठाउन एउटा कोठा औसतमा १२० डलरमा बिक्री गर्नुपर्ने अनुमान थियो। होटल संचालनमा ल्याएकाे दुई महिना असाध्यै राम्रो चलेपछि हामीले १६० डलरसम्म पनि एउटा काेठा बिक्री गर्‍यौं। तर सधैं त्यस्तो हुँदैन। शतप्रतिशत अकुपेन्सी आयो तर एउटा कोठा ५० डलरमा बेच्यो भने त्यसले कुनै अर्थ राख्दैन। यस (म्यारिओट)  स्तरकाे होटलले सय डलरको दरमा ६० प्रतिशत अकुपेन्सी पायो भने ब्याज भुक्तानीसहितका सबै दायित्व तिर्नसक्ने अवस्थामा हुन्छ।  

तर अहिले तारे होटलहरुले पाउने ग्राहक विस्तारै बढ्दै गएको भए पनि पहिलेको भन्दा निकै सस्तोमा कोठा बेचिरहनु परेको अवस्था छ। हामीले नै पनि पहिले दिनको १६० डलरसम्ममा बेचिरहेको कोठा अहिले  ८०-९० डलर (भ्याटबाहेक) मा दिइरहेका छौं। भ्याट सरकारलाई जान्छ। यसमा सरकारले एक-दुई वर्षका लागि सहुलियत दिँदा पर्यटन क्षेत्रलाई त्यसले राम्रो गर्नेछ। आखिर हामीकहाँ केही समयका लागि जसरी पनि पर्यटकको फुट फ्लो बढाउनुपर्ने आवश्यकता छ।

यसकारण हामीलाई आवश्यक भएअनुसारकाे ६० प्रतिशत अकुपेन्सीकाे अवस्थामा कहिले पुगिएला भनेर ठ्याक्कै यकिन गर्न अहिले गाह्रो छ। यद्यपि, सकारात्मक संकेतहरु यतिखेर देखिएका छन्। अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिना नेपाली पर्यटनकाे राम्रो सिजन हो, खासगरी ट्रेकिङ तथा पर्वतारोहणका लागि। गत वर्ष पनि कोभिड महामारीकै अवस्था हुँदाहुँदै यो सिजनमा पर्यटककाे आगमन राम्रो भएको थियो। 

पोहोर अरुबेला दिनमा चारवटा कोठा बेच्ने होटलमा यो सिजनमा ३० वटासम्म गएको थियो। यो संख्या उल्लेख्य नभए पनि तुलनात्मक रूपमा बढी थियो भन्नका लागि पर्याप्त हो, रुनुभन्दा गाउन राम्रो भनेजस्तै।यसपालि त अझ राम्रो हुने मेरो अनुमान छ। किनकि अहिले सिजनअघि नै पोहोरभन्दा निकै राम्रो दरमा पर्यटकहरु आउन थालेका छन्। 

हामीजस्ता होटलहरुले पनि विभिन्न देशमा मार्केटिङ गर्न जाँदा आफ्नो होटलको भन्दा बढी आफ्नो देश तथा गन्तव्यकै प्रचार प्रसार गर्ने हो। तर व्यक्तिगत स्तरमा मात्र गरिएको प्रचारप्रसार अहिलेको अवस्थामा पर्याप्त हुँदैन। सरकार वा राज्यका निकायहरुले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटकलाई प्रोत्साहित गर्ने कदमहरु उठाएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जानु जरुरी छ।

यसकारण भ्रमणका लागि आफ्ना नागरिकलाई खुला गरिसकेका र पर्यटकहरु जहाँ जहाँबाट आउने सम्भावना छ, ती (स्रोत) मुलुकहरुसम्म पर्यटन बोर्ड तथा राज्यका निकायहरुले राम्रो प्रचारप्रसारकाे पहल गरिदिने हो भने हामीले अब कोभिडपछिकाे रिकभरीका सवालमा पर्यटन क्षेत्रका लागि त्यति निराश भइराख्नुपर्ने अवस्था हुँदैन।

यसैले हाम्रो पर्यटन क्षेत्र कोभिडअघिकै अवस्थामा पुग्न त्यति लामो समय लाग्ला भन्ने मलाई लाग्दैन। सरकारले राज्यका तर्फबाट केही सानातिना लाग्ने कामहरु 'प्रोएक्टिभ' रूपमा मात्र गरिदिने हो भने पनि एक-डेढ वर्षभित्रै हामी सन् २०१९ को १२ लाख वा त्योभन्दा पनि अझ बढी संख्यामा पर्यटक आउने अवस्थामा पुग्न सक्छौं भन्ने मेरो विश्वास छ। भलै होटलहरुले पहिलेकै जति रेटमा कोठा वा प्याकेज बिक्री गर्न नसक्लान्, त्यसका लागि अरु एक-दुई वर्ष कुर्नुपर्ला, तर संख्यात्मक रूपमा भने पर्यटकहरु बढ्न लामो समय लाग्दैन।

साना लाग्ने कुरामा सुधार किन नगर्ने
झन्डै दुई वर्षदेखि घुमफिर नहुँदा पर्यटकहरुले गन्तव्य देशहरु बिर्सिसकेका हुन्छन्। यसैले धेरैजसो देशले अहिले पर्यटककाे फूट फ्लो बढाउन विभिन्न प्रोत्साहन (इन्सेन्टिभ) हरु दिइरहेका छन्। हामीले पनि राज्यतहबाटै त्यसो गर्न जरुरी छ। जस्तो- हाम्रोमा जहाजको ल्याण्डिङ चार्ज सम्भवतः संसारकै सबैभन्दा महँगो हो। पार्किङ शुल्क पनि महँगो छ। एभिएसन फ्युल पनि तुलनात्मक रूपमा खर्चिलो छ। यिनलाई पनि दुई-तीन वर्षका लागि घटाउने हो भने पर्यटकको आगमन बढाउन त्यसले पनि अप्रत्यक्ष रूपमा सहयोग गर्नेछ। 

सरकारले कमसेकम पर्यटन क्षेत्रमा लयमा नफर्किउन्जेलसम्मका लागि होटलका पाहुनालाई आफ्नोतर्फबाट भ्याट छुट दिए नेपाल पर्यटकका लागि अझ आकर्षक र सस्तो गन्तव्य हो भनेर प्रचारप्रसार गर्न सजिलो हुनेछ। नेपाललाई सस्तोमै पाइने नराम्रो गन्तव्य बनाउने होइन, अफोर्डेबल मूल्यको स्तरीय गन्तव्य बनाउन पनि मद्दत पुग्छ।

हुन त सरकारले अहिले प्रतिव्यक्ति २० देखि २५ अमेरिकी डलरका दरले लिँदै आएको भिसा शुल्क नलिँदा न त्यसले पर्यटकलाई खासै फरक पार्छ, न त सरकारको राजस्वमा नै त्यति ठूलो तात्विक घाटा नै  हुन्छ। तर भिसा निःशुल्क गर्नुको सन्देश भने अन्तर्राष्ट्रिय पर्यटकमा सकारात्मक रूपमा जानेछ। 'नेपाल पर्यटकका लागि खुला भयो, नेपालले पर्यटकलाई कति महत्त्व र चासो दिएको छ' भन्ने सन्देश अन्तर्राष्ट्रिय समूहमा र पर्यटन सरोकारवालाहरुसम्म पुर्‍याउन यसले मद्दत गर्नेछ।

यस्तै, हाम्रोमा बाहिरबाट आउने हवाई यात्रुले विमानस्थलमा अलि लामो प्रक्रिया पार गर्नुपर्ने झन्झट छ। स्रोत मुलुककै विमानस्थलमा जहाज चढ्नुअघि यात्रुको स्वास्थ्य मापदण्ड पालना तथा त्यससँग सम्बन्धित कागजात (पीसीआर रिपोर्ट) हरु चेकजाँच राम्रोसँग गरिसकेको हुने हुँदा गन्तव्य देशको विमानस्थलमा ओर्लिएपछि पनि यात्रुलाई लामो समय लाइनमा लागेर पुनः तिनै प्रक्रियाहरु पूरा गर्नुपर्ने नियम लगाउन जरुरी हुँदैन। संसारका अधिकांश देशमा यस्तो व्यवस्था छैन। नजिकको दिल्ली विमानस्थलले समेत काठमाडौंबाट गएका यात्रुलाई त्यसो गर्दैन, किनकि यहाँको विमानस्थलमै उड्नुअघि राम्रो चेकजाँच भइसकेको हुन्छ।

तर हामीकहाँ त्यही दिल्लीबाट आउने यात्रुले उता सबै स्वास्थ्य प्रोटोकल पालनामा क्लियरेन्स पाएर आएपनि एयरपोर्टबाट बाहिर निस्कँदा यहाँ पनि स्वास्थ्य मापदण्ड चेकजाँचका लागि कम्तिमा एक घन्टा हाराहारी भीडमा लाइन लाग्नुपर्ने बाध्यता छ। यसले कोभिडबाट सुरक्षा होइन बरु संक्रमणको जोखिम बढाइरहेको छ। यसबाट हाम्रो विमानस्थलले कोभिड सुरक्षा मापदण्ड पालनामा गम्भीर नभएको सन्देश दिइरहेको छ। नेपाल आउन चाहिरहेका पर्यटकहरु यसबाट सशंकित हुन सक्छन्। यस्ता साना लाग्ने कुरालाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ।

पर्यटनमा नयाँ आयामको पहल थाल्न जरुरी
हुन त हाम्रो प्रकृति, सम्पदा, संस्कृति इत्यादिले अहिलेसम्म हाम्रो पर्यटन उद्योग धान्दै आएका छन्, यिनमै पनि अझै ठूलो पर्यटकीय सम्भावनालाई हामीले अझै पनि राम्रोसँग दोहन गर्न सकिरहेका छैनौं होला। तर अब हामीले परम्परागत पर्यटनमा मात्र सीमित नभएर अलिक दीर्घकालिन रूपमा हाम्रो पर्यटनको समग्र भविष्यतर्फ सोचेर नयाँ आयाम सिर्जनाको सम्भावनातर्फ हेर्न थाल्नुपर्छ।

नेपालको हावापानी असाध्यै राम्रो भएकाले मैले यहाँ दुई  किसिमको पर्यटनको ठूलो सम्भावना देखेको छु – मेडिकल टुरिज्म र स्पोर्ट्स टुरिज्म। तर यसमा कुनै व्यक्ति वा निजी क्षेत्रले एकल रुपमा मात्र नभएर सरकारले नै पहलकदमी लिएर काम गर्नुपर्ने हुन्छ। 

हाम्रा विभिन्न हिल स्टेशनहरुमा सरकारले मेडिसिटी विकास गरेर नेपाललाई स्वास्थ्य उपचारको राम्रो गन्तव्य बनाउन सक्ने सम्भावना छ। स्थान पहिचान गरेर त्यहाँ आधारभूत पूर्वाधार बनाइदिँदै जग्गा उपलब्ध गराउनेदेखि १०-१५ वर्षका लागि कर मिनाहा गरिदिएर निजी क्षेत्रलाई उच्चस्तरीय अस्पतालहरु खोल्नका लागि प्रोत्साहित गर्न सक्छ। त्यस्तो मेडिसिटीमा एकै ठाउँमा केही संख्यामा राम्रा र ठूला अस्पतालहरु खोलौं, ताकि विभिन्न देशका नागरिक उपचारका लागि नेपाल आउन्, जसरी अहिले नेपालबाट भारतदेखि थाइल्याण्डसम्म उपचारका लागि जाने गरेका छन्। त्यही स्तरका अस्पताल यहाँ पनि हुने हो भने हामीले पनि स्वास्थ्य पर्यटनबाट ठूलो लाभ लिनसक्ने राम्रो सम्भावना छ।

यस्तै, स्पोर्ट्स टुरिज्मको पनि यहाँ असाध्यै राम्रो सम्भावना र अवसर छ। यसका लागि नेपाललाई प्रकृति र भूराजनीतिक अवस्थिति दुवैले राम्रो साथ दिएको छ। लामो समयदेखि खाडीका दुबई, आबुधावी, शारजाह लगायतका ठाउँमा न्युट्रल भेन्युका रूपमा विभिन्न क्षेत्रीय, क्लब स्तरीय र राष्ट्र-राष्ट्र बीचका क्रिकेट प्रतियोगिताहरु आयोजना भइरहेका छन्। ४५ डिग्रीभन्दा बढीको तापक्रम भएका ती ठाउँमा खेलकुद आयोजना हुन सकिरहेको छ भने नेपाल त प्राकृतिक रूपमै एसी भएजस्तो हावापानीयुक्त छ। हामीले त्योभन्दा धेरै गर्न सक्छौं। किनकि सबै देशको नेपालप्रति सदभाव छ। हामीले न्युट्रल भेन्युका रुपका क्रिकेट लगायतका खेलकुद आयोजना गर्ने पूर्वाधार विकास गरेर ठूलो आम्दानी गर्न सक्छौं। ठूला खेलकुद प्रतियोगिताले देशको पर्यटन क्षेत्रको मात्र नभएर अन्य आर्थिक गतिविधिहरुलाई पनि चलायमान बनाउँछ।

अर्को, भइरहेकै कुरालाई हेर्ने हो भने पनि क्यासिनो पर्यटनबाट पनि हामीले राम्रो लाभ लिनसक्ने अवसर छ। सिनोमा खेल्ने र पैसा खर्च गर्ने भारतीयहरु ठूलो संख्यामा छन्। सरकार र आम दृष्टिकोण क्यासिनोप्रति सकारात्मक नभए पनि यो पर्यटन क्षेत्रको गहना हो। विभिन्न देशमा क्यासिनो टुरिज्म विदेशी मुद्रा आर्जन तथा भुक्तानी सन्तुलनमा टेवा र अर्थतन्त्र उद्देलित बनाउनमा महत्त्वपूर्ण कारक बनेको छ। किनकि क्यासिनोमा खेल्न भनेर आउनेले पैसा फिर्ता लैजाने बिरलै हुन्छ।

यसकारण हामीले पनि भारतीयहरु वा अन्य देशका नागरिकको पनि क्यासिनोतर्फको रुझान र चाहनालाई अवसरमा बदल्ने भरपूर कोसिस गर्नु आवश्यक छ। क्यासिनो खेल्नकै लागि कोही आउन चाहन्छ भने उसले ल्याउन पाउने रकमको सीमामा पनि (मापदण्ड बनाएर) उदार हुन आवश्यक छ, अहिले २५ हजार भारु (नगद) मात्र बोकेर आउन पाइने नियम १० वर्षदेखि कायम छ। हामीले देशबाट बाहिरिने पैसामा मात्र हो लगाम लगाउनुपर्ने। यदि कोही तिम्रो देश आएर पैसा खर्च गर्छु भन्छ भने त्यसमा पनि किन रोक लगाउने ? यसैले नगद बोकेर ल्याउन पाउने सीमा बढायो भने भारतीय पर्यटकहरु अझ बढ्नेछन् र त्यसको 'स्पिल ओभर' लाभ हाम्रा होटल-रेस्टुरेन्ट, यातायात लगायत अन्य पर्यटन व्यवसायहरुलाई पनि मिल्नेछ।
(अग्रवाल काठमाडौंको ठमेल र नक्सालस्थित म्यारिओट होटलका संचालक हुन्।)