विराटनगरमा आकासे पुल बनाउने योजना अलपत्र, महानगरले ठेक्का लगायो तर काम भने भएन

बिजमाण्डू
२०७८ असोज १० गते ०९:०२ | Sep 26, 2021

बिराटनगर। विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ। सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो।

Tata
GBIME
Nepal Life

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ। २०७७ चैत २ मा महानगरपालिकाका प्रमुख भीम पराजुलीले बरगाछीमा एक कार्यक्रमका बीच आकाशे पुलको शिलान्यास गरेका थिए। 

त्यसयता आकाशे पुलको डिजाइन गरी ठेक्का समेत लगाइए पनि हालसम्म निर्माणले पूर्णता पाउन सकेको छैन। पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन्।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ फागुन १६ मा टेण्डर निकालेको थियो। त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो। 

नगर क्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदलयात्रीलाई सहजताका लागि घाँसचोक, बरगाछी र कञ्चनबारी चोक गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको थियो। त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर-१२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबारी चोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ। 

महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ। घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्डर्सले आवश्यक सामाग्री र प्राविधिक भारतबाट झिकाइसके पनि बनाउने ठाउँको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ। 

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो। कला बिल्डर्सले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ। 

पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोपाइटर सञ्जय यादव बताउँछन्। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए।