गौतमबुद्ध विमानस्थल ९८% तयार, सञ्चालन मिति भने अनिश्चित, क्यालिब्रेसन फ्लाइटकै छैन टुंगो

बिजमाण्डू
२०७८ असोज ९ गते ११:३५ | Sep 25, 2021
गौतमबुद्ध विमानस्थल ९८% तयार, सञ्चालन मिति भने अनिश्चित, क्यालिब्रेसन फ्लाइटकै छैन टुंगो


बुटवल। देशकै गौरवको आयोजना र लुम्बिनी प्रदेशको मुख्य आकर्षणको केन्द्र हो भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। निर्माण प्रगतिको ९८ प्रतिशत पुगेको यो विमानस्थल अब कहिले सञ्चालनमा आउँछ भन्ने अनिश्चितता बढेको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति र यसबाट सम्भावना आकलन गरेका व्यवसायीहरुले लुम्बिनी क्षेत्रमा होटल-रिसोर्ट र रेस्टुरेन्टहरुमा लगानी बढाएका छन्। थुप्रै होटल-रेस्टुरेन्ट निर्माणाधीन छन्। तर विभिन्न कारण देखाएर विमानस्थल निर्माण आयोजनाले सञ्चालनमा आउने मिति धेरै पछि धकेलिने संकेत गरेपछि व्यवसायीमा निराशा छ।  

करिब ४ महिना अघिदेखि नै तयारी गरे पनि क्यालिब्रेसन फ्लाइट विमानस्थलले अझै गर्न सकेको छैन। विदेशबाट आउनुपर्ने जहाज र जनशक्ति कोरोना संक्रमणका कारण नआउँदा अझै फ्लाइट हुन नसकेको विमानस्थल आयोजनाले जनाएको छ। 

विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् , ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ या छैन भनेर परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ। 

उपकरणहरु जडानमा गल्ती भए पत्ता लाग्छ र फेर्न सकिन्छ। क्यालिब्रेसन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ। विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक विद्युतीय उपकरणहरु जडान गर्ने काम चैत दोस्रो हप्तामै सकिएको थियो।

विमानस्थल निर्माण आयोजना  ‘आइसीबी-टू’का प्रमुख प्रवेश अधिकारीले केही सामान ल्याउने जिम्मा पाएको थाइल्याण्डको एरो थाई कम्पनीले नसकेपछि आयोजनाको कार्यालयले भारतबाट ल्याउने प्रयास गरिरहेको बताए।

एअरपोर्ट अथोरिटी अफ इन्डियासँग क्यालिब्रेसन फ्लाइटमा प्रयोग हुने जहाज, उपकरण र दक्ष प्राविधिक छन्। त्यसैले पनि नेपाल सरकारले यस विषयमा सिधै भारत सरकारसँग सहयोग माग गरे सहजरुपमा उपलब्ध हुन सक्छ। अहिले दिल्ली-काठमाडौं हवाई उडान पनि सुरु भइसकेकाले सरकारले समन्वय गरे छिटै हुने आयोजनाले जनाएको छ।

‘क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक तयारीमा थियौं तर वैशाखबाट कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको छ।  हाम्रो लक्ष्य अक्टोबरभित्र क्यालिब्रेसन फ्लाइट गर्ने हो,’ प्रमुख अधिकारीले भने, ‘जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्ने अवस्थामा छौं, उपकरणहरु सबै जडान भइसकेको छ।’

स्वदेशी र विदेशी कामदार आईसीबी-वान अन्तर्गत टर्मिनल भवनको बाँकी काम सक्न लागिपरेका छन्। टर्मिनल भवनको काम नसकिए पनि क्यालिब्रेसन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने विमानस्थल आयोजना प्रमुख अधिकारीले बताए।

उनका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको फर्स सिलिङ र एअर कन्डिसन जडान गर्ने काम अन्तिम चरणमा छ। एअर कन्डिसनका पाइपहरु फर्स सिलिङभित्र राख्नुपर्ने र परीक्षणका लागि चीनबाट प्राविधिक आउनुपर्ने भएकाले त्यो काममा ढिलाइ भएको छ।

एउटा एक्सरे मेसिनबाहेक विदेशबाट ल्याउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरणहरु आउन बाँकी छैन। धावनमार्गका लाइट्स, कन्ट्रोल टावर, कन्भेयर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टम लगायतका सबै काम सकिएका छन्। ‘कोरोना भाइरसका कारण विदेशबाट प्राविधिक आउन नसकेर ढिला भएको हो, सहज हुनेबित्तिकै ब्रेकथ्रु हुन्छ,’ उनले भने। त्यस्तै विमानस्थलको भन्सार तथा कार्गो भवन पनि निर्माणको अन्तिम चरणमा छन्।

पीपीपी मोडेलमा सञ्चालनको तयारी
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडल अघि सारेको छ।

यसअघि सरकार-सरकारबीच (जीटूजी) मा जान असफल सरकारले पीपीपी मोडलमा सञ्चालन गर्ने गरी नयाँ प्रक्रिया अगाडि बढाएको हो।
जर्मनको ‘म्युनिख’ विमानस्थलसँग जीटूजी मोडलमा सञ्चालनको जिम्मा दिनेगरी प्रक्रिया अगाडि बढेको भए पनि बीचमै रोकिएको थियो।
जर्मनको ‘म्युनिख’ विमानस्थललाई भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिने प्रक्रिया अगाडि बढाएको सरकार अन्तिम चरणमा आएर पछाडि हटेपछि कुन मोडलमा सञ्चालन गर्ने भन्ने अन्योल थियो।

त्यसपछि एसियाली विकास बैंक(एडीबी)ले विमानस्थल सञ्चालन प्रारुपको खाका निर्माण गर्न जिम्मा दिइएको थियो। एडीबीले खाका तयार गरेर सरकारलाई हस्तान्तरण गरेको छ।

एडीबीले पीपीपी मोडलमा जान गरेको प्रस्तावलाई मन्त्रालयले मन्त्रिपरिषद् बैठकबाट पास गर्ने तयारी गरेको छ। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनभित्रै मन्त्रिपरिषद्माक पठाउन लागेको बताए।

पीपीपी मोडलमा जाने निणर्य गरेपछि सरकारले प्रतिस्पर्धाको आधारमा ग्लोवल टेन्डर आह्वान गर्नेछ।

विगतमा गैरसैनिक हवाई उड्डयन ऐन२०५३ मा पनि विमानस्थल निर्माण, सञ्चालन र संरक्षणको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हुने उल्लेख गरिएको थियो। त्यसले पनि सिधै कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा दिने वा नदिने भन्ने विषयमा प्राविधिक समितिमा एकमत हुन सकेको थिएन।

तत्काल ऐन संशोधन गर्नुपर्ने अथवा सार्वजनिक बोलपत्र आह्वान गरेर मात्रै कम्पनीको छनोट गर्नुपर्ने विषयमा विवाद भएपछि प्रक्रिया नै रोकिएको थियो।

‘म्युनिख’ ले २०७५ माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो। नेपाल सरकारलाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थलको सञ्चालन जिम्मा दिन आग्रहसहितको पत्र पठाएको थियो। उक्त पत्र आएसँगै गतवर्षको साउन अन्तिम साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलकारुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले जिम्मा लिएको थियो। कम्पनीसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसीबी-जीरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर३१ सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी २०१५ जनवरीमा निर्माण सुरु गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो।

सुरुवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदार बीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले ढिलाइ भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड-१९ का कारण प्रभावित बन्यो।

आइसीबी-जिरो वान अन्तर्गत ६अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आईसीबी-जिरो टु अन्तर्गत विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि ५६ करोडभन्दा बढी बजेटमा काम भइरहेको छ।

यसरी आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ। पहिलो चरणको काम अर्थात् आइसीबी-१ मा एडीबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फण्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
निर्माणतर्फ पनि आइसीबी-१ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसीबी-२ अन्तर्गत एरोथाइ कम्पनीले ठेक्कासम्झौता गरेका हुन्।