उपत्यकाको सडकका खाल्डाखुल्डी किन भएन मर्मत ? उपमहानिर्देशक भन्छन् ‘डेढ महिनामा मर्मत पूरा’

बिजमाण्डू
२०७८ असोज ९ गते ११:०३ | Sep 25, 2021
उपत्यकाको सडकका खाल्डाखुल्डी किन भएन मर्मत ? उपमहानिर्देशक भन्छन् ‘डेढ महिनामा मर्मत पूरा’


काठमाडौं। अघिल्ला वर्षहरु सडक विभागले उपत्यकाका सडक मर्मतका लागि डेडिकेटेड टिम नै बनाएर काम गर्थ्यो। जसका कारण सडकहरुमा खाल्डाखुल्डी कमै देखिन्थे।

Tata
GBIME
Nepal Life

राष्ट्रपति, प्रधानमन्त्री, अन्य भीआइपी, विदेशी पाहुनाहरु हिड्ने मुख्य सडक बाह्रै महिना मेन्टेन गरेर राख्ने गरी काम हुने गर्थ्यो। तर यो वर्ष भने त्यसरी काम हुन नसक्दा सडकहरुमा खाल्डाखुल्डी बढेको छ। कलंकी, कालीमाटी, थापाथली, चाबहिल, जोरपाटी, ललितपुरका विभिन्न खण्ड लगायतका सडकमा दर्जनौं खाल्डाखुल्डी परेका छन्।

मुख्य सडकसँग जोडिने सहायक सडकहरुको त झन् अवस्था बिजोक नै छ। मेलम्चीको पानी राजधानीबासीका घर घरमा पुर्‍याउन पाइपलाइन बिछ्याउने काम भइरहेको छ। विद्युत प्राधिकरणले अण्डरग्राउण्ड केबलिङ गरिरहेको छ। सडक खनेर त्यसको पुनर्स्थापन नै नगरी जथाभावी छोडिएका कारण पनि सडकमा खाल्डाखुल्डी बढेको हो।

सडक विभागका उपमहानिर्देशक शिव नेपालले सडक मर्मतको काम ३६५ दिन नै चलिरहेको बताए। 'पानी परेकाले यो वर्ष काम गर्न सकिएको छैन। मर्मतको गर्‍यो भने किन पानीमा गरेको भन्ने, अनि गरेन भने पनि किन गरेन भन्नेहरु छन्। हामीले समय पाउनु पर्‍यो नि,' उनले भने 'अब पानी कम भयो। एक-दुइ दिनमा मर्मतको काम देखिन्छ।' डेढ महिनाभित्र सडक विभागमातहतका सडकको मर्मत सक्ने उनले बताए। 

सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपालीले भने सडक विभिन्न निकाय अन्तर्गत निर्माण र मर्मत सम्भार हुने भएकाले केन्द्र मातहतभन्दा पनि अन्यमा समस्या रहेको बताए। प्रदेश, स्थानीय निकाय मातहत पनि सडक निर्माण र मर्मत हुने गरेको छ। रणनीतिक सडक मात्रै केन्द्रले निर्माण गर्छ। 'सडक बिग्रने बित्तिकै हामीले गाली खान्छौं तर  सडक बनाउने धेरै निकाय छ। हामीले मात्रै बनाउदैनौ नि,' उनले भने ,'हामी मातहतको सडक मर्मतको काम निरन्तर गरिरहेका छौं।'

बिभिन्न प्रयोजनका नाममा जथाभावी सडक खनेर मर्मत नगरी छाडिदिनेहरु बढेपछि खाल्डाखुल्डी बढेको उनले बताए।