हङकङको क्याथे प्यासिफिक एयरलाइन्स ७५ वर्षमा प्रवेश, नवीनतम प्रविधिलाई जोड दिइने

बिजमाण्डू
२०७८ असोज ८ गते १५:११ | Sep 24, 2021
हङकङको क्याथे प्यासिफिक एयरलाइन्स ७५ वर्षमा प्रवेश, नवीनतम प्रविधिलाई जोड दिइने

Tata
GBIME
Nepal Life

काठमाडौं। क्षेत्रीय उडानबाट सेवा सुरु गरेको हङकङको ध्वजावाहक कम्पनी क्याथे प्यासिफिक एयरलाइन्स ७५ वर्षको भएको छ। आफ्नो सेवालाई निरन्तर उत्कृष्ट बनाउदै लैजान कम्पनीले नवीनतम प्रविधिको प्रयोगलाई बढाउने जनाएको छ।

अन्तर्राष्ट्रियतर्फ विश्वको चौथो ऐतिहासिक वायुसेवा कम्पनी बन्न सफल यो कम्पनीले हालसम्म चारवटा अवार्ड पाइसकेको छ। पाँचतारे स्तरको यो वायुसेवा कम्पनीले एक सय भन्दा बढी मुलुकमा कार्गो र यात्रु उडान सेवा दिँदै आएको छ।

'क्याथे प्यासिफिकले यो ७५ वर्ष उल्लासमय सफलता देखेको छ। कम्पनीले विश्वभर छरिएर बसेका यात्रुलाई स्टेट अफ द आर्ट अन्तर्गतका जहाजमार्फत विभिन्न नयाँ गन्तव्यसँग जोड्दै भिन्न अनुभव दिँदै आएको छ,' कम्पनीका सीइओ अगस्टस ताङले भनेका छन्, 'विश्वव्यापी रूपमा फैलिएको महामारीको समयमा पनि हामीले आफ्नो सेवालाई निरन्तर्ता दिँदै आएका छौं।'

आफूसँग जोडिँदै आएका यात्रुका कारण कम्पनी यहाँसम्म आइपुग्न सफल भएको उनले बताए।

हाल यो कम्पनीले साढे छ वर्ष पुराना एक सय ८० वटा जहाजमार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार सबै जहाजमा यात्रुले उच्चस्तरीय क्याविन र अत्याधुनिक इनफ्लाइट मनोरञ्जन लिन सक्नेछन्।

नयाँ एयरबस ए ३२१ नियो एयरक्राफ्ट लन्च गर्ने योजना बनाएको यो कम्पनीले सन् २०५० सम्म नेट-जिरो कार्बोन इमिसनको लक्ष्य हासिल गर्ने जनाएको छ। क्याथे प्यासेफिक एसियाको पहिलो एयरलाइन्स हो, जसले कार्बोन न्यूट्रालिटीलाई कार्यान्वयन गर्न लक्ष्यसहित अघि बढेको छ।

आगामी दिनमा कम्पनीले थप्ने नयाँ जहाजमा वायोफ्युल प्रयोग गर्ने जनाएको छ। सन् २०१६ मा यो कम्पनीले एयरबस ३५०-९०० सिरिजको जहाजमार्फत वायो फ्युल प्रयोग गर्दै लामो दुरीको उडान गरेको थियो।

कम्पनीले २५ वर्ष यता पर्यावरणमैत्री क्रियाकलापको विवरण सार्वजनिक गर्दै आएको छ। सन् १९९७ मा कार्बन अफसेटिङ गर्ने पहिलो एसियाली वायुसेवा कम्पनीले वायोफ्युलमा लगानी गर्न लागेको हो।

कम्पनीको सेवा लिने यात्रुले जहाजभित्रै योगा स्टुडियो, ३५ हजार फीटको उचाइमा क्राफ्ट वियर, अनलाइन चेक इन सर्भिस लगायतको सुविधा लिँदै आएका छन्।

सन् १९९१मा कम्पनीको जहाजमा पाँचवटा रेडियो प्रसारण सुरु गरिएको थियो। कम्पनीको सबै जहाजमा वाइफाइ, टेलिभिजन न्युज, स्पोर्ट्स च्यानल लगायतका सुविधा समावेश गरिएका छन्। कम्पनीले प्रयोगमा ल्याएको नयाँ जहाज एयरबस ३२१ नियोमा फोके अल्ट्रा हाइ डेफिनेसन 'युएचडी'को सुविधा समावेश गरिएको जनाएको छ।