खाद्य कम्पनीको सहुलियत पसलबाट सात दिनमा २४ लाखको खाद्यान्न बिक्री, चामल किन्ने सबैभन्दा धेरै

बिजमाण्डू
२०७८ असोज ८ गते १४:०० | Sep 24, 2021
खाद्य कम्पनीको सहुलियत पसलबाट सात दिनमा २४ लाखको खाद्यान्न बिक्री, चामल किन्ने सबैभन्दा धेरै

काठमाडौं। चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ बाट संचालनमा ल्याएको सहुलियत पसलबाट करिब साढे २४ लाख रुपैयाँको खाद्यान्न बिक्री गरेको छ। 

Tata
GBIME
Nepal Life

यो एक सातामा सहुलियत पसलबाट करिब २ सय ५६ क्विन्टल खाद्यान्न बिक्री भएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए। कम्पनीले उपत्‍यकामा रहेका चारवटा बिक्री कक्ष र अनलाइन अर्डरमार्फत उक्त परिमाण र रकमको खाद्यान्न बिक्री गरेको हो। यसमध्ये थापाथलीको धान गोदामबाट सबै खाद्यान्न सबैभन्दा धेरै बिक्री भएको छ।

खाद्यको सहुलियत पसलबाट सबैभन्दा धेरै चामलको व्यापार भएको छ। सात दिनमा कुल १५ हजार ९ सय केजी चामल बिकेको हो। जसमा धान गोदाम थापाथलीबाट मात्र १० हजार ६ सय ३७  केजी चामल बिक्री भएको छ। यस्तै, नख्खु बिक्री कक्षबाट १९ सय ३९ केजी भक्तपुरबाट ५ सय ९० केजी  रामशाहपथबाट १७ सय ४० केजी रहेको छ। कम्पनीको इ-कमर्स प्लाटफर्म नेपाल फुड अनलाइनमार्फत ७ सय ४५ केजी र सस्तो डिल अनलाइनबाट ३ सय ४५ क्विन्टल चामल बिक्री भएको छ।

यो वर्ष कम्पनीले सहुलियत पसलमा १० थरिका चामल बिक्रीका लागि राखेको बताएको छ। यसमा मकवानपुरे मोटो चामलको बिक्री सबैभन्दा बढी छ।

त्यस्तै, कर्णालीको सिमी, क्वाँटी मुग खोस्टा दाल, मुसुरो दाल, मास दाल लगायतको व्यापार भने सामान्य छ। धान गोदामबाट थापाथली (६०९० केजी), रामशाहपथबाट २ सय ७४  केजी र अनलाइबाट भएको १ सय १२  केजी दाल बिक्री सबैभन्दा धेरै बिकेका आउटलेटहरु हुन्। दालमा मासको सबैभन्दा धेरै बिक्री भएको छ।

साथै तिते फापर, आयो नुन, गहुँ, चिनी, आँटा, मैदा, चिउरा लगायत ३२ सय ३६ केजी बिक्री गरेको कम्पनीले जनाएको छ। यो पनि धान गोदाम थापाथली (१७ सय १७ केजी), नख्खु (१२ सय ५३ केजी), नेपाल फुड अनलाइन (एक सय ३६ केजी) लगायत आउटलेटबाट सर्वाधिक बिक्री भइरहेको छ।

योसहित सूर्यमुखी तेल ६०६ लिटर, तोरीको तेल ३ सय ७९ लिटर, भटमास तेल ९ सय ३७ लिटर, गरी १९ सय २२ लिटर बिक्री गरेको छ। २७ सय ५० केजी डीडीसीको घ्यू पनि बिक्री भएको कम्पनीले जनाएको छ।

सरकारले चाडपर्व लक्षित सहुलियत पसलमा चामल र खसीबोकामा किलोमा क्रमशः ५ रुपैयाँ र १० रुपैयाँ छुट दिएको छ। अन्य खाद्यान्नहरुमा भने कम्पनीले २ रुपैयाँदेखि १० रुपैयाँ छुट दिएको पाइएको छ। सहुलियत पसल संचालन भएपछि उपभोक्ताहरुको आगमन बढ्न थालेको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन्।

अनलाइन डेलिभरीसहित कम्पनीको बिक्री कक्षहरुमा खाद्यान्नको माग क्रमशः बढ्न थालेको र दसैं नजिकिएपछि अझ यो तीव्र बढ्ने उनले बताइएन्।