निजी रेल्वेमा भारतबाट कार ल्याउँदा सडकभन्दा सस्तो, रेनल्ट र निसानले १२५ कार ल्याउँदै

बिजमाण्डू
२०७८ असोज ८ गते १२:५३ | Sep 24, 2021

वीरगंज। रेलमार्गमार्फत न्यून मात्रामा हुने गरेको कारको आयात निजी रेल्वेको आगमनसँगै बढ्ने देखिएको छ। डेढ महिना अघि भएको नेपाल–भारत रेल्वे सर्भिस एग्रिमेन्ट अनुसार भारतीय निजी कम्पनीले नेपालको लागि मालसमान ढुवानी गर्ने अनुमति पाएसँगै भारतीय निजी कार्गो रेलले नेपालमा आयात गरिने विभिन्न वस्तुको आयातमा चासो देखाएका छन्।

Tata
GBIME
Nepal Life

भारतमा निर्मित विदेशी ब्रान्डको बिलासी कारको ढुवानी गर्न भारतीय व्यवसायीहरुले रेलमार्गलाई विकल्पको रुपमा अघि सार्ने योजना बनाएका छन्। भारतीय लजिस्टिक कम्पनी जोशी कोनकोइके ट्रान्सपोर्ट एण्ड इन्फ्रास्ट्रक्चर प्रालि दिल्लीले नेपालमा आयात हुने रेनल्ट र निसानको कार रेलमार्गबाटै ल्याउने तयारी गरेको छ।

उक्त कम्पनीले दक्षिण भारतको चेन्नईबाट भारतीय सीमावर्ती बजार रक्सौल नजिकैको रामगढवासम्म निजी कार्गो रेलमार्फत चाँडै नै १२५ वटा कम्पनीका कारहरु ल्याउने जानकारी दिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार चेन्नईको सिंगापेरुमल कोइल रेल्वे स्टेशनबाट सिधा रामगढवा सम्म कार ढुवानी गर्ने विशेष रेलबाट कारको आयात गर्ने लक्ष्य राखेको छ।

भारत सरकारको दक्षिण रेल्वे डिभिजनले चेन्नईको वालाजावाद र मेलपाकमपछि सिंगापेरुमल कोइल रेल्वे स्टेशनलाई तेस्रो अटोमोबाइल हबको लागि विकास गरिरहेको छ। भौतिक पूर्वाधारको काम सकेर केही सातामै उक्त स्टेशनबाट रेनल्ट र निशानको १२५ वटा कार ल्याउने कन्साइन्मेन्ट पनि भइसकेको बताइएको छ।

यो स्टेशन चेन्नईको काचीपुरमको नजिकै पर्छ जुन क्षेत्रमा थुप्रै अटोमोबाइल्स कम्पनीहरुले विदेशी कार निर्माण गर्दछन्। उक्त स्टेशनबाट २५ प्रकारको वस्तुलाई विश्वको ८८ वटा मुलुकमा ढुवानी गर्ने लक्ष्य राखिएको छ। वीरगंजबाट २२ सय ९० किलोमिटर र रामगढवाबाट २२ सय ४४ किलोमिटर दुरीमा रहेको सिंगापेरुमल रेल्वे स्टेशनबाट एक खेपमा १२५ वटा कार रामगढवासम्म ल्याउँदा भारु १८ लाख २५ हजार भाडा तोकिएको छ। अझ भाडा सडकमार्गबाट कार ढुवानी गर्ने भाडाभन्दा निकै सस्तो भएको व्यवसायीहरु बताउँछन्।

रक्सौलको रामगढवासम्म रेलबाट कार आइसकेपछि सडकमार्गबाट ती कारहरु वीरगंज भन्सारको आइसीपी नाकाबाट नेपाल भित्रिने बताइएको छ। यसअघि सन २०२० को जनवरीमा चेन्नईको वालाजावादबाट सुनौलीको भारतीय सीमावर्ती बजार नौतानवासम्म हुन्डाईको १२५ वटा कार रेलबाट भित्रिएको थियो। त्यति बेला नौतानवादेखि वालाजावादसम्मको दुरी २१ सय ६० किमि थियो।

तर काठमाडौंसम्म कार ल्याउन दूरी बढी हुने भएकोले आयातकर्ताहरु वीरगंज नाकालाई छोटो दुरी पर्ने भएकाले यही नाकाबाट कार आयात गर्ने रुचि देखाएका हुन्। सिगापेरुमल रेल्वे स्टेशनबाट कार बोक्ने रेलमार्फत कार वीरगंज सीमापारी सम्म ल्याउँदा सडकमार्गको करिब ८ दिन बचत हुने र हजारौं टन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने सकिने भारतीय व्यवसायीहरुले अनुमान गरेका छन्।