दसैंको मौका छोपेर सुनमा कालोबजारी, चल्ती मूल्यभन्दा तोलामा चार हजारसम्म धेरै असुल्दै

सरला सुवेदी/बिजमाण्डू
२०७८ असोज ७ गते १८:०५ | Sep 23, 2021
दसैंको मौका छोपेर सुनमा कालोबजारी, चल्ती मूल्यभन्दा तोलामा चार हजारसम्म धेरै असुल्दै

काठमाडौं। सुनचाँदीको माग बढ्ने चाडपर्व नजिकिँदै जाँदा सुनचाँदी व्यवसायीहरुले कालोबजारी गर्न थालेका छन्। बजारमा सुन अभाव नभए पनि ग्राहकलाई भने आपूर्ति असहज रहेको बताउँदै व्यवसायीले चलनचल्तीको मूल्यभन्दा बढी असुल्ने प्रयास गर्न थालेको सुनचाँदी व्यवसायीहरुको छाता संगठनले समेत बताएको छ।

Tata
GBIME
Nepal Life

सुनचाँदी पसलेले तोलामै चार हजार रुपैयाँसम्म माग्न थालेको गुनासो ग्राहकले गरेका छन्। यस्तै अनुभव गरेका एक ग्राहकका अनुसार, केही दिनअघि मात्र काठमाडौंको कीर्तिपुरस्थित एक सुन व्यवसायीले सुनको गहना बनाउन गएका उनलाई आफैं सुन ल्याए चलिआएको मूल्यमै बनाइदिने तर पसलसँगै लिँदा भने तोलामा चल्तीको दामभन्दा कम्तिमा तीन हजार रुपैयाँ बढी तिर्नुपर्ने बताएका थिए।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य पनि यतिबेला उपत्यकाभित्र र बाहिरका जिल्लाहरुमा सुनको कारोबारमा कालोबजारी बढ्न थालेको बताउँछन्। बाहिरका विभिन्न ठाउँबाट सुन व्‍यवसायीहरुले ग्राहकलाइ ठग्न थालेको गुनासो आइरहेको उनले बताए।

अहिले सुन आयात नियमित भइरहेको छ। बजारमा दैनिक ३० केजी सुनको खपत हुन थालेको छ। यसका बाबजुद अहिले आयात भइरहेको सुनले नै बजार माग धानिरहेको छ। यसकारण बजारमा अभाव देखाउन सक्ने अवस्था नभए पनि चाडका बेला गरगहना बनाउन चाहने उपभोक्ता बढ्ने भएकाले यतिखेर व्यापारीले यसलाई कारोबजारीको मौकाका रुपमा लिन थालेका हुन्। 

एक दुई जनाले मात्र बढी मूल्य लिएर व्यापार गर्दा पूरै सुनचाँदी व्यवसायमा नै यसको नराम्रो प्रभाव पर्ने भएकाले यसलाई गम्भीर रुपमा लिँदै ध्यानाकर्षण भएको महासंघले बताएको छ।

यसका बाबजुद कालोबजारी बढ्ने क्रममा रहेको महासंघ स्वयम् बताउँछ। शाक्य भन्छन्, 'चाडपर्व नजिकिएकाले सुनको कारोबार बढ्न थालेकाले यतिबेला अन्य समयभन्दा धेरै सुन माग हुन्छ। यसैले कारोबजारीलाई हामी चाडैं नै रोक्ने प्रयास गर्छौं।'

सुनको माग स्थिर तर कोटा बढाउन व्यवसायीको जोडबल

गत सात महिनादेखि दैनिक २० केजी सुन आयात हुँदै आएकोमा अहिले बजारमा दिनको २५ देखि ३० केजी सुन खपत हुन थालेको महासंघको भनाइ छ। चालु आर्थिक वर्षको दुई महिनामै १३ सय किलो सुन बिक्री भएको महासंघले जनाएको छ।

बजारमा सुनको माग बढ्न थालेकाले सरकारले थप कोटा बढाएर ३० केजी पुर्याउनुपर्ने वा सुनको दैनिक कोटा खारेज गर्नुपर्ने सुनचाँदी व्यवसायीहरुले राष्ट्र बैंकसँग माग गरेको छ। आयात परिमाण बढे मात्र बजारमा कालोबजारी हट्ने शाक्यको तर्क छ।

तर केही सुनचाँदी व्यवसायीहरु भने कोभिड-१९ का कारण उपभोक्ताको क्रय क्षमता नै घटेको अवस्थामा सुन अचाक्ली महँगो भएकाले पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको खपत नै कम भइरहेको छ। काजकर्ममा काम चलाउनका मात्र र अन्य प्रयोजनमा न्यून परिमाणमा सुनको माग हुने गरेको उनीहरुको भनाइ छ। यसका साथै, उपभोक्ताबाट पहिलेजस्तो फिर्ता सुन (गरगहना बिक्रीका लागि) आउन पनि छोडेको छ।

पहिलेजस्तो बजारमा सुन खरिद बिक्री गर्ने उपभोक्ताको चहलपहल घटेको अवस्थामा पनि व्यवसायीहरुले कोटा बढाउने माग गरिरहेका छन्। बिहेको सिजन र चाडपर्व बाहेकका समयमा पनि बजारमा दैनिक २० केजीभन्दा बढी सुनको माग रहेको जिकिर सुनचाँदी व्यवसायीहरुले गर्दै आएका छन्।

दैनिक २० केजी सुन स्थानीय बजारमा नै हुने गरेको महासंघको जिकिर छ। तर पछिल्लो समय आयातित सुन स्थानीय बजारमा खपत नभइ तस्करी हुने क्रम बढेको पनि देखिएको छ। हालै मात्र खरिद बिल सहित प्रयोजन नखुलेको ठूलो परिमाणमा सुन बरामद भएको थियो। उक्त सुन वैधानिक बाटो बनाएर भारत तस्करीका लागि खरिद भएको आशंक गरिएको छ।