सेयर बजारः २८८३ नजिक पुगेर फर्कियो सूचक, सय अंकले बढेको भन्दा धेरैको कारोबार तीन अंकको वृद्धिमा

बिजमाण्डू
२०७८ असोज ७ गते १५:३१ | Sep 23, 2021
सेयर बजारः २८८३ नजिक पुगेर फर्कियो सूचक, सय अंकले बढेको भन्दा धेरैको कारोबार तीन अंकको वृद्धिमा

काठमाडौं। ओपनिङमै लगानीकर्तालाई उत्साहित बनाएको सेयर बजार साताको अन्तिम कारोबार दिनमा सकारात्मक हुँदै बन्द भएको छ। यद्यपि, नियमित कारोबार सत्रको पहिलो पाँच मिनेटमै आएको करिब ६६ अंकको उछाललाई भने आजको कारोबारले अन्तिम समयसम्म टिकाउन सकेन।

Tata
GBIME
Nepal Life

पहिलो पाँच मिनेटमा २८८२ विन्दुमा उक्लिएको सूचक आज २०१९.६६ मा पुगेर रोकिएको छ। त्यसबीच दिउँसो १२:२२ बजेसम्म २८६७ हाराहारीको अवस्थालाई कायम राखेको बजार सूचक त्यसपछि भने ओरालो लाग्दै अन्तिम ३७ मिनेटमा पुग्दा ऋणात्मक अवस्था (२८०५) मा पुगिसकेको थियो। सोपछि त्यसमा केही सुधार भएको हो।

बजारलाई नकारात्मक हुनबाट रोक्ने क्रममा ५६ कम्पनीको सेयर मूल्य बिहीबार बढेको छ। तर यसको दोब्बरभन्दा बढी अर्थात् १२८ कम्पनीको सेयरका लगानीकर्ताहरुले भने आज गुमाएका छन्। यी कम्पनीको मूल्य ५.०९ प्रतिशतसम्मले घटेको हो। आज एउटा मात्र कम्पनी मनकामना स्मार्ट लघुवित्तको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्दै प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ। यसपछि प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र मैलुङ खोला जलविद्युतको पनि मूल्य पनि क्रमशः सर्वाधिक दरले बढेको छ। गुँरास लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य यथावत रह्यो।

कुल २२८ कम्पनीको स्क्रिप ८७ हजार ८१० पटक किनबेच हुँदा एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयरको कारोबार रकम करिब सात अर्ब ७२ करोड ६४ लाख रुपयाँ रहेको छ। यो कारोबार रकम बुधबार सूचक करिब १०५ अंकले बढ‍्दाको भन्दा बढी हो। बुधबार ६ अर्ब १७ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो।

रकमका हिसाबले सानिमा बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर लगायतका कम्पनीको सेयर कारोबार क्रमशः सर्वाधिक भएको छ।