नेपालको मोबाइल इन्टरनेट गुणस्तर निरन्तर खस्किँदै, फिक्स्ड ब्रोडब्याण्डमा भने क्रमिक सुधार

बिजमाण्डू
२०७८ असोज ७ गते १२:५० | Sep 23, 2021
नेपालको मोबाइल इन्टरनेट गुणस्तर निरन्तर खस्किँदै, फिक्स्ड ब्रोडब्याण्डमा भने क्रमिक सुधार


काठमाडौं। नेपालमा टेलिकम अपरेटरहरुले दिँदै आएको मोबाइल इन्टरनेटको गुणस्तर निरन्‍तर खस्किँदै गएको देखिएको छ। इन्टरनेट स्पीड परीक्षण गर्ने प्रख्यात प्लाटफर्म स्पीड टेस्ट ग्लोबल इन्डेक्सको मासिक प्रतिवदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

स्पीड टेस्ट ग्लोबल इन्डेक्सले विश्वका १८० देशको इन्टरनेट सेवा गुणस्तरलाई वर्गीकरणमा समावेस गरेर सूची तयार पार्दै आएको छ। इन्डेक्सले मोबाइल इन्टरनेटमा १४० र फिक्स्ड ब्रोडब्याण्डमा १८० देशहरुको इन्टरनेट गुणस्तर अनुसार वर्गीकरण गरेको छ। यीमध्ये नेपालको मोबाइल इन्टरनेटको गुणस्तर खस्किँदै ११४औं स्थानमा ओर्लिएको प्रतिवेदनमा उल्लेख छ।

यसअघि गत जुलाईमा नेपालको मोबाइल इन्टरनेट सात स्थान खस्किँदै नेपाल ११२औं स्थानमा झरेको थियो। अहिले त्यो मा अगस्टमा पनि पुन: दुई स्थान तल झर्दै ११४ औं स्थानमा पुगेको छ।

यस्तै, फिक्स्ड ब्रोडब्याण्डमा भने नेपालले निरन्तर सुधार गर्दै लगेको देखिन्छ। अगस्टमा थप एक स्थान सुधार गर्दै नेपाल १११ औं स्थानमा उक्लेको छ। अघिल्ले महिना फिक्स्ड ब्रोडब्याण्डमा नेपालले तीन श्रेणी सुधार गर्दै ११२ औं स्थानमा उक्लिएको थियो। 

मोबाइल इन्टरनेटको अधिकतम डाउनलोड स्पीड २०.९० एमबीपीएस र अपलोड १२.१६ एमबीपीएस रहेको स्पीड टेस्टले जनाएको छ। ब्रोडब्याण्डको अधिकतम डाउनलोड स्पीड ३०.४९ एमबीपीएस रहेको र अपलोड स्पीड २७.३८ एमबीपीएस रहेको छ।

यस्तै, अगस्टमा मोबाइल इन्टरनेटको ल्याटेन्सी ३४ मिलिसेकेन्ड्स र फिक्स्ड ब्रोडब्याण्डको १५ मिलिसेकेन्ड्स पुगेको छ।