एनसिएचलमा कारोबारको समय सीमा बढ्यो, अब ३ बजेसम्म आएका भुक्तानी एकै दिनमा क्लियरिङ

बिजमाण्डू
२०७८ असोज ३ गते १९:१३ | Sep 19, 2021
एनसिएचलमा कारोबारको समय सीमा बढ्यो, अब ३ बजेसम्म आएका भुक्तानी एकै दिनमा क्लियरिङ

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तर-बैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि गरिएको छ।डिजिटल पेमेन्टको उपयोगिता वृद्धि भइरहेको अवस्थामा प्रणालीमार्फत गरिने बैंकका ग्राहकहरुको कारोबारको सीमा बढाइएको हो।

Tata
GBIME
Nepal Life

एनसिएचएलले  नेपाल सरकार, पुँजी बजार, अर्द्ध-सरकारी संस्था लगायतका विभिन्न कारोबारलाई थप प्रभावकारी र सहज गर्न प्रणालीमा रहेको समय सीमाको समय तालिका वृद्धि गरिएको जनाएको छ। 

सोही व्यवस्था अनुसार यहि असोज ४ गतेदेखि नै एनसिएचएल-आइपीएस प्रणालीमा बिहान ९ बजे देखि दिनको ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमानै फर्छ्यौट हुने व्यवस्था लागु हुने भएको छ।

यस अघि बिहानको १० बजे देखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुने गरेको थियो। उक्त समय सीमा वृद्धिपछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छ्यौट हुने व्यवस्था यथावत रहने छ। त्यसै गरी दिनको ३:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमानै फर्छ्यौट हुने छन्। 

शुक्रबारको दिन १२:३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छ्यौट हुने व्यवस्था मिलाइएको छ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसिएचएल-आइपीएसमा वृद्धि  भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने कम्पनीले विश्वास गरेको छ।

एनसिएचएल-आइपीएसमार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीय सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्सफर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ। 

हाल यस प्रणालीमा ५९ बैंक वित्तीय संस्थाहरु आबद्ध छन्। यस प्रणालीमार्फत प्रति कारोबार २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी ३० करोड रुपैयाँसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोड रुपैयाँसम्म र सरकारी भुक्तानी दुई अर्ब रुपैयाँसम्म गर्न सकिन्छ। 

हाल एनसिएचएल-आइपीएसमार्फत भुक्तानी कारोबारहरु बैंक/वित्तीय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, कर्पोरेट पे प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस लगायतका च्यानलहरुमार्फत गर्न सकिन्छ। हाल एनसिएचएल-आइपीएसको कारोबार शुल्क दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छ।    

एनसीएचएलले हाल एनसीएचएल-इसीसी, एनसिएचएल-आइपीएस, कनेक्ट-आइपीएस, कनेक्ट-आरटिजिएस, एनपीआई र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ। जसमा नेपाल राष्ट्र बैंकलगायत सबैजसो बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।