ट्रेकिङ रुटहरु खोलिदिन पर्यटन व्यवसायीको माग, भिसा र क्वारेन्टिन सहज भए पर्यटनले गति लिने

बिजमाण्डू
२०७८ असोज ३ गते १६:३६ | Sep 19, 2021

काठमाडौं। कोरोना महामारी बिस्तारै कम  हुँदै गएको भन्दै नेपालका पदमार्गहरुमा चहलपहल बढाउनुपर्ने पर्यटन व्यवसायीहरुले बताएका छन्। उनीहरुले पदमार्गमा जाने पर्यटकका लागि खुकुलो नियम बनाउन समेत सरकारसँग आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ । विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढिरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको अवस्थामा ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नभएपनि मापदण्ड तोकी पदयात्राको पर्यटनलाई खुला गर्न पर्यटन व्यवसायीहरुले माग गरेका हुन्।

नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका हुन्।

ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए।  

एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । साहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने बताए ।

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको पदयात्रासम्बद्ध व्यवसायीले बताएका छन् । नेपालमा कोरोना संक्रमणको दर घट्दै जाँदा विदेशबाट इन्क्वाइरी बढेको पनि व्यवसायीले जानकारी दिए । सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने उनीहरुको भनाई छ।

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो । अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढिरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन्।