निजी गाडीले प्रवेश पाउनेगरी नाका खोल्न माग, वीरगंजका होटल व्यवसायी भन्छन् ‘हामी चौपट भयौं’ 

बिजमाण्डू
२०७८ असोज ३ गते ११:१६ | Sep 19, 2021
निजी गाडीले प्रवेश पाउनेगरी नाका खोल्न माग, वीरगंजका होटल व्यवसायी भन्छन् ‘हामी चौपट भयौं’ 


वीरगंज। कोरोना महामारी सुरु भएयता सरकारले गत वर्षदेखि सीमामा आवतजावतमा गरेको कडाइलाई अझैसम्म जारी राख्दा वीरगंजको होटल व्यवसायमा व्यवसायमा गम्भीर असर परेको छ। निजी सवारी साधन लिएर आउजाउ गर्न दिनेगरी नाका खोल्नुपर्ने माग व्यवसायीले गरेका छन्।

Tata
GBIME
Nepal Life

सरकारले दुई वर्षदेखि आफूहरुको मागमा सुनुवाइ गरेकाले ताला लगाएर चाबी बुझाउने अवस्था आएको वीरगंजका होटल व्यवसायीहरुले बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले पत्रकार सम्मेलन गर्दै आफूहरुको मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

कन्ट्री इन होटलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरि पन्तले भने 'वीरगंजको होटलव्यवसाय भारतीय ग्राहकले चल्ने हो। उनीहरु गाडी लिएर आउन पाउने व्यवस्था गरिनुपर्छ।' लामो समयसम्म सरकारले भारतीय गाडी प्रवेश गर्ने किसिमले नाका सहज नबनाउँदा होटल व्यवसाय चौपट बन्दै भएको उनले गुनासो गरे। 'व्यवसायीलाई ठूलो आर्थिक भार परेको छ,' उनले भने। 

कोरोना महामारी सुरु भएयता सरकारले २०७६ चैतदेखि रोक लगाएको भारतीय निजी सवारी साधनको आवतजावत अझै खुला गरेको छैन। यसले गर्दा सीमावर्ती शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाइ छ। सीमा क्षेत्रमा सबै प्रकारको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले भारतीय निजी गाडीलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क पन्तले गरे। 

‘भारतीय सीमानाबाट मानिसको आवागमन निर्वाध रुपमा भइरहेको छ। कोरोना महामारी नियन्त्रणका लागि भणेर अझैसम्म प्राइभेट गाडी आउनजान लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने, ‘सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनाका कारण चल्छ। यो तथ्यलाई सरकारले बुझिदिनु पर्छ।’

अहिले निषेधाज्ञा नाम मात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यवहारिक भएको व्यवसायीहरूको भनाइ छ। कार्यक्रममा भिडियोमार्फत वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले

स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चलायमान बनाउन अब ढिला गर्न नहुने बताए। ‘बन्दाबन्दी र निषेधाज्ञाको बेलामा पनि नाकामा मानिसको आवागमन रोकिएन। अहिले त सीमा क्षेत्रमा कोरोनाको जोखिम कम छ। त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीका साधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ,’ सरावगीले भने, ‘सीमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोकलाई तत्काल हटाउनु पर्दछ।' 

लर्डस् दियालो होटलका सञ्चालक अनिल रुंगटाले सीमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सीमानाबाट सवारी साधन सञ्चालनमा लागेको रोक हटाउनु पर्ने माग गरे।

सीमानामा सवारी आवागमन खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ। 'भारतीय ग्राहक नआउँदा सीमा क्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको छ,' उनले भने। 

भारतीय पर्यटक सीमानामा गाडी थन्क्याएर पैदल हिड्दै दुःख पाउनका लागि नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ। ‘विगतमा नेपाल आउने बिहारका पर्यटक यो समस्याका कारण अहिले यता आउनुभन्दा गोवा गइरहेका छ्न्,' उनले भने, 'भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले कोराना भित्रिएला भन्ने डर पाल्नु आवश्यक छैन। गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रन्जेश श्रेष्ठको भनाइ छ।

सीमा क्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए। सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए।

व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत् महसुललगायतका नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।