मुस्ताङमै किलोको हजार रुपैयाँ पर्ने भएपछि खाद्यले च्याङग्रा नल्याउने, निजीको पनि सम्भावना कम

सरला सुवेदी/बिजमाण्डू
२०७८ असोज १ गते १७:०५ | Sep 17, 2021
मुस्ताङमै किलोको हजार रुपैयाँ पर्ने भएपछि खाद्यले च्याङग्रा नल्याउने, निजीको पनि सम्भावना कम

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो बर्ष उपत्यकामा  दसैंका लागि  च्याङग्रा नल्याउने भएको छ। हरेक बर्ष हिमाली भेगबाट किसानसँग खरीद गरेर सहुलियत मूल्यमा च्याङग्रा बिक्री गर्दै आएको थियो।

Tata
GBIME
Nepal Life

च्याङग्रा महँगो भएकाले कम्पनीले नल्याउने निर्णय गरेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालले बताए। चिनियाँ च्याङग्रा नआएको र स्वदेशी महँगो भएको उनले बताए।

कोभिडका कारण गत बर्ष देखी तिब्बतबाट च्याङग्रा नेपाल आएको छैन। स्वदेशी उत्पादनले मात्र  बजारको माग धान्ने अवस्था छैन। अहिले मनाङ र मुस्ताङमै उत्पादन कम छ। उत्पादन कम र माग धेरै हुँदा मूल्य बढेर खरीद गर्न नसकिने भएको कम्पनीले जनाएको छ। 

सुपथ मूल्यमा बिक्री गर्नका लागि कम्पनीले किसानसँग प्रत्यक्ष रुपमा खरीद गर्ने गर्छ।

मुस्ताङमै प्रतिकिलो एक हजार भन्दा बढी मूल्य रहेको च्याङग्रा यहाँ ल्याएर बिक्री गर्न नसकिने खनालले बताए। कम्पनीले खसीबोका २  हजार र च्याङग्रा १ हजार गरेर ३ हजार ल्याउने निर्णय गरेको थियो। अब  २ हजार खसीबोका ल्याउनेछ। दसैंका लागि ५० हजार खसीबोका चाहिन्छ।

 निजी क्षेत्रले च्याङग्रा ल्याउने सम्भावना पनि न्यून 

हरेक बर्ष दसैंको लागि उपत्यकामा मात्र करिब १० हजार भन्दा बढी च्याङग्रा खरिद बिक्री हुँदै आएको थियो । स्वदेशी सँगै तिब्बतबाट च्याङग्रा आउने भएकोले व्यापारीहरुले सहजै खरीद गरेर उपत्यका ल्याउने गरेका थिए।

त्यो बेलामा जिउँदो च्याङग्रा सात सय रुपैयाँमा पाइन्थ्यो। गत वर्ष किलोको ८ सय रुपैयाँ पुग्यो।  

यस अघि करिब ३ हजार च्याङग्रा ल्याउने भनेपनि करिब १५ सय पनि आएको थिएन। यो वर्ष  २ हजार ल्याउने तयारी भएपनि महँगो भएका कारण धेरै आउने सम्भावना कम छ।