उपत्यकामा आजबाट खुले दसैं-तिहार लक्षित सहुलियत पसल, कहाँ कहाँ छन् बिक्री कक्ष ?

बिजमाण्डू
२०७८ असोज १ गते १३:०३ | Sep 17, 2021
उपत्यकामा आजबाट खुले दसैं-तिहार लक्षित सहुलियत पसल, कहाँ कहाँ छन् बिक्री कक्ष ?

काठमाडौं। सरकारले चाडपर्वलाई लक्षित  गरेको  सहुलियत पसल काठमाडौं उपत्यकामा शुक्रबारदेखि सञ्चालनमा आएका छन्। 

Tata
GBIME
Nepal Life

तीन सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गरेका हुन्। असोज १ देखि कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा उपभोक्ताले नुन, तेल, चामल, दाल, चिनी, पिठो, कर्णाली सिमी, मार्सी चामल फापर, घ्यु र पनिर लगायतका खाद्य वस्तु खरिद गर्न पाउने छन्। मूल्यमा पर्वलक्षित छुट निर्धारण गरिएको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाभित्र ४ वटा आउलेटबाट सहुलियत पसल सञ्चालन गरेको छ। साथै कम्पनीले सहकार्य गरेका निजी क्षेत्रका ३ वटा अनलाइन प्लेटफार्ममार्फत पनि खाद्यान्न खरिद गर्न पाइनेछ। बिक्री कक्षमा पुग्नुभन्दा अनलाइनमार्फत खरिद गर्न चाहनेले होम डेलिभरीको सेवा पाउने छन्।

उपभोक्ताले खाद्यका रामशाहपथ, थापाथली, भक्तपुर र नख्खुका आउटलेटबाट दसैंतिहारका लागि निर्धारित छुटसहितको सुपथ मूल्यमा खाद्यान्न खरिद गर्न सक्ने छन्। दसैंका लागि खसीबोका पनि ल्याउने भएको खाद्यले तयारी भइरहेको जनाएको छ। 

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले उपत्यकाभित्र कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुरलगायत ६ वटा स्थानबाट सहुलियत पसल सञ्चालन गरेको छ। साथै कर्पोरेशनले ३ वटा मोबाइल भ्यानबाट घुम्ती सेवा पनि सञ्चालन गर्ने भएको छ।

सहुलियत पसलबाट ग्राहकले जनही नुन ६ केजी र चिनी २  केजी  खरिद गर्ने सक्ने व्यवस्था गरेको छ। उपभोक्ताले  नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७९ रुपैयाँ र अन्य खाद्यान्नहरुको हकमा न्यूनतम मुनाफा राखी प्रतिकेजी ५ देखि १० रुपैयाँ छुट दिइएको कर्पोरेशनले जनाएको छ । 
यो सहित कर्पोरेशनले  देशभर करिब ३२ स्थानबाट पर्वलक्षित सहुलियत दरको पसल सञ्चालन गर्न लागेको सूचना अधिकारी कुमार राजभण्डारीले बताए। 'हामीले उपत्यकाभित्र मात्रै होइन, बाहिर पनि बिक्री कक्ष राख्दैछौं,' उनले भने। बिक्री कक्षहरु बिहान १० बजेदेखि खुल्नेछन्। 

दुग्ध विकास संस्थानले उपत्यकामा ३ वटा स्थानबाट सहुलियत पसल सञ्चालन गर्न लागेको छ। उपभोक्ताले संस्थानको लैनचौर, न्युरोड र खुमलटारको बिक्री कक्षबाट सहुलियत मूल्यमा संस्थानका उत्पादन खरिद गर्न पाउने छन्।  

संस्थानको सबै आयोजना कार्यालयहरुबाट पर्वलक्षित छुटसहितको सेवा उपलब्ध हुने जनाइएको छ। संस्थानले एक लिटर घ्युमा ५०, आधा लिटरमा २५ रुपैयाँ,  पनिर  २ सय ग्राममा ५ रुपैयाँ,  ५ सय ग्राम र एक केजीमा २० रुपैयाँ  छुट दिएको  संस्थान महाप्रबन्धक रुद्रप्रसाद पौडेलले बताए। संस्थानको बिक्रीकक्षसहित खाद्य कम्पनी र साल्ट ट्रेडिङले पनि घ्यु र पनिर बिक्री गर्ने भएका छन्।

यो वर्ष संस्थानले दही, आइसक्रिम लगायतको दुग्धजन्य पदार्थमा भने छुट मूल्यको व्यवस्था गरेको छैन। 

सहुलियत पसलमा कोभिडको मापदण्ड पालना गरी कम भिडभाड हुने गरी सञ्चालन गर्ने कम्पनीहरुले जनाएका छन्।