अन्त:शुल्कको नक्कली स्टीकरमा भैरहवाका धेरै मदिरामा छापा, माउण्ट एभरेष्ट डिस्टीलरी पनि मुछियो

बिजमाण्डू
२०७८ असोज १ गते १२:२६ | Sep 17, 2021
अन्त:शुल्कको नक्कली स्टीकरमा भैरहवाका धेरै मदिरामा छापा, माउण्ट एभरेष्ट डिस्टीलरी पनि मुछियो

बुटवल। अन्त:शुल्कको नक्कली स्टीकर प्रकरणमा अर्को मदिरा उद्योग पनि मुछिएको छ। राजस्व अनुसन्धान कार्यालय बुटवल स्रोतका अनुसार नक्कली स्टीकर प्रयोग गरेको आशंकामा माउण्ट एभरेष्ट डिस्टिलरीले समेत छापा हानिएको छ।

Tata
GBIME
Nepal Life

माउण्ट एभरेष्ट डिष्टिलरीका सञ्चालक प्रविन्द्र गोविन्द श्रेष्ठ हुन्। यो उद्योगको छापा मारेर खातापाता समेत कार्यालयले लिएर गएको छ। स्रोतका अनुसार कार्यालयको अनुसन्धानमा माउण्ट एभरेष्टको समेत संलग्नता देखिएकाले खातापाता जफत गरिएको हो।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसीले केही उद्योगमा छापा मारिए पनि अनुसन्धान पूर्ण नभएकाले सार्वजनिक रूपमा केही भन्न नमिल्ने बताए। 'केही उद्योगमा छापा मारिएको सत्य हो तर अहिले हामी अनुसन्धानमै छौं। यो नसकी केही भन्न मिल्दैन,' उनले बिजमाण्डूसँग भने।

यसअघि नक्कली स्टीकर प्रयोग गरेको भन्दै रुपन्देहीको तिलोत्तमा-१७ मधवलियामा रहेको क्रिष्टल डिष्टीलरीमा छापा हानिएको थियो। ७० युपीका मदिरा उत्पादन गर्ने भैरहवा वरपरका सबै डिष्टीलरीमा कार्यालयले अनुसन्धान नजिकबाट गरिरहेको छ।

गत भदौ ५ गते २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको मदिरामा प्रयोग हुने नक्कली स्टीकर रुपन्देही सशस्त्र प्रहरीले बरामद गरे पनि कार्यालयले अनुसन्धान अघि बढाएको हो। अन्त:शुल्कको नक्कली स्टीकर बरामद भएपछि उद्योगी र कर्मचारी संयन्त्रमा समेत खैलाबैला मच्चिएको थियो।

९ दिन अघि नक्कली स्टीकरको छानबिन र अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दिक्षा स्टोरमा छापा मारेको थियो। त्यहाँबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टारसोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद गरेको थियो। कार्यालयले बरामद गरेको मदिराको नमुना विभागमा थप अनुसन्धानका लागि समेत पठाएको थियो। यही अनुसन्धानका आधारमा कार्यालयले ती उद्योगमा छापा मारेको हो।

भन्सारमा लिची भनेर नक्कली स्टीकर

अन्त:शुल्कको नक्कली स्टीकर लिचीको नाममा भन्सारबाट नेपाल भित्र्याइएको पाइएको छ। एक अनुसन्धान अधिकृतका अनुसार भन्सारमा 'लिची' भनेर नेपाल भित्र्याइएको पाइएपछि भन्सारसम्म पनि अनुसन्धान सोझिएको छ।

'भन्सारबाट यसरी नक्कली अन्त:शुल्क सजिलै कसरी जाँचपास भयो?,' ती अधिकृतले भने, 'त्यो कोणबाट समेत अनुसन्धान थालेका छौं।' मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयको एक जना कर्मचारी नै खटाएको हुन्छ। उसकै निगरानीमा अन्त:शुल्कका स्टीकर बोतलमा टाँसिन्छन्।

त्यसपछि सोही कर्मचारीकै रोहबरमा राजस्व तिर्ने र उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ। कर्मचारीको मिलोमतो विना उद्योगले नक्कली स्टीकर लगाउन नसक्ने उद्योगी बताउँछन्।

नक्कली स्टीकर घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी, मदिरा उद्योगी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतो हुनसक्ने भन्दै अनुसन्धान केन्द्रित गरिएको ती अधिकारीले बताए। सशस्त्र प्रहरी बल बेलहिया-डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्त:शुल्क स्टीकर बरामद गरेको थियो।

लु२च २५० नम्बरको गाडीमा भारततर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा स्टीकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।