आर्थिक गतिविधिले लय समात्दा सरकारको राजस्व संकलन लक्ष्य नाघ्यो

बिजमाण्डू
२०७८ असोज १ गते १५:२५ | Sep 17, 2021
आर्थिक गतिविधिले लय समात्दा सरकारको राजस्व संकलन लक्ष्य नाघ्यो

काठमाडौं। चालु वर्षमा अर्थतन्त्र चलायमान बन्दै गएको छ। कोरोना महामारीका कारण गरिएका लकडाउन र निषेधाज्ञाको ह्याङओभरबाट बाहिर निस्किँदै आर्थिक गतिविधिले लय समातेको देखिन्छ। जसको सकारात्मक असर सरकारको राजस्व असुलीमा परेको छ।

Tata
GBIME
Nepal Life

चालु वर्षको २ महिना सकिदा आयात र आन्तरिक बजार सक्रिय बन्दै गएको सरकारी तथ्यांकले देखाउँछ। दुई महिनाको तथ्यांक हेर्दा आयातमा ह्वातै वृद्धि देखिएको छ। यो अवधिमा सवारी साधन, सुन, तेल, इन्धन प्रमुख वस्तुहरुको आयातमा वृद्धि भएको छ।

भन्सार विभागका अनुसार दुई महिनामै ३ खर्ब भन्दा बढीको आयात भइसकेको छ। व्यवसायीहरुले दसैंतिहार लक्षित सामाग्रीको आयात बढाइरहेका छन्। ट्रेडिङमा आधारित हुने व्यवसायीहरुले सबैभन्दा बिक्रीको महत्वपूर्ण समय दसैंलाई मान्ने गर्दछन्।  

यसैगरी आन्तरिक बजारमा पनि वस्तुको उपभोग विस्तारै बढ्दै गएको देखिन्छ। पछिल्लो २ महिनामा खाद्यन्न, लत्ता कपडा, मदिरा, स्वदेशी उद्योगको उत्पादनको खपत बढ्दै गएको छ। आर्थिक गतिविधि चलायमान बन्दा सरकारले राजस्व संकलनमा सफलता हात पारेको छ।भदौ महिनामा सरकारको राजस्व संकलनको लक्ष्य नाघेको छ। भन्सार महसुल र आन्तरिक राजस्व दुवैमा राजस्व संकलनको लक्ष्य नाघेको हो।

आन्तरिक राजस्व विभागले भदौ महिनामा पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ। साउन महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको विभागले भदौ महिनामा पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको हो। 

भदौमा विभागले २७ अर्ब ५१ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा ३ अर्ब २३ करोडले बढी हो। यसैगरी साउन महिनामा विभागले ३४ अर्ब २४ करोड लक्ष्यमा ७७ अर्ब ८५ करोड राजस्व संकलन भएको थियो। 

आन्तरिक राजस्वमा आयकरतर्फ ९ अर्ब १९ करोड लक्ष्य लिइएकोमा ११ अर्ब ५० करोड संकलन भएको छ। यो लक्ष्यभन्दा २५.१५ प्रतिशतले बढी हो। मूल्य अभिवृद्धि कर (भ्याट)मा भने सरकारले लक्ष्य भेट्न सकेन। भदौ महिनामा ८ अर्ब ३९ करोड लक्ष्य लिएको भ्याटमा ७ अर्ब ६८ करोड संकलन भएको छ। यो लक्ष्यभन्दा ८.४६ प्रतिशतले कम हो। यसैगरी पछिल्लो समय मदिरा व्यवसाय वृद्धि हुँदा अन्तःशुल्क संकलनमा पनि वृद्धि भएको छ। 

सरकारले लकडाउन खुला गरेपछि होटल तथा रेष्टुरेन्ट सञ्चालन भएसँगै मदिराको कारोबारमा सुधार आएको हो। साउनमा लक्ष्य नाघेको अन्तःशुल्क संकलनले भदौमा पनि वृद्धि कायम राखेको छ। यो महिनामा अन्तःशुल्क शीर्षकमा ५ अर्ब ३० करोड ७ अर्ब १८ करोड राजस्व संकलन भएको छ। यो लक्ष्यभन्दा ३५.४५ प्रतिशतले बढी हो। 

घरभाडा कर, ब्याजकर, शिक्षा कर शीर्षकमा भने राजस्व लक्ष्य पूरा भएको छैन। तर स्वास्थ्य सेवा शुल्कमा भने विभागले लिएको लक्ष्यभन्दा १ सय ६५ प्रतिशतले बढी संकलन भएको छ। यो महिना स्वास्थ्य सेवातर्फ १३ करोड २९ लाख शुल्क कर असुल गर्ने लक्ष्य थियो। 
३५ करोड २६ लाख राजस्व संकलन भएको छ। विभागले २ महिनामा ६५ अर्ब ६३ करोड राजस्व स्कलन गरेको छ। यो २ महिनाको लक्ष्यभन्दा १२.१८ प्रतिशतले बढी हो। 

यस्तै राजस्व संकलन गर्ने अर्को महत्वपूर्ण निकाय भन्सार विभागले पनि राजस्व संकलनमा लक्ष्यभन्दा बढी संकलन गरेको छ। भदौ महिनामा विभागले ४१ अर्ब २३ करोड राजस्व संलन गर्ने लक्ष्य लिएकोमा ४६ अर्ब ३४ करोड राजस्व संकलन भएको छ। २ महिनामा भन्सार विभागले ८७ अर्ब ५१ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा १५ अर्ब ७१ करोड बढी संकलन भएको हो। चालु वर्षको सुरुवाती महिनादेखि नै आयातमा वृद्धि भइरहेको छ। २ महिनामै ३ खर्बभन्दा बढी मूल्य बराबरको आयात भइसकेको भन्सार विभागले जनाएको छ।  

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार कुल राजस्व १ खर्ब ४८ अर्ब ५६ करोड संकलन भएको छ। यो संकलन लक्ष्यको १४.६४ प्रतिशत हो। यसैगरी गैरकर राजस्व शीर्षकमा २० अर्ब राजस्व संकलन भएको छ। सरकारले २ महिनामा कुल प्राप्ति १ खर्ब ८४ अर्ब ७४ करोड छ।