वीरगंज नाकाबाट दसैंतिहार बजारलक्षित मालसामानको बढ्यो आयात, दैनिक ८ सय गाडी भित्रिदै

बिजमाण्डू
२०७८ असोज १ गते १०:५५ | Sep 17, 2021
वीरगंज नाकाबाट दसैंतिहार बजारलक्षित मालसामानको बढ्यो आयात, दैनिक ८ सय गाडी भित्रिदै



वीरगंज। नजिक आएका ठुला चाडपर्वहरु दसैं र तिहारको बजारलक्षित मालवस्तुको आयात बढेको छ। गत भदौदेखि आयात बढेको हो।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसीपीका अनुसार अहिले दैनिक करिब ८ सयवटा मालवाहक सवारीसाधन नेपाल भित्रिदै छन्। उपभोग्य सामाग्रीसँगै उद्योगका लागि कच्चा पदार्थ भित्रिने परिमाण बढ्दै छ। जबकी पछिल्लो दुई वर्षको कोरोना महामारीको कारण असारसम्म निषेधाज्ञा हुँदा दैनिक मुस्किलले ३ सय गाडी भित्रिन्थ्यो।

आइसीपी शाखा वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार आयात परिमाण बढेको पाइएको छ। अहिले एलपी ग्यास, डिजेल, पेट्रोल, सनफ्लावर, सोयाबिन, पामको कच्चा तेल(क्रुड आयल), कार, जिप, भ्यान, ट्रकको च्यासिस, खाद्यान्न सामाग्री, ड्राइ फ्रुट्स्, कस्मेटिक, ट्रेडिङ, मेसिनरी तथा हार्डवेयर, लत्ताकपडाजन्य वस्तुलगायतको आयात ह्वातै बढेको छ।

औद्योगिक कच्चा पदार्थमा फलाम, क्लिंकर, बिलेट, फलाइ एस, जिप्समलगायतको आयात पनि बढेको देखिएको छ। उनका अनुसार चालु आवको साउन र भदौ महिनामा मात्रै वीरगंज भन्सार मातहतको पुरानो वीरगंज भन्सार र आइसीपी गरी दुई नाकाबाट ४६ हजार ३ सय ६५ वटा सवारी साधन भित्रिएका छन्। 

जसमध्ये एलपी ग्यासको बुलेट २ हजार ४ सय २३, पेट्रोल ट्यांकर ३ हजार ५१ वटा, डिजेल ट्यांकर १८ वटा, ट्रकको नयाँ च्यासिस २३, नयाँ जिप, कार ८८ वटा, ट्रयाक्टर २८ वटा र मालसमान बोकेको ४० हजार १ सय ७६ वटा सवारी साधन भित्रिएको रेकर्डमा छ।

त्यसैगरी, नेपालबाट भारततर्फ रिफाइन तेल, डाबर नेपालको उत्पादन, धागो तथा अन्य समान लिएर जाने सवारी साधनको सख्या ६ हजार ४९ वटा छ।