बिजुलीको बजार खोज्दै कुलमान भारतमा, तर उद्योगीले बिजुली माग्दै दिएको निवेदनको खातैखात

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ असोज १ गते ०५:५३ | Sep 17, 2021
बिजुलीको बजार खोज्दै कुलमान भारतमा, तर उद्योगीले बिजुली माग्दै दिएको निवेदनको खातैखात


विराटनगर। सुनसरीको पशुपति आइरनले स्पन्ज आइरन र स्क्रयाप प्रयोग गरेर मेल्टिङ युनिटबाट फलामे डन्डी उत्पादन गर्न थालेको एक वर्ष पूरा भइसकेको छ। तर पनि यस उद्योगले मागेजति विजुली नेपाल विद्युत प्राधिकरणबाट अझै पाएको छैन।

Tata
GBIME
Nepal Life

पशुपति आइरनले भनेका समयमा बिजुली पाएको भए २०७६ को वैशाखदेखि नै मेल्टिङ युनिट सञ्चालनमा ल्याइसकेको हुन्थ्यो। तर प्राधिकरणका ढिलाइले विद्युत पाउन एक वर्ष कुर्नुपर्‍यो।

पशुपतिको मेल्टिङ युनिट २०७७ को असारदेखि मात्र सुरु भयो। त्यसमा पनि उद्योगले मागेजति विद्युत् अझै पाएको छैन। उद्योगका सञ्चालक अशोक मुरारकाका अनुसार उद्योगले २०७६ को सुरुमै पाऊँ भन्दै २५ मेगावाट बिजुलीको माग गरेको थियो। जसमध्ये २०७७ मा १० मेगावाट पायो। प्राधिकरणले दोस्रो पटक २०७८ को भदौ अन्तिम हप्तामा १० मेगावाट उपलब्ध गरायो। अझै ५ मेगावाट पाउन बाँकी छ।

उद्योगी मुरारकाले भने, ‘पर्याप्त बिजुलीका अभावमा हामी अझै हाइड्रो लगायतका संरचनालाई चाहिने ५०० डी स्तरका, रिफाइन्ड र अति बलिया फलामे डन्डीको उत्पादन गर्न सकिरहेका छैनौं। यो बिजुली पाउन अझै एक वर्ष कुर्नुपर्छ जस्तो छ।’ हुलास वायर महाप्रबन्धक मुकेश कोठारीले आफ्नो उद्योगले पनि मेल्टिङ युनिट सञ्चालन गर्न प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि निवेदन दिएको बताए।

महाप्रबन्धक कोठारीका अनुसार उद्योगले भनेजति विद्युत् पाउने हो भने ढिलोमा ६ महिनाभित्र मेल्टिङ युनिट सञ्चालन गर्न सकिन्छ। तर प्राधिकरणबाट सकारात्मक संकेत आइरहेको छैन। रिलायन्स स्पिनिङका सञ्चालक अक्षय गोल्यानले आफ्नो उद्योगले क्षमता विस्तारको काम धमाधम गरिरहेको हुँदा तत्काल थप ऊर्जा चाहिएको स्पष्ट पारे।

रिलायन्सले अहिले दैनिक ९५ टन धागो उत्पादन गरिरहेको छ। प्राधिकरणले तत्काल विद्युत् उपलब्ध गराए आगामी सन् २०२२ को सुरुमै थप २५ टन उत्पादन गरिनेछ। पूर्वका उद्योगको मात्रै होइन देशभरका उद्योगीको यही समस्या छ। उद्योगले बिजुली मागेका निवेदनको खातैखात छ। तर ती उद्योगले कहिलेसम्म मागेजति ऊर्जा पाउने भन्ने टुंगो छैन। कुलमानले ती निवेदनलाई ध्यान समेत दिएका छैनन्।

एकातिर माग भन्दा बढी बिजुली उत्पादन भएर खेर गइरहेको छ अर्कोतिर मागेको जति पनि दिन प्राधिकरणले सकेको छैन। अझ बिजुलीको बजार खोज्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारत दौडिरहेका छन्। ‘कुलमान किन बजार खोज्दै दौडिरहनुभएको छ हामी नै आश्चर्यचकित छौं,’ एक उद्योगीले भने, ‘पहिला आफ्नै देशमा कसले कति बिजुली मागिरहेका छन्, त्यो हेरेर पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा उल्टो बाटो लागिरहेका छन्।’

पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका कुलमानले दोस्रो कार्यकालमा आफ्नो बजारको माग पुर्‍याउनेतर्फ ध्यान नै नदिएको ती उद्योगी बताउँछन्। ती उद्योगीका अनुसार कुलमानले उद्योगीका समस्यालाई खासै ध्यान नै दिएका छैनन्।

'प्राधिकरण भनेको आफ्नो उत्पादन बेच्ने हो। तर कुलमानले पहिलो कार्यकालमा सधैं उद्योगी व्यवसायीका मागलाई वेवास्ता गर्नुभयो। लोडसेडिङ हटाएका कारण जनताका बीचमा लोकप्रिय भएकै कारण हामीले आलोचना समेत गर्न सकेनौं,' ती उद्योगीले भने, 'दोस्रो कार्यकाल नियुक्त भएपछि पनि त्यही रबैया ठीक हुँदैन। अब बिजुली बेच्न उद्योग उद्योग पुगेर समस्या समाधान गरे मात्रै उहाँ सफल हुनुहुन्छ। होइन भने उनी असफल बन्नेछन्।' 

के  हो समस्या ? 
पूर्वमा भएको विद्युत् प्रसारण लाइनका पुराना संरचना अनि स्टेसन र सब स्टेसनमा भएका जीर्ण र कम क्षमताका ट्रान्सफरमर लगायतका कारणले प्राधिकरणले यहाँका उद्योगले मागेजति बिजुली अझै दिन नसकेको हो।

प्राधिकरणका प्रदेश नम्बर १ का प्रमुख राजन ढकालका अनुसार मोरङ-सुनसरी औद्योगिक क्षेत्रका उद्योगमा मात्र आजका दिनमा कम्तीमा ५० मेगावाट बिजुलीको माग छ। तर पर्याप्त पूर्वाधार र भौतिक संरचनाका अभावले वितरण गर्न सकिएको छैन। प्रमुख प्रदेश ढकालले भने, ‘पशुपति आइरनलाई अझै ६ एमभिए बिजुली चाहिएको छ। तर अहिले वितरण गर्नसक्ने अवस्था छैन।’

‘पशुपति आइरनको ६ एमभीए विद्युत्‍को माग त थाती नै छ,’ प्राधिकरणका प्रदेश प्रमुख ढकालको भनाइ छ, ‘एक महिनापछि सञ्चालनमा आउन लागेको स्वस्तिक आइरनले १० एमभिए मात्र पाएको छ, बाँकी ६ एमभीए मागेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले १० एमभीए पाएको छ, थप ४ एमभीए मागेको छ। हुलास वायरले थप १५ एमभिए मागेको छ । त्यस्तै मोरङको आरती स्ट्रिप्सले १० एमभिए पाएको छ र अझै ८ एमभीएको माग गरेको छ। ५ एमभीएभन्दा कम माग्ने अरू केही उद्योग पनि छन्।’

मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा सुनसरीको दुहबीस्थित सब-स्टेसनबाट आपूर्ति गरिन्छ। हाल दुहबीस्थित सब-स्टेसनमा ६३ एमभीएका ३ वटा र ३० एमभीएको १ ट्रान्सफर्मर सञ्चालनमा छन्। यसरी दुहबीबाट कुल २ सय १९ एमभीए क्षमताका ट्रान्सफरमरबाट पूर्वका २ जिल्लामा विद्युत् वितरण भइरहेको छ।

ढकालले भने, ‘दुहबीका ६३ एमभीएका ३ वटै ट्रान्सफर्मरलाई १ सय ५ एमभिएमा रूपान्तरण गर्न ठेक्का लागिसकेको छ। तर कोभिडको महामारीका कारण काम ढिलो भइरहेको छ,’ उनले थपे, ‘तत्कालका लागि त्यहाँको ३० एमभीएको ट्रान्सफर्मरलाई ६३ एमभीएमा परिणत गरे पनि केही माग धान्न सकिन्छ । तर यो अन्तरिम व्यवस्था मात्र हुन्छ।’

प्रमुख ढकालका भनाइमा दुहबीका ट्रान्सफर्मर फेरेर मात्र पुग्दैन, यस क्षेत्रको विद्युत् प्रसारणका सबै संरचनालाई स्तरोन्नति गर्नुपर्छ। ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि लोड बढ्छ। त्यसका लागि अहिले भइरहेको तारका सट्टामा मोटो तार टाँग्नुपर्छ। इन्सुलेटर, टी च्यानल, बिजुलीका पोल सबै बढी क्षमताका राख्नुपर्छ। अनि मात्र वितरण सहज हुनसक्छ। 

उनले मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौनमा १ सय ३२ केभिए लोडका ६३ एमभिएका २ वटा ट्रान्सफर्मर राख्ने काम भइरहेको सुनाए। यसपछि केरौन र त्यहाँको आसपासको क्षेत्र पनि औद्योगिक इलाका बन्न सक्ने अनुमान गरिएको छ। उनले सुनसरीको बर्जु गाउँपालिकामा पनि प्राधिकरणले १ सय ३२ केभिए लोडका ६३ एमभीएका २ वटा ट्रान्सफर्मर जडान गर्ने काम भइरहेको जानकारी दिए।

बर्जु गाउँपालिकाको काम सकिएपछि र सबै संरचनाको स्तरोन्नति र रूपान्तरण भइसकेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगमा कम भोल्टेज आउने र ट्रिपिङ हुने समस्याको अन्त हुने दाबी उनले गरे। तर यसका लागि कम्तीमा दुई वर्ष लाग्ने उनको जिकिर छ।