चाडपर्व नजिकिएसँगै महँगिए दैनिक उपभोग्य वस्तु, खपत बढ्ने बेला मूल्यमा मनपरी!

सरला सुवेदी/बिजमाण्डू
२०७८ भदौ ३१ गते २१:१४ | Sep 16, 2021
चाडपर्व नजिकिएसँगै महँगिए दैनिक उपभोग्य वस्तु, खपत बढ्ने बेला मूल्यमा मनपरी!

काठमाडौं। चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको घुइँचो बढेको छ। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य पनि क्रमिक बढ्न थालेको छ।

Tata
GBIME
Nepal Life

सबैभन्दा बढी खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य बढ्न थालेको हो। लगातारको वर्षाले तरकारीको भाउ बढेकै छ, बिभिन्न प्रकारका खाद्यान्नमा पनि मूल्य पनि अकासिन थालेपछि उपभोक्तालाई मर्का परेको छ। अन्य समयको तुलनामा दसैंतिहारमा खाद्यान्नको माग र कारोबार धेरै  हुन्छ। यहीबेला व्यवसायीले आफूखुसी मूल्य बढाउन थालेका हुन्।

चामल-दालदेखि मरमसलालगायत सबै प्रकारका वस्तुमा मूल्यवृद्धि भएको छ। चामल बोरामा ५० रुपैयाँले बढेको छ। एक सय रुपैयाँले बढेर सूर्यमुखी तेल प्रतिकार्टुन २४ सय ५०, भटमास २३ सय ५० र तोरी २१ सय ५० रुपैयाँ भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ।  सबै प्रकारका दालमा पनि प्रतिकेजी १० देखि २० रुपैयाँ बढेको छ। 

कतिपय थोक बिक्रेताहरु उत्पादक र आयातकर्ता फर्मबाटै मूल्य बढेर आएको दाबी गर्छन्। किन बढ्यो भन्दा आयातकर्ताले ढुवानी महँगो परेको जवाफ दिने गरेका छन्। कतिपय वस्तुमा भने थोकमा खासै मूल्यवृद्धि नभए पनि खुद्रा व्यवसायीले बढाएर बजार बिगारेको आरोप लगाउँछन्। 

चाडपर्वको समयमा खाद्यान्नको मूल्य बढ्न नहुने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए। 'अहिले बजारमा चामलदेखि नुन-तेलको मूल्य बढ्न थालेको छ। यो बेला मूल्य घटाएर बिक्री गर्ने हो, आफूखुसी बढाउने होइन,' उनले भने। 

कसरी मूल्य बढ्यो भन्ने साना व्यवसायीहरुलाई थाहा नहुने दाबी उनको छ। बजार अनुगमन राम्रो नहुँदा अस्वाभाविक मूल्यवृद्धि भएको उनको भनाइ छ। 

चाडपर्वमा सहज सुपथ मूल्यमा गुणस्तरीय खाद्यान्न बिक्री गर्नुभन्दा पनि व्यवसायी एकैचोटी बढी नाफा कमाउने ध्याउन्नमा रहेको देखिएको छ। दुई साता अघि पनि केही खाद्यवस्तुको मूल्य बढेको थियो। पछि थोरै थोरै घट्न नपाउदै पुनः बढ्न थालेको छ। 

चाडपर्वको समयमा बर्सेनि खाद्यान्नको मूल्यवृद्धि हुने गरेको नेपाल वितरक संघका पूर्वअध्यक्ष दुर्गाराज श्रेष्ठले बताए। 'अहिले बजारमा १० प्रतिशतसम्म खाद्यान्नको मूल्यवृद्धि भइसकेको छ। 

तेलमा एक महिनामा लिटरमा ३० रुपैयाँसम्म बढेको छ भने चामल प्रतिबोरा ५० रुपैयाँभन्दा बढी पर्न थालेको छ,' उनले भने, 'चाडपर्वको समयमा  खपत बढ्ने भएकाले माग र सप्लाइका कारण मूल्य बढ्नु अस्वाभाविक पनि होइन। अहिले ढुवानी खर्च बढ्दाको असर बिक्री मूल्यमा परेको छ।'  

खाद्यान्नमा मूल्यवृद्धि दिनहुँ हुन थालेको व्यवसायी ओमप्रकाश मोरले बताए। 

'हाम्रो बजारमा बाहिरबाट आउने खाद्यान्नको भाउ व्यापारीले बढाएर मात्रै बड्ने होइन। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको असर पर्छ, जहाज भाडा, कन्टेनरको समस्याका कारण पनि बढेको खर्च खुद्रा बिक्री मूल्यसम्म पर्छ,' उनले भने, 'कन्टेनर भाडा तीन गुणासम्म बढेको छ। माल नै नआउने अवस्था छ। तीन महिनादेखि दालको मूल्य लगातार बढ्दै ६ सय डलरबाट एक हजार डलर पुगेको छ।' 

केही खाद्यवस्तुमा चाडपर्वमा आएर मूल्य बढेको नभइ लागत बढी पर्दा असर परेको उनले दाबी गरे।  

दालहरुको दैनिक मूल्य घटबढ भइरहेको छ। केही सातायता खाद्यवस्तुमा प्रतिकेजी २० रुपैयाँसम्म मूल्य बढेको किराना व्यवसायी प्रकाश भण्डारीले बताए। 'थोकमै मूल्य बढेर आएको छ,' उनले भने।

बजारमा चामलको मूल्य करिब एक महिना अघिनै बढेको व्यवसायीहरुले बताएका छन्। जिरा मसिनो चामलमा बोरामा एक सय रुपैयाँसम्म बढेको छ भने तेलको मूल्य कार्टुनमा ५० देखि एक सय रुपैयाँसम्म बढेको छ। यतिबेला मूल्य घट्ने समय हो तर पनि बढिरहेको उनको भनाइ छ।

दसैंमा अधिकांश खाद्यान्नको भाउ बढ्ने नेपाल खुद्रा किराना व्यवसायी संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले बताए। 'अहिले नै कतिपयको मूल्य बढिसकेको छ। दसैं-तिहारमा बढी खपत हुने तेल, चामल, चिनीको मूल्य अझ बढ्न सक्छ,' उनले भने, 'दाल प्रतिकेजी १० देखि २० रुपैयाँसम्म बढेको छ। आयातकर्ता र उत्पादकले आफूखुसी मूल्य लिएका हुन् भने अनुगमन हुनुपर्छ।'  

बजारमा खाद्यान्नको मूल्य बढ्नुको कारण उत्पादक तथा आयातकर्तामा धेरै भर पर्ने भनाइ थोक तथा खुद्रा व्यासायीहरुको छ। मूल्य माल पठाउँदा सरकारको नियमन गर्ने निकाय चुपचाप बसेर साना व्यवसायीलाई मात्रै दुःख दिने गरेको आरोप उनीहरु लगाउँछन्। स्टक पर्याप्त भए पनि माग धेरै हुँदा कालोबजारी पुरानो समस्या हो। अत्यावश्यक वस्तु भएकाले उपभोक्ताले खाद्यान्नको किनमेलमा मोलतोल गर्दैनन्, जसले गर्दा सर्वसाधारणलाई महंगीको मार परेको छ।