मेलम्ची खानेपानीका लागि एक अर्ब, तर रकम विनियोजन भने बनिसकेको पानी प्रशोधनमा

बिजमाण्डू
२०७८ भदौ ३१ गते १६:४१ | Sep 16, 2021
मेलम्ची खानेपानीका लागि एक अर्ब, तर रकम विनियोजन भने बनिसकेको पानी प्रशोधनमा

काठमाडौं। बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनालाई सरकारले तत्कालै काम सुरु गर्न १ अर्ब रुपैयाँ दिएको छ। आयोजनाले असार १ गतेपछि आएको बाढीले क्षतिग्रस्त बनेका संरचना निर्माणका लागि साढे दुई अर्ब रुपैयाँ मागेको थियो।

Tata
GBIME
Nepal Life

तत्कालै काम सुरु गर्न अर्थमन्त्रालयले १ अर्ब रुपैयाँ दिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) राजेन्द्रप्रसाद पन्तले बताए।

'अर्थले पानी प्रशोधन केन्द्र निर्माण शीर्षकमा १ अर्ब छुट्याएर दिएको रहेछ। पानी प्रशोधन केन्द्र बनिसकेको छन्। मेलम्चीका लागि छुट्याइएको बजेट गल्ती भएर त्यता परेको हो,' उनले भने, 'हामी त्यसैका लागि आज अर्थ मन्त्रालयमा छौं।'  

मेलम्ची खानेपानी आयोजनाबाट दैनिक रूपमा आउने १७ करोड लिटर पानी प्रशोधनका लागि सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरिएको छ। जापान सहयोग नियोग (जाइका) को सहयोगमा ८.५ / ८.५ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण गरिएको हो।

पन्तका अनुसार बर्खा सकिने वित्तिकै आयोजना पुनःनिर्माणको काम सुरु हुनेछ। अहिले वर्षा भइरहेकाले खोलाको बहाव बढ्ने र पहिरो जाने जोखिम रहेकाले काम सुरु गर्न नसकिएको हो। हेलम्बु गाउँपालिकाले आयोजनास्थलसम्म पुग्ने वैकल्पिक सडक बनाइरहेको छ। उक्त सडक समेत एक महिनाभित्र तयार गर्ने लक्ष्य छ।

मेलम्चीमाथि भेम्राथाङमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुर्‍याएको थियो। कामदार बस्ने क्याम्प, इक्विपमेन्ट लगायतका बगाएका छ। आयोजनामा सम्म पुग्ने ६ किलोमिटर सडक बगाएको छ। तीन बेलिब्रिज र दुई पक्की गरी पाँचवटा पुल बगाएको छ। 'सबै पुनःनिर्माणको कामका लागि साढे दुई अर्ब जति लाग्ने अनुमान गरिएको छ। हामीले मात्रै होइन सडक विभाग, सेना, स्थानीय लगायत धेरै निकायले गर्नुपर्ने काम छ,' उनले भने। 

उनका अनुसार सबै संरचना तयार पार्न करिव तीन वर्ष लाग्नेछ। तर अस्थायी संरचना बनाएर चैतसम्म पानी ल्याउने अधिकतम प्रयास हुनेछ। बर्खा कम हुने वित्तिकै क्याम्प बनाएर काम सुरु गर्ने आयोजनाले तयारी गरेको छ।