व्यवसायिक कम्प्लेक्ससहित होटल मल्ल नयाँ स्वरुपमा आउँदै, ८० कोठा भएको पाँच तले भवन छुट्टै बन्दै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ भदौ ३१ गते १५:३४ | Sep 16, 2021
व्यवसायिक कम्प्लेक्ससहित होटल मल्ल नयाँ स्वरुपमा आउँदै, ८० कोठा भएको पाँच तले भवन छुट्टै बन्दै

काठमाडौं। ६० करोड रुपैयाँ लगानीमा व्यवसायिक कम्प्लेक्ससहित होटल मल्ल नयाँ स्वरुपमा संचालनमा आउने भएको छ। ४६ वर्ष अघि स्थापना भएको यो होटलको पुरानो संरचनालाई रेनोभेट गरिएको छ।

Tata
GBIME
Nepal Life

रेनोभेसनका लागि दुई वर्षदेखि बन्द रहेको होटल आगामी फेब्रुअरीमा संचालनमा आउँदैछ।

होटलको खाली जमिनमा दुई वटा विङ्स निर्माण गरिँदैछ। एउटा पाँच तल्ले संरचनामा व्यवसायिक कम्प्लेक्स निर्माण हुनेछ भने अर्को पनि पाँच तले भवनमा होटलको ८० रुम रहनेछ।

व्यवसायिक कम्प्लेक्स अर्को वर्ष संचालनमा आउने र होटलको रुम भने तीन वर्षपछि मात्रै संचालनमा ल्याउने गरी निर्माणको काम अघि बढाइएको छ। पछिल्लो दिनमा हस्पिटालिटी क्षेत्रमा विश्व प्रसिद्ध चेन होटल स्थापना हुन थालेपछि पुराना होटललाई समेत संरचना परिवर्तन गर्न दबाब परेको हो।

यो होटल तात्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जबराका छोरी रमाकुमारी मल्लको हो। अहिले छोरा संजय मल्लले यो होटलको व्यवस्थापन हेर्दै आएका छन्। होटलका महाप्रबन्धक केभिन माले नयाँ शैली र अवधारणासहित होटलको रेनोभेसन र क्षमता विस्तारको काम भइरहेको बताए।

'यो होटलले लामो इतिहास बोकेको छ। होटलको जुन छवि छ, त्यसलाई कायम राख्दै रेनोभेसनको काम गरिरहेका छौं,' उनले बिजमाण्डूसँग भने।

होटलको रेनोभेसनको काम ८५ प्रतिशत सकिइसकेको छ। होटलमा एक सय २५ वटा कोठामध्ये चार सुइट रुम रेनोभेट हुन बाँकी छ। होटलको हरेक कोठामा रहेका फर्निचर, एमिनिटिज परिवर्तन गरिसकेको महाप्रबन्धक माले जानकारी दिए।

उनका अनुसार बाँकी १५ प्रतिशत सरसफाइ र 'फाइनल टच' दिने काम बाँकी छ।

होटलमा रहेको मल्ल प्लाजा, तारा लगायत इभेन्ट हलहरुको रेनोभेसन सकिसकेको उनले बताए। होटल पछाडि रहेको ओपन स्पेसको पूर्वपट्टी कुनामा 'एवेरी रेष्टुरेन्ट' संचालनमा ल्याइने उनले बताए। यस अघि त्यहाँ चराचुरुङ्गी र जनावर राखिएको थियो।

'पहिला एवेरीमा चराचुरुङ्गी र जनावर राखिएको थियो। उनीहरुलाई स्वतन्त्र छाडेर अब एवेरीकै नामसहितको रेष्टुरेन्ट संचालनमा ल्याइनेछ,' उनले भने। यो होटलमा अन्नपूर्ण होटलको जस्तै कफी शप पनि तयार भइसकेको छ।

एवेरी रेष्टुरेन्टकै छेउमा तीन सय ५० जना क्षमताको ब्यांकेट हल निर्माण गर्न लागिएको उनले जानकारी दिए। २४ सय स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गर्न लागिएको ब्यांकेट फ्रेबुअरी अगाडि नै तयार भइसक्नेछ।

२४ रोपनीमा रहेको होटलमा अहिले एक सय २५ वटा कोठा छ। पाहुना सहजतालाई मध्यनजर गर्दै होटलको प्रांगणमै ८० वटा चार पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको हाइड्रोलिक अण्डरग्राउण्ड पार्किङको निर्माण सुरु भइसकेको छ। यस अघि पार्किङमा १५ वटा मात्र गाडी अट्ने क्षमता थियो।

कोभिडले जुराइदिएको २७ वर्ष पछिको रेनोभेसन

कोभिड-१९ संक्रमण सुरु भएपछि होटल व्यवसाय पूर्ण रूपमा ठप्प भयो। होटल व्यवस्थापनले रेनोभेसनसँगै क्षमता विस्तार गर्ने योजना बनायो।

'त्यतिखेरै हामीले लकडाउनको समयलाई नै सदुपयोग गर्ने निष्कर्षमा पुग्यौं। पहिलो लकडाउनमा खाका तयार गर्‍यौं। पहिलो लकडाउन खुलेसँगै काम सुरु गर्ने योजना बनाए पनि दोस्रो लहर सुरु भइहाल्यो,' महाप्रबन्धक माले भने,'सकारात्मक सोच राख्दै हामीले रेनोभेसनको काम सुरु गरिसकेका थियौं।'

सन् १९७५ मा निर्माण भएको यो होटलको पहिलो रेनोभेसन सन् १९९४ मा भएको थियो। होटल रेनोभेसन र व्यवसायिक कम्प्लेक्सको काम डिजाइन सेलले गरेको हो।

आन्तरिकलाई पनि प्राथमिकता

फेब्रुअरीमा होटल संचालनमा आएपछि आन्तरिक पर्यटकलाई समेत प्राथमिकतामा राखिने महाप्रबन्धक माले बताए। उनले पछिल्लो समयमा आन्तरिक पर्यटन नै मेरुदण्ड बनेको बताउँदै त्यही भएर प्राथमिकतामा राखेर योजनाहरु ल्याउने जानकारी दिए।

'अहिले नेपाली पर्यटक नै बढी खर्चालु छन्। कोभिडपछि कतिपय होटल त्यही पर्यटकका कारण टिकेका छन्,' उनले भने, 'पाँचतारे होटल धेरै महँगो छ भन्ने भ्रम पनि हटाउनु पर्नेछ।'

अन्तर्राष्ट्रिय चेन होटल आएपनि आफ्नै इतिहास बोकेको मल्ल होटलले थप मौलिक सेवा विस्तार गर्दै लैजाने माले बताए।

होटलमा आउने पाहुनाले खाना, बसाइसँगै प्रत्यक्ष रूपमा नेपाली संस्कृति र परम्पराको अनुभव लिन सक्ने उनले जानकारी दिए। ' पाहुनालाई लोकल मार्केट घुमाउँर्छौँ। उहाँहरुको इच्छा अनुसारको नेपाली परिकार बनाउनका लागि बजारबाटै समाग्री ल्याउने व्यवस्था हुन्छ। यहाँ आएपछि यहाँको सेफ सँगै कुकिङ क्याम्पमा सहभागी पनि गराइनेछ,' उनले भने।

पछाडि पट्टिको बगैंचामा पाहुनाले पट्री (माटो भाँडो बनाउन)मा सहभागी हुन सक्ने उनले जानकारी दिए। पाहुनाको सेवा सुविधालाई विस्तार गर्दै होटलले आफ्नै बगैंचामै ध्यान कक्ष, ट्रेकिङ, ट्राभलबाट होटलमा आउने पाहुनाका लागि भवन छेउमै फ्री लेग मसाजको सुविधा दिने माले बताए।

होटलले पर्यावरणमैत्री सामाग्री प्रयोगलाई प्राथमिकता दिने भएको छ। ग्लास बोटलको प्रयोगलाई हटाउने महाप्रबन्धक माले जानकारी दिए। यसैगरी रुमको बाथरुममा प्रयोग हुने स्याम्पु बोटल, बडी लोसन बोटल पनि रियुजेवल बोटल समावेश गरिने उनले बताए।

पुरानै कर्मचारीलाई निरन्तरता

दुई वर्षदेखि आधारभूत तलब लिएर बसेका सबै कर्मचारीलाई होटलले पुन: काममा फर्काउने योजना बनाएको छ। २५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका कर्मचारीलाई पुनः काममा फर्काउने योजना रहेको महाप्रबन्धक माले जानकारी दिए।

'होटलमा पहिलैदेखि कार्यरत दुई सय ५० जना जनशक्तिलाई नै पुनः काममा फर्काउनेछौं। हामीले यस्तो महामारीका बेला पनि व्यवस्थापनको तर्फबाट एक जना कर्मचारीलाई पनि निकालेका छैनौं। होटल संघ र कर्मचारी ट्रेड युनियनबीच भएको सम्झौता अनुसार आधारभूत तलब दिँदै आएका छौं,' उनले भने।

उनका अनुसार हाल होटलमा हाउस किपिङ, इन्जिनियर, विभागीय प्रमुख लगायत २५ जना जनशक्ति परिचालित छन्।

बुकिङ आउन थाल्यो

फेब्रुअरीबाट होटल संचालनमा आएपछि बुकिङ समेत आउन थालेको महाप्रबन्धक माले बताए। उनका अनुसार पहिला यही होटलमा बसेका विभिन्न देशका पर्यटकले बुकिङका लागि सोधखोज गरेका छन्।

'पछिल्लो समय धमाधम इन्क्वाइरी र बुकिङ आउन सुरु भइसकेको छ,' उनले भने।