कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन, ‘रोजगारी सिर्जना गर्छ’

बिजमाण्डू
२०७८ भदौ ३१ गते १३:०१ | Sep 16, 2021
कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन, ‘रोजगारी सिर्जना गर्छ’


काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निर्देशन दिएका छन्। कोषको ६० औं वार्षिकोत्सव समारोहको 'भर्चुअल' उद्घाटन गर्दै उनले सञ्चयकर्ताको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउँदा राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए। 

Tata
GBIME
Nepal Life

‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ,' उनले भने। सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्ने उनको भनाइ थियो। 

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई  सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। 

सञ्चय कोषको आर्थिक वर्ष २०७७/७८ सम्म कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ।  

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले दुई पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ। सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा २ लाख  प्रदान गर्छ।