राष्ट्र बैंकको सीसीडी खारेजी र सरकारले खर्च नगरेर निक्षेपको ब्याज दोहोरो अंकमा

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७८ भदौ ३१ गते ०९:२९ | Sep 16, 2021
राष्ट्र बैंकको सीसीडी खारेजी र सरकारले खर्च नगरेर निक्षेपको ब्याज दोहोरो अंकमा

काठमाडौं। अन्तत: मुद्दति निक्षेपको ब्याज दर दोहोरो अंकमा पुगेको छ। असोज १ गतेबाट लागू हुने गरी बाणिज्य बैंकहरुले सार्वजनिक गरेको निक्षेपको दर अनुसार, तीनबाहेक सबै बैंकले ब्याज दर बढाएका छन्।

Tata
GBIME
Nepal Life

निक्षेपको ब्याज दर १०.०७ प्रतिशतसम्म पुगेको छ। सनराइज बैंकले सर्वाधिक निक्षेपको ब्याज दर बढाएको हो। भदौमा बैंकले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। यसलाई असोजमा ५.०७ प्रतिशत पुर्‍याएको छ। यही हिसाबले मुद्दति निक्षेपको ब्याज दर ७.५७ प्रतिशतबाट बढाएर १०.०५ प्रतिशत पुर्‍याएको हो।

राष्ट्र बैंकको नियम अनुसार बचतको न्यूनतम ब्याज र मुद्दतिको अधिकतम ब्याज दर बीच ५ प्रतिशत बिन्दुभन्दा बढीको अन्तर हुनु हुँदैन। तर रेमिटेन्सलाई निक्षेपका रुपमा राखेमा यसमा थप एक प्रतिशत बिन्दु बढी ब्याज दिन पाइन्छ।

नेपाल राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत कायम गरेपछि बैंकहरुसँग लगानीयोग्य पुँजी अभाव सुरु भएको थियो। नयाँ ऋण दिन निक्षेप नै चाहिने ब्यवस्थाले अभाव सुरु भएको थियो।

यससँगै सरकारी खर्च नहुने तर राजस्व उच्च वृद्धि हुँदा प्रणालीको पैसा सरकारी खातामा जम्मा भएको छ। यसबाहेक ऋण बढ्ने तर निक्षेप उल्टो घट्ने हुँदा तरलता चरम अभाव भएको छ। यही कारण बैंकहरुले निक्षेपको ब्याज बढाउन प्रतिस्पर्धा सुरु गरेका हुन्।

विदेशी संयुक्त लगानीका, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, नेपाल एसबीआइ, एभरेष्ट, हिमालयन, एनएमबि, नेपाल बंगलादेश बैंकले पनि निक्षेपको ब्याज बढाएका छन्। प्रभु, कृषि विकास बैंक र नेपाल बैंकले भने यथावत राखेका छन्।

बैंक अधिकतम ब्याज % बचत % बैंक अधिकतम ब्याज % बचत %
सनराइज बैंक 10.07 5.07 माछापुच्छ्रे बैंक 8.75 3.75-5
प्राइम बैंक 9.76 4.76 एभरेष्ट बैंक 8.61 3.61-4
एनएमबि बैंक 9.52 4.52-6.52 कृषि विकास बैंक 8.6 3.5-5
सानिमा बैंक 9.51   एनआइसी एसिया बैंक 8.6  
ग्लोबल आइएमइ बैंक 9.5 4.5 नेपाल एसबीआइ बैंक 8.55 3.55
नबिल बैंक 9.26 4.26-6.26 सिभिल बैंक 8.55 4.25-6.25
नेपाल क्रेडिट एण्ड कमर्स बैंक 9.26 4.26-5 कुमारी बैंक 8.51 3.15-5.15
सेञ्चुरी बैंक 9.25 4.25-6.25 प्रभु बैंक 8.25 3.25-5
हिमालयन बैंक 9.15 4.15-6.15 राष्ट्रिय बाणिज्य बैंक 8.06 3.06-5
सिद्धार्थ बैंक 9.05 4.05 नेपाल बैंक 8.05 3.05-4.55
नेपाल इन्भेष्टमेन्ट बैंक 9.02 4.02 सिटिजन्स बैंक 8  
लक्ष्मी बैंक 9 4.0-6.0 स्ट्यान्डर्ड चार्टर्ड बैंक 7.5 2.5-4
बैंक अफ काठमाण्डू 8.77 3.77-5.27 मेगा बैंक  
नेपाल बंगलादेश बैंक 8.76 3.76-4.76      

सर्वाधिक बढी निक्षेपको ब्याज बढाउने प्राइम बैक पनि छ। बैंकले भदौमा बचतमा २.७६ देखि ४.५ प्रतिशतसम्म ब्याज दिइरहेको थियो। मुदतिमा साढे ७ प्रतिशतसम्म दिइरहेको थियो। असोजबाट बचतमा ४.७६ प्रतिशत ब्याज दिने भएको छ। मुद्दतिको ब्याज ९.७६ प्रतिशतसम्म पुर्‍याएको छ।

यसपछि एनएमबि बैंक छ। बैंकले मुद्दतिको अधिकतम ब्याज ९.५२ प्रतिशत पुर्‍याएको छ। बैंकले २.५ देखि ४.५ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज ४.५२ देखि ६.५२ प्रतिशत पुर्याएको छ। मुद्दतिको ब्याज पनि साढे सात प्रतिशतबाट बढाएरु ९.५२ प्रतिशत पुर्‍याएको छ। 

यसपछि सानिमा बैंकले निक्षेपको ब्याज बढाएको छ। मुद्दतिको ब्याज ९.५१ प्रतिशत छ। 

ग्लोबल आइएमइको मुद्दतिको अधिकतम ब्याज ९.५ प्रतिशत छ। बैंकले बचतको २.०१ देखि ४ प्रतिशतको ब्याजलाई बढाएर ४.५ प्रतिशत पुर्‍‍याएको छ। मुद्दतिको ब्याज ७.०१ प्रतिशतबाट बढाएर ९.५ प्रतिशत पुर्याएको छ।

नबिल बैंकले पनि ब्याज दर ९.२६ प्रतिशत पुर्‍याएको छ। यसअघि ८.०१ प्रतिशत ब्याज थियो। बचतको ब्याज ३.०५ देखि ५.०१ प्रतिशत थियो। त्यसलाई बढाए ४.२६ देखि ६.२६ प्रतिशत पुर्‍याएको छ। नबिल र एनसीसीको मुद्दतिको अधिकतम ब्याज समान छ। बैंकले बचतको ३.२६ देखि ५ प्रतिशतको ब्याजलाई बढाएर ४.२६ देखि ५ प्रतिशत पुर्याएको छ। मुद्दतिको ८.२६ प्रतिशतको ब्याजलाई ९.२६ प्रतिशत पुर्‍याएको हो।

९ प्रतिशतभन्दा माथि ब्याज कायम गर्नेमा लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, हिमालयन र सेञ्चुरी बैंक पनि छन्। 

सेञ्चुरीले २.५ देखि ४.५ प्रतिशतको बचतको ब्याज बढाएरर ४.२५ देखि ६.२५ प्रतिशत पुर्‍याएको छ। मुद्दतिको साढे सात प्रतिशतको ब्याजलाई ९.२५ प्रतिशत पुर्‍याएको छ। यससँगै हिमालयन बैंकले २ देखि ४ प्रतिशततको बचतको ब्याज बढाएर ४.१५ देखि ६.१६ प्रतिशत पुर्‍याएको छ। मुद्धतिको सात प्रतिशतको ब्याज बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ। 

सिद्धार्थ बैंकले २.५ देखि ४ प्रतिशतको बचतको ब्याज ४.०५ र मुद्धतिको साढे सात प्रतिशतको ब्याजलाई ९.०५ प्रतिशत पुर्‍याएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ देखि ४ प्रतिशतको ब्याजलाई ४.०२ कायम गरेको छ। मुद्दतिको ७ प्रतिशतको ब्याजलाई ९.०२ प्रतिशत पुर्‍याएको छ।

यता लक्ष्मी बैंकले २.५ देखि ४.५ प्रतिशतको बचतको ब्याज बढाएको छ। बैंकले न्यूनतम ४ र अधिकतम ६ प्रतिशत गरेको छ। मुद्दतिको साढे सात प्रतिशतको ब्याजलाई ९ प्रतिशतसम्म पुर्‍याएको छ। 

नौ प्रतिशतभन्दा कम ब्याज कायम गर्नेमा बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश (एनबी) बैंक, माछापुच्छ्रे, एभरेष्ट, एनआइसी एसिया, सिभिल, नेपाल एसबीआइ, कुमारी, राष्ट्रिय बाणिज्य बैंक, सिटिजन्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैक छन्। मेगा बैंकको ब्याज दर बिहीबारको पत्रपत्रिकामा भेटिएनन्। भदौमा भने बचतमा २.५१ देखि ३०१ सम्म थियो। मुद्दतिमा ७.५१ प्रतिशतसम्म थियो।