उद्योग, राजनीति र खेलकुदका ‘क्याप्टेन’ रुक्म; जो कठिन समस्याको सरल समाधान दिन्थे!

भावना शर्मा/बिजमाण्डू
२०७८ भदौ ३१ गते ०५:२९ | Sep 16, 2021
उद्योग, राजनीति र खेलकुदका ‘क्याप्टेन’ रुक्म; जो कठिन समस्याको सरल समाधान दिन्थे!

केहीअघि बैंकर अनिल शाह दक्षिणी भारतको चेन्नई पुगेका थिए। बैंकको काम विशेषले चेन्नई पुगेका अनिलले जब त्यहाँ बसेको होटलको फ्रिज खोले त्यहाँ अन्य पेय पदार्थहरुसँगै थियो रियल जुस। उनले त्यो परिचित जुसको प्याक फ्रिजबाट बाहिर निकालेर हेरे। त्यसमा लेखिएको थियो 'मेड इन जितपुर सिमरा बारा, नेपाल'।

Tata
GBIME
Nepal Life

नेपालभन्दा धेरै पर अपरिचितहरुको त्यो भीडमा अनिलले 'आफ्नै' केही सामान भेटेको झैं भयो। अनि असाध्यै गौरवको पल पनि थियो उनको लागि। त्यो क्षण सम्झँदै अनिलले भने-'डाबरको नेपालस्थित फ्याक्ट्रीमा बनेको रियल जुस भारतको त्यो कुनामा भेटिनुले मभित्र अभूतपूर्व तरंग फैलियो। यौटा यस्तो प्रोडक्ट जुन गौरवका साथ नेपालको, नेपालीको भन्न सकिन्थ्यो !'

अनिलले मात्र नभई सबै नेपालीले गौरब गर्न सक्ने गरी रियल जुसलगायत नेपालबाट भारततर्फ सबैभन्दा धेरै एफएमसीजी निर्यात गर्ने कम्पनीका रूपमा डाबरलाई नेपालमा स्थापित गरेका हुन् उनकै ससुरा रुक्मशमशेर राणाले, जसको हालै निधन भएको छ। ८५ वर्षका रुक्मशमशेर राणाले भदौ २६ गते संसार छोडे तर उनलाई नेपालको उद्योग क्षेत्र, राजनीतिक क्षेत्र तथा खेलकुद क्षेत्रले 'रियल क्याप्टेन' का रूपमा सम्झिरहने उनी निकटस्थहरु बताउँछन्। 

'वैदेशिक लगानीका रुपमा डाबर जस्तो मल्टिनेशनल कम्पनीलाई नेपालमा भित्र्याउन वहाँको निकै ठूलो भूमिका रहेको छ, जुन नेपाली उद्योग जगतका लागि माइलस्टोन नै हो। वहाँ कूटनीतिक क्षेत्रका सफल व्यक्तित्व, राजनीतिक रूपमा सफल र सफल उद्यमी,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले रुक्मशमशेरलाई यसरी सम्झिए।  

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कांग्रेस पार्टीको झण्डा ओडाउँदै

बेलाबखत बिभिन्न मिटिङहरुमा भेट भइरहँदा रुक्मशमशेरको स्वभावमा निकै सादगीपन पाएको श्रेष्ठको भनाइ छ। 'आइ फाउन्ड हिम भेरी भेरी जेन्टल पर्सन। वहाँले नेपाल भारत चेम्बर अफ कमर्सको अध्यक्ष हुँदा र भारतको राजदूत हुँदा दुई मुलुकबीचको उद्योग व्यवसाय बढाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। त्यसबेला वहाँले आर्थिक क्षेत्रलाई बढावा दिने निकै कामहरु गर्नुभएको छ। नेपालको ट्रेड डेफिसिट कम गर्न डाबर नेपालको एक्सपोर्टबाट ठूलो योगदान पुगिरहेको छ। डाबरलाई आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नेपालमा भित्र्याएर वहाँले ठूलो गुन लगाउनुभएकै हो,' श्रेष्ठले राणालाई सम्झिँदै भने। 

नेपालमा वैदेशिक लगानी भित्रिने वातावरणको सिर्जना भइसकेपछि रुक्म शमशेर राणाकै पहलमा सन् १९८९ मा मल्टिनेशनल कम्पनी डाबरले नेपाल आउने निर्णय गर्‍यो। भारतका डाक्टर एस के बर्मनको परिवारले सन् १९८४ मा आयुर्वेदिक उत्पादनहरुका लागि डाबर कम्पनी स्थापना गरेको थियो। डाक्टर बर्मनको परिवारसँग रुक्मशमशेरका पिता सुवर्ण शमशेरको निकटता रहिआएको थियो। पछि एसके बर्मनका छोरासँग रुक्म शमशेरको उस्तै निकट सम्बन्ध रह्यो। त्यही सम्बन्धका कारण बहुराष्ट्रिय कम्पनी डाबर नेपाल आयो र रुक्म शमशेरले लामो समय कम्पनीको प्रबन्ध निर्देशकका रूपमा रहे।   

केही समयअघि जन्मदिन मनाउँदा

नेपालमा बिसं २०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको सरकारलाई 'कु' गर्दै पञ्चायती व्यवस्था घोषणा गरेसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमशेर आफ्नो जायजेथा सबै यतै छोडेर सपरिवार कलकत्ता बस्न गएका थिए। सोही समयमा आयुर्वेद डाक्टर एसके बर्मनको परिवारसँग उनको निकटता हुन पुगेको थियो। बर्मनले भारतको उत्तरप्रदेशस्थित गाजियाबादमा स्थापना गरेको डाबर कम्पनी सोही सम्बन्धका कारण नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि नेपाल छिर्ने वातावरण बन्यो। 

नेपालमा कम्पनी खोल्न त्यसबेला डाबर इन्डियाका प्रबन्ध निर्देशक अशोक बर्मन रेल चढेर नेपालमा फ्याक्ट्री स्थापना गर्ने ठाउँमा जग्गा हेर्न आफैं आएका थिए। उनले रुक्मलाई बारा जिल्लाको जितपुर सिमरास्थित उक्त क्षेत्र वरपर रहेका सबै खाली जग्गा किन्न भनेका थिए रे। तर सुरुवातमै त्यति धेरै जग्गा चाहिएला र? भन्ने प्रश्न उठेछ। तत्कालै अशोकले भनेछन्-'हेर यो उद्योग पछि यति राम्रो हुनेछ कि हामीलाई यति जग्गाले पनि पुग्दैन।' नभन्दै सानो स्थानबाट सुरु भएको डाबर नेपालले हाल जितपुरको निकै ठूलो हिस्सा ओगटेको छ। कम्पनीले त्यहाँबाट सन् १९९२ देखि आफ्नो व्यावसायिक उत्पादन सुरु गरेको थियो। हाल वार्षिक अर्बौंको कारोबार गर्ने डाबर नेपाल नेपालबाट भारतमा सबैभन्दा धेरै निर्यात गर्दै आएको कम्पनीका रुपमा स्थापित छ। 

छोरी-ज्वाइँ र नातिनीसँग

"नेपाल भारतबीचको व्यापार सम्बन्ध अघि बढाउनुमा रुक्म शमशेर राणाको योगदान ठूलो छ। खासमा आज हामी वहाँहरुले नै खडा गरेको जगमा उभिएका छौं,' होटल एसोसिएसन नेपालसँगै नेपाल भारत उद्योग वाणिज्य संघको पनि अध्यक्ष रहेकी सिर्जना राणाले भनिन्। 

३२ वर्षअघि नै नेपालमा एफडीआई भित्र्याउने महत्वपूर्ण व्यक्तिका रूपमा रुक्म शमशेरलाई नेपाली उद्यमी जगतले सधैं सम्झिइरहने उनको भनाइ छ। 'अघिल्लो पुस्ताले हाम्रो यात्रालाई सहज बनाउन जुन बाटो निर्माण गरिदिएका हुन्छन् त्यसलाई हामीले कहिल्यै बिर्सन हुँदैन।'- रुक्मशमशेरलाई उद्यम जगतको एउटा कालखण्डको प्रतिनिधिका रुपमा स्मरण गर्नुपर्ने सिर्जना राणा बताउँछिन्। 

सुवर्ण शमशेरका छोरा रुक्म शमशेर नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसँग भावनात्मक रुपमा निकट रहे।  उनका बुवाले कांग्रेस संस्थापक भएकै नाताले उनमा स्वाभाविक रूपमा कांग्रेसप्रतिको झुकाव रह्यो। घरमा कांग्रेसका नेताहरुको आवतजावत बाक्लो थियो। सुवर्ण शमशेरले कांग्रेसलाई सघाउन धेरै धनसम्पत्ति समेत दिएका थिए। पैसाको मात्र नभएर कांग्रेस पार्टीको रणनीति र पार्टीको भारतीय नेताहरुसँगको सम्बन्ध बनाउन पनि सुवर्ण शमशेर परिवारको धेरै ठूलो हात रहेको छ। पञ्चायतकालमा राज्यबाट धेरै किसिमका दुःख पाएको भए पनि सुवर्ण शमशेरको परिवार त्यसको 'गुनासो' गर्ने वा त्यसप्रति तितोपन कहिल्यै बोकेनन्। न त नेपाल फर्किएपछि उनीहरुले कहिल्यै त्यो नमिठो समयको छनक नै दिए।

स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग

भारतको दुन स्कुलदेखि अमेरिकाको प्रिन्सटन तथा कलकत्ताको विश्वविद्यालयसम्म पढेका रुक्मशमशेर कलकत्ताबाट नेपाल फर्किएपछि उदयोग, राजनीति र खेलकुद तीनै क्षेत्रमा सक्रिय रहे। उनी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद रहे। उनी स्कुल पढ्दाताका नै क्रिकेट र फुटबलका खेलाडी थिए। खेलकुदमा रुचि भएकाले उनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्षका रूपमा पनि सक्रिय जिम्मेवारी लिए। राणा सन् २००९ देखि दुई वर्षका लागि भारतका लागि नेपाली राजदूतका रुपमा रहे। उनको योगदानको उच्च कदर गर्दै मृत्युपश्चात पार्टीको झण्डा ओढाएर सम्मान गर्न प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरवहादुर देउवा आफैं राणा निवास पुगेका थिए। 

राणासँग निकट रहेर काम गरेका सोल्टी होटलका निर्देशक शशीराज पाण्डे उनलाई भद्रता र शालीनताका लागि सम्झन्छन्। समयको असाध्यै पालना गर्ने राणाको त्यही स्वभाव आफूले पनि सिकेको पाण्डेले बताए। 'मैले वहाँसँग सिकेकै पङ्चुआलिटी नै हो। हामीले एनआईसीसीआईमा कुनै कार्यक्रम गर्दा चिफ गेस्ट नै भनेको समयमा नआए पनि तोकिएकै समयमा कार्यक्रम सुरु गर्ने गर्थ्यौं। वहाँले जे थिति बसाल्नुभयो मैले पनि पछि मैले पनि त्यही नै मेन्टेन गरेँ,' उनले पुराना दिन सम्झिए। 

नेपाल भारत चेम्बर अफ कमर्सको स्थापनाकालदेखि नै राणासँग निकट रहेका सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी रुक्मशमशेरलाई मोर्डन थिंकिङ र सेन्स अफ ह्युमर भएका 'टिम क्याप्टेन' भन्छन्। राणाको निधनपछि पुराना दिनहरु सम्झिँदै आफू निकै भावुक भएको चौधरीले बताए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

'नेपाल इण्डिया चेम्बर अफ कमर्सको स्थापनाकालदेखि नै हामी दुवैले सँगै काम गर्‍यौं। वहाँ अध्यक्ष र म उपाध्यक्ष। हामीबीच उमेरको ठूलो ग्याप भए पनि वहाँलाई मैले सधैं 'योंग एट हार्ट'को उदाहरण नै मानेको छु। जहिल्यै पनि वार्म अनि नेतृत्वदायी भूमिका लिनसक्ने व्यक्तित्व।'- उनले भने। 

नेपालमा ज्वाइन्ट भेन्चर कम्पनी ल्याउने वातावरण भएपछि डाबरलाई नेपालमा ल्याएर मात्र नभई सफल बनाएर नेपालमा जुनसुकै पनि मल्टिनेशनल कम्पनी अपरेट गर्न सक्छ है भन्ने सकारात्मक सन्देश राणाले अन्तर्राष्ट्रिय स्तरमै दिएको चौधरीको भनाइ छ। 

उमेरले पाको हुँदै गएपछि पनि राणासँग नियमित भेट भइरहन्थ्यो चौधरीको। तर जब कोभिड महामारी सुरु भयो राणाले आफूलाई घरभित्रै सीमित बनाए। किताब पढ्ने काममा आफूलाई तल्लिन राखे। मधुमेह, मृगौला तथा मुटुरोगका बिरामी राणा जीवनको अन्तिम समयसम्म पनि उत्तिकै सक्रिय र 'लार्जर देन लाइफ' जीवन बाँचिरहे। 

चौधरी भन्छन्-'हि इज अ रियल क्याप्टेन। वहाँको लागि उमेर त नम्बर गेम मात्र थियो। वहाँको कुनै पनि चीजलाई हेर्ने आउटलुक र जीवनलाई हेर्ने समग्र दृष्टिकोणका कारण मैले सधैं वहाँलाई क्याप्टेन मानें "एक्चुअल टिम क्याप्टेन!"

राणाका छिमेकी भएर बसेका एमएस ग्रुपका प्रबन्ध निर्देशक शशीकान्त अग्रवाल उनलाई बहुप्रतिभाशाली व्यक्तित्व र फादर फिगर मान्छन्। ७, ८ वर्ष अघिसम्म पनि राणा र उनी पशुपतिनाथ मन्दिरसम्म मर्निङ वाकमा जाने गरेका रहेछन्। उनले भने- 'कठिन समस्याको सरल समाधान दिने व्यक्ति हो वहाँ। नेपाल भारतबीच बिभिन्न समयमा आएका कतिपय व्यापारिक असहजताको अवस्थामा आफ्नो पुरानो कनेक्सनका कारण त्यो अवरोध हटाउन सहजीकरण गर्नुभएको छ।'

बाल्यकालको पारिवारिक तस्बीर

स्थापनाकालदेखि नै नेपाल भारत उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेका शशीकान्त कठिन समस्याका बेला सरल समाधान दिने र हरेक परिस्थितिमा सकारात्मक भूमिका खेल्ने व्यक्तिका रूपमा राणालाई सम्झिइरहने बताए। 

नेपालको विकास गर्ने हो भने राजनीतिले मात्र गर्न सकिँदैन, आर्थिक विकास हुनैपर्छ भन्ने रुक्मशमशेरको मान्यता थियो। 'ट्रेडिङ कम्पनीहरुले मात्र विकास हुँदैन। नेपालको पैसा खर्च गरेर आयात गर्ने मात्र होइन एक्सपोर्ट ओरियन्ट उद्योगहरु नेपालमा खुल्नै पर्छ भन्ने राणाको भिजन थियो। यही कारण नै हो आज पनि डाबर निर्यातमा नम्बर वान छ।'-नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा राणाका ज्वाईं अनिलकेशरी शाहले भने।  

उनी रुक्मलाई पूर्ण मानवका रुपमा व्याख्या गर्छन्। रुक्म आफ्नी एकमात्र सन्तान रति शाह र नातिनी आर्या शाहसँग असाध्यै नजिक थिए। उनीहरु वरिपरि रहँदा मात्र उनी आफूलाई सबैभन्दा खुशी ठान्थे। परिवार, समाज र प्रोफेसन तीनै किसिमले परिपक्व र पूर्ण मानिसका रूपमा रुक्मलाई सम्झिने अनिल जीवनको उत्तरार्द्धमा रुक्मले आफ्नो बायोग्राफी निकाल्ने तयारी गरे पनि त्यो अधुरै हुन पुगेको बताउँछन्।