झन् बलियो बनेर फर्किँदै नेबिको: हेटौंडामा ४० करोडको नयाँ प्लान्ट, बालाजुबाट दसैंअघि नै उत्पादन

बिजमाण्डू
२०७८ भदौ ३० गते २०:१२ | Sep 15, 2021
झन् बलियो बनेर फर्किँदै नेबिको: हेटौंडामा ४० करोडको नयाँ प्लान्ट, बालाजुबाट दसैंअघि नै उत्पादन


काठमाडौं। एक महिनाअघि भीषण आगलागीले ध्वस्त भएको नेबिको बिस्कुट पहिलेभन्दा झन् मजबुत भएर आउने गरी आक्रामक तयारीमा जुटेको छ। योजनाअनुसार समयमै काम पूरा भए अबको केही महिनाभित्रै देशकै जेठो बिस्कुट कम्पनी नेबिको यस्तो अवस्थामा हुनेछ जो संकटबाट फेरि तंग्रिएको मात्र देखिने छैन, वार्षिक १२ अर्ब हाराहारीमा रहेको बिस्कुटको नेपाली बजारमा प्रतिपर्धी अन्य स्वदेशी-विदेशी ब्रान्डहरुलाई समेत कडा चुनौति दिने अवस्थामा यो हुनेछ।

Tata
GBIME
Nepal Life

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रस्थित नेबिकोको मुख्य कारखाना गत साउन २३ गते शनिबार बिहान २ बजेदेखि लगातार ११ घन्टासम्म भएको आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो।   

नेबिकोले ५७ वर्ष लगाएर बनाएको बजार र लिगेसी उक्त आगलागीपछि गुम्‍ने त्रासमा रहेको कम्पनीले सो दूर्घटनालाई उत्पादन प्रविधि र क्षमता दुवैका दृष्टिले आफूलाई झन् बलियो बनाएर लैजाने अवसरका रुपमा उपयोग गर्दै काम अघि बढाएको कम्पनीका निर्देशक राजेश रौनियारले बताएका छन्। सोहीअनुरुप नेबिकोले हेटौंडामा पनि नयाँ उत्पादन प्लान्ट संचालनमा ल्याउन लागेको उनले बताए। 

नेबिकोको अहिले बालाजु र रुपन्देहीको भैरहवामा गरी दुई ठाउँमा कारखाना छ। यीमध्ये बालाजु प्लान्ट पुनर्निर्माण गरेर संचालनमा आउन केही समय लाग्ने अनुमानमा कम्पनीले हेटौंडाबाट समेत उत्पादन थाल्न लागेको हो।

रौनियारका अनुसार, हेटौंडा औद्योगिक क्षेत्रभित्र स्थापनाको प्रक्रियामा रहेको नयाँ प्लान्ट बालाजुको भन्दा पनि ठूलो क्षमतामा हुनेछ। उनी भन्छन्, 'हेटौंडामा हाम्रो सबैभन्दा बढी क्षमताको प्लान्ट हुनेछ। त्यसबाट महिनामा एक हजार टन उत्पादन गर्न सक्ने गरी हामीले काम अघि बढाएका छौं ।' 

यो पनि हेर्नुहोस् – नेबिको बिस्कुट: ११ घन्टाको आगोको लप्काले धरापमा ५७ वर्षको लिगेसी, कसरी फर्किएला व्यापारमा?

आगालागी हुनुअघि बालाजु प्लान्टको क्षमता मासिक ८०० टन थियो भने बुटवलको २०० टन। अर्थात्, कुल उत्पादन क्षमताको दुईतिहाई बालाजुकै उद्योगमा निर्भर रहँदै आएको थियो नेबिको। अब भने हेटौंडामा संचालनमा ल्याउने प्लान्ट एक्लैको उत्पादन परिमाण नेबिकोका विद्यमान दुवैको प्लान्टको कुल क्षमता बराबर हुनेछ।

नेबिकोले बिस्कुट उत्पादनकै लागि करिब दुई वर्षअघि हेटौंडा औद्योगिक क्षेत्रभित्र डेढ बिघा हाराहारी जमिन सरकारसँग दीर्घकालिन लिजमा लिएको थियो। सोही जग्गामा अबको ५-६ महिनाभित्र नयाँ फ्याक्ट्री खडा गरेर उत्पादन नै सुरु गर्ने योजनाका साथ काम अघि बढेको कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेलको भनाइ छ। पौडेलका अनुसार, नेबिकोको हेटौंडा प्लान्टमा कम्तिमा ३५ देखि ४० करोड रुपैयाँ लगानी हुनेछ। 

'काठमाडौं नै हाम्रो सबैभन्दा ठूलो र प्रमुख बजार भएकाले अन्य प्रतिस्पर्धीले हाम्रा वितरकदेखि बजारसम्म विभिन्न किसिमले प्रभावित गर्न खोजिरहेका छन्,' रौनियार भन्छन्, 'उत्पादन ढिलो हुँदा ग्याप भएर हाम्रो बजार गुम्न पनि सक्छ। यसैले सम्भव भएका सबै स्थानबाट सकेसम्म चाँडै उत्पादन गर्न थाल्ने गरी हामीले काम थालेका हौं।'

नेबिकोको हेटौंडामा स्थापना हुन लागेको नयाँ कारखानाको इन्जिनियरिङ र डिजाइनको काम सुरु भइसकेको छ। यो तयार हुनेबित्तिकै बिल अफ क्वान्टिटी तय गरेर कारखाना निर्माणको काम चाँडै थाल्ने पनि रौनियारले बताए। 

हेटौंडा कारखानामा दुई सयदेखि २५० जनाले रोजगारी पाउने कम्पनीको भनाइ छ। बालाजुमा करिब चार सयजना कार्यरत थिए। अब भने पुनः संचालनमा आउँदा त्यसबाट सय जना घट्ने सम्भावना रहेको बताइएको छ। भैरहवा प्लान्टमा भने अहिलेकोमा थप सय जना हाराहारी जनशक्ति थप हुने पौडेल बताउँछन्। 

नेबिकोले बिस्कुटका ५०, कन्फेक्सनरी र कुकिजका सात/सात, अन्य ब्रेकफास्ट सेरल्सका करिब आधा दर्जन ब्रान्ड गरी ७० प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ। उत्पादनलाई देशका ७७ वटै जिल्लामा पुर्‍याउन यसका १२० थोक बिक्रेता सञ्जाल छन्। यसबाट नेबिकोले वर्षमा झन्डै डेढ अर्ब रुपैयाँको कारोबार गर्ने गरेको पौडेलको भनाइ छ। 

मासिक एक अर्ब रुपैयाँ बराबरको रहेको नेपालको बिस्कुट बजारमा नेबिकोले आफ्नो बजार हिस्सा १२ प्रतिशत (महिनामा १२ करोडको) रहेको दाबी गरेको छ। यो मुकाममा पुग्न देशकै जेठो यो उद्योगले करिब ६ दशक खर्चिएको छ। यहाँसम्म आइपुग्न यसले सन‍् १९९० को दशकमा अग्रणी भारतीय कम्पनी ब्रिटानियासँग प्राविधिक साझेदारीसमेत गरेको थियो। करिब एक दशकको साझेदारीपछि नेबिकोलाई बिस्कुट उत्पादन प्रविधि हस्तान्तरण गरेर ब्रिटानिया फर्किएको थियो।

भैरहवाको प्लान्ट चौबिसै घन्टा, बालाजुबाट दसैंअघि नै उत्पादन
यसअघि १२ घन्टा संचालन हुँदै आएको नेबिकोको भैरहवास्थित प्लान्ट पनि बालाजुको उद्योगमा आगो लागेपछि चौबिसै घन्टा चलाउने गरी अपग्रेड गरिसकेको कम्पनीका निर्देशक रौनियारले बताए। यससँगै भैरहवा फ्याक्ट्रीको उत्पादन क्षमता मासिक २०० बाट ४०० टन पुगेको छ।

यसबाहेक आगोले सखाप भएको बालाजु कारखाना पनि छिट्टै पुनः संचालनमा ल्याउने गरी तीव्ररुपमा काम भइरहेको बताइएको छ। यद्यपि, बालाजु प्लान्ट अब पहिलेको तुलनामा ७५ देखि ८० प्रतिशत क्षमतामा मात्र संचालनमा आउने म्यानेजर पौडेल बताउँछन्। 

'कतिपय संरचनाहरु आगोले पूर्णरुपमा क्षतिग्रस्त भएकाले त्यो सबै पुनःनिर्माण सकेर उत्पादन सुरु गर्ने भन्दा समय लाग्छ। त्यसबाट हाम्रो बजार पनि गुम्ने जोखिम हुन्छ,' उनी भन्छन्, 'त्यसैले प्राविधिकलाई निरीक्षण गर्न लगाएर मर्मत सम्भार गरी सकेसम्म चाँडै उत्पादन थाल्न सकिने अवस्थामा देखिएका बाँकी संचरनामा ठिक हुनेगरी मेसिनहरु राखेर काम थाल्न लागेका छौं।'

आगलागीबाट बालाजु कारखानाको औद्योगिक संरचना मात्र नभएर अधिकांश मेशिन तथा उपकरणहरु पनि कामै नलाग्ने गरी ध्वस्त भएको थियो। यसैले पुनःसंचालनमा ल्याउनका लागि यसमा लगभग सबै मेशिनहरु नयाँ राख्नुपर्ने हुन्छ। नयाँ मेशिन पहिलेको भन्दा अद्यावधिक प्रविधिको हुने बताइएको छ। 

पौडेलका अनुसार, बालाजुका लागि नयाँ मेशिनहरु आउन सुरु भइसकेको छ। 'दुई दिनअघि प्याकेजिङ मेशिन आयो। आज र भोलि पनि अन्य केही पार्ट्सहरु आउँदै छन्। अब एक हप्ताभित्र सायद अरु सबै मेशिनहरु आइसक्छ,' उनले भने, 'अर्को हप्ताबाट मेसिन जडान सुरु गर्छौं।'

आगलागीबाट नेबिकोको बालाजु कारखानामा करिब ६० करोड रुपैयाँको क्षति पुगेको कम्पनीको भनाइ छ। तर नेबिकोले उक्त कारखानाको २६ करोड रुपैयाँबराबरको मात्र बीमा गराएको छ। यसकारण पनि बीमकले शतप्रतिशत क्षतिपूर्ति दिएको अवस्थामासमेत आगलागीबाट भएको क्षतिको भर्पाइ हुनेछैन। यसैले कम्पनीले बीमा दाबी भुक्तानी आउने टुंगो नलाग्दै सकेसम्म चाँडै उत्पादन सुरु गर्न खोजेको हो। बिमा कम्पनीको क्षति मूल्यांकन प्रक्रियाका कारण पनि यसलाई पुनः संचालनमा ल्याउने गरी काम थाल्न केही समय ढिला भएको बताइएको छ। 

'उत्पादन रोकिँदा अहिले हामीलाई महिनाको १०-१२ करोड रुपैयाँ बराबर कारोबारको घाटा भइरहेको छ,' पौडेल भन्छन्, 'आगलागीबाट पुगेको क्षति नै पनि बीमाबाट आउने रकमले भर्पाइ हुँदैन। यसैले सकेसम्म चाँडै उत्पादन थाल्न पाए बरु व्यापार गरेर नोक्सानीको रकम चाँडै उठ्न सक्छ भन्ने देखेर यसमा युद्दस्तरमा काम अघि बढाइएको छ।'

बालाजु  प्लान्ट पुनः संचानलमा ल्याउनका लागि कम्नीले पछिल्ला केही हप्तायता बिहान ६ बजेदेखि राती १० बजेसम्म युद्धस्तरमा काम गराइरहेको छ। १५ देखि २० जना इन्जिनियरहरुको टोली यसमा खटिएका छन्। 

'हामी आफैं पनि हरेक दिन पुग्दा स्पष्ट परिवर्तन महशुस हुनेगरी आक्रामक रुपमा काम भइरहेको छ,' पौडेल भन्छन्, 'सारा संयन्त्र लगाएर दिनको १६ घन्टा काम गरिरहेकाले असोजभित्रै उत्पादन सुरु गर्न सक्छौं भन्ने अनुमान छ। यही गतिमा काम गरेर शुभचिन्तकहरुलाई दशैंअघि नै सुखद समाचार सुनाउन हामी आतुर छौं।'