विद्युत खपतमा ऐतिहासिक सफलता, पिक डिमाण्ड झण्डै १६०० मेगावाट, तीन करोड २५ लाख युनिट खपत

बिजमाण्डू
२०७८ भदौ २९ गते ११:२२ | Sep 14, 2021
विद्युत खपतमा ऐतिहासिक सफलता, पिक डिमाण्ड झण्डै १६०० मेगावाट, तीन करोड २५ लाख युनिट खपत

काठमाडौं। नेपालमा खपत हुने विद्युतको परिमाण हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार देशभर करिब १६०० मेगावाट विद्युत माग पुग्दा खपत हुने ऊर्जा पनि हाल सम्मकै धेरै तीन करोड २५ लाख युनिट नाघेको छ।

Tata
GBIME
Nepal Life

यस अघि दैनिक विद्युत खपत तीन करोड युनिट र पिक डिमाण्ड १५०० मेगावाट वरिपरि रहँदै आएको थियो। आइतबार विद्युत माग र खपत दुवैमा ऐतिहासिक सफलता मिलेको हो।

दुई वर्ष अघि १५०८ मेगावाट पुगेको उच्चतम माग त्यसपछि भने घटेर १२ सय मेगावाटमा झरेको थियो। ठीक दुई वर्षपछि विद्युत माग पुनः १५ सय मेगावाट नाघेको हो। 

पछिल्लो समय विद्युत माग १४५० मेगावाट देखि १५५० मेगावाट वरिपरि घुमिरहेको थियो। आइतबारको तथ्याङ्कले विद्युतको उच्चतम माग बढेर छिट्टै १६ सय मेगावाट नाघ्ने संकेत गरेको छ।

माथिल्लो तामाकोशी लगायतका आयोजनाबाट विद्युत उत्पादन सुरु भएसँगै अहिले प्राधिकरणले देश भित्र खपत बढाउन नसकेको तथा भारतमा पनि निर्यातको विकल्प दिन नसकेको आरोप लाग्दै आएको छ।

औद्योगिक क्षेत्रमा ५०० मेगावाट विद्युत माग हुँदा हुँदै पनि प्राधिकरणको प्रसारण र वितरण संरचा नहुँदा विद्युत दिन नसकेको भन्दै उद्योगीहरुले आलोचना गरिरहेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहारसँग मौसमी विद्युत आदान प्रदानको प्रस्ताव गरेका छन्। देशभित्र खपत बढाउनुको सट्टा सजिलो काममा बढी ध्यान दिएको भन्दै उद्योगीहरुले उनको यो कदमको पनि आलोचना गरेका छन्।

विद्युत प्राधिकरण भार प्रेषण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार आइतबार १५८६ मेगावाट पिक डिमाण्ड रेकर्ड भएको छ। त्यस्तै खपत भएको ऊर्जा पनि तीन करोड २५ लाख ६८ हजार युनिट पुगेको छ। यी दुवै तथ्याङ्क हाल सम्मकै धेरै हुन्।

आइतबार विद्युत प्राधिकरणका आयोजनाबाट एक करोड पाँच लाख ६७ हजार युनिट, विद्युत प्राधिकरणका सहायक कम्पनी मार्फत ९६ लाख चार हजार युनिट र निजी क्षेत्रबबाट एक करोड १६ लाख ६६ हजार युनिट विद्युत प्रणालीमा आपूर्ति भएको छ।

नेपालले भारतबाट पाँच लाख ५१ हजार युनिट विद्युत आयात गर्दा भारततर्फ सात लाख ९६ हजार युनिट विद्युत निर्यात गरेको छ।

नेपालले भारतीय बिजुली टनकपुर र ढल्केबरबाट हरेक सिजनमा केही न केही लिनै पर्ने सम्झौताका कारण नेपालको विजुली पर्याप्त हुँदा पनि भारतबाट आयात शून्यमा झार्न नसकिएको प्राधिकरणको भनाई छ।

त्यस्तै विद्युत माग हुँदा हुँदै पनि एक लाख ८० हजार युनिट विद्युत आपूर्तिमा अवरोध भएको केन्द्रको तथ्याङ्क छ।