बिपी राजमार्गमा चल्ने विद्युतीय गाडीका लागि ‘दिगो’ले राख्यो मुलकोटमा चार्जिङ स्टेसन

बिजमाण्डू
२०७८ भदौ २६ गते १६:०९ | Sep 11, 2021
बिपी राजमार्गमा चल्ने विद्युतीय गाडीका लागि ‘दिगो’ले राख्यो मुलकोटमा चार्जिङ स्टेसन

काठमाडौं। दिगो ग्रुप अफ कम्पनीजले काठमाडौं-सिन्धुली रुटमा चल्ने विद्युतीय सवारीको लागि सिन्धुलीको मुलकोटमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बिपी राजमार्गमा चल्ने विद्युतीय गाडीहरु चार्ज गर्ने उदेश्यले ३० किलोपाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। विद्युतीय सवारीको चाप थपिएपछि स्टेसनको क्षमता पनि बढाउन सकिने दिगोले जनाएको छ।।

दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ। अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ। यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ। उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनी द्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

दिगो ग्रुप अन्तर्गतको एनईभी नेपालका प्रमुख कार्यकारी अधिकृत दिपक थापा, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगर, रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरुको उपस्थितीमा चार्जिङ स्टेसन उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्रि गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा छन्। डिफएसके ब्रान्डको उक्त विद्युतीय गाडी २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो।

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ। यात्रुहरुले होटलमा खाना/खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ। फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै पटक ओहोर दोहोर गर्ने अवसर दिएको कम्पनीको दावी छ।

दिगोले निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने पनि घोषणा गरेको छ।

दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट गरिएको महत्वपूर्ण पहल भएको र यसले विद्युतीय सवारी साधनलाई मुलुकका विभिन्न ठाउँमा यात्रा गर्न सहज बनाउने कम्पनीले विश्वास गरेको छ।