सामाजिक सुरक्षामा सर्वोच्चको फैसला बारे जिफण्ट: ‘ सामदाम प्रयोग गर्दै कार्यक्रम असफल बनाउने खेल

बिजमाण्डू
२०७८ साउन २१ गते ११:३४ | Aug 5, 2021

काठमाडौं। सामाजिक सुरक्षा कोषमा जान जोरजबर्जस्ति नगर्न सर्वोच्च अदालतको आदेशलाई ट्रेड यूनियन महासंघ (जिफण्ट) ले 'असल र मर्यादित रोजगारीको लागि बाधक' भनेर टिप्पणी गरेको छ।

Tata
GBIME
Nepal Life

गत मंगलबार सर्वोच्च अदालतको पूर्ण इजलासले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो। २२ बाणिज्य बैंकका कर्मचारी र युनियनहरुले हालेको मुद्दाको सुनुवाइपछि अदालतले जोरजबर्जस्ति नगर्न अन्तरिम आदेश दिएको थियो।

आदेशपछि बिहीबार बिहान एक बिज्ञप्ति जारी गर्दै जिफण्टले भनेको छ- सर्वोच्च अदालतबाट जारी गरिएको अन्तरिम आदेशमा रोजगारदातालाई मनलागे अनुसार ऐन पालन गर्ने छुट हुने गरी व्याख्या गरिनु आश्चर्यजनक छ।

सामाजिक सुरक्षा कोषविरुद्ध योजनाबद्ध षडयन्त्र शुरुभएको उल्लेख गर्दै जिफण्टले केही तथाकथित प्रायोजित ट्रेड यूनियनहरुलाई मोहरा बनाएर सामदाम दण्डभेद प्रयोग गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम असफल बनाउने खेल भईरहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नसच्चिएमा श्रम बजारमा अराजकता उत्पन्न हुने भन्दै जिफण्टले आदेशले थप अन्यौलता सिर्जना गरेको जनाएको छ। 

'के अब चैतमा कार्यरत कर्मचारीहरूले योगदानामा आधारित सामाजिक सुरक्षा कर तिर्न पर्दैन? यदी तिर्न पर्छ भने यो रकम कसले उपयोग गर्छ? फैसला हुनुपूर्वको अवधिको रकम के हुन्छ?' विज्ञप्तिमा प्रश्न गरिएको छ.

सामाजिक सुरक्षामा जाने पैसा बैंक सञ्चालकहरुले उपयोग गरी रहेको आरोपसमेत लगाइएको छ। 

'बैंकमा काम गर्ने कुनै पनि श्रमिकको दुर्घटना वा रोगको कारण मृत्यु भएमा वा काम गर्न नसक्ने अवस्थामा पुगेमा उसको उपचार एवम् निजको आश्रित परिवारलाई आश्रित सुविधा बैंकले सुनिश्चत गर्छ? यदि बैंकमा श्रम ऐन लागु नहुने मन्यता हो भने बैंकका कर्मचारी तथा श्रमिकले बोनस कसरी प्राप्त गर्छन?,' विज्ञप्तिमा भनिएको छ, 'किनभने श्रम ऐन लागू हुने प्रतिष्ठानमा मात्र बोनस ऐन अनुसार वोनस पाईने व्यवस्था रहेको छ।' 

श्रमिकले काम गर्दासम्म पेटभरी खान र लाउन दिए रोजगारदाता कानूनी दायित्ववाट उन्मुक्ति पाउने अवस्था कदापी आउन दिन  नहुने भन्दै जिफण्टका महासिचव जनक चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-  त्यसैले सबै श्रमिक जनता यस्ता षडयन्त्र विरुद्ध खवरदारी गर्न तथा आवश्यक परेमा संघर्षको मैदानमा उत्रिन तयार आह्वान गर्दछौं।