काठमाडौं महानगरलाई ७० करोड नतिर्ने २० ठूला करदाताको कार्यालयमै गएर माइकिङ, साउन १५ को म्याद

बिजमाण्डू
२०७८ साउन १३ गते १४:२७ | Jul 28, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यलयमै गएर काठमाडौं महानगरपालिकाले माइकिङ सुरु गरेको छ । असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको महानगरले करदाताहरु सम्पर्कमा नै नआएपछि माङकिङ सुरु गरेको हो।

माइकिङ गर्दै तोकिएको अवधिमा कर तिर्न नआए त घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने चेतावनीसहित सूचना टासिएको छ।

राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारीका अनुसार धेरै प्रयास गर्दा पनि करदाताहरु सम्पर्कमा नै नआएकाले बाध्य भएर माइकिङ गर्दै सुचना टास्नु परेको हो।

उनका अनुसार अहिलेसम्म नाम सार्वजनिक गरिएको २० करदातामध्ये ११ वडामा रहेको एन. आर. टी. क्लव, १३ नम्वर वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज सम्पर्कमा आएका छन् । बाँकीले सम्पर्क नै गरेका छैनन् । यी करदाताले विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ, उनले भने,तर, हामीले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधबार वडा ११मा रहेको एन. आर. टी. क्लव र युनाइटेड वल्ड सेन्टर, १२ वडामा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र १३ वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज, नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्दै सूचना टाँसेको छ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ मा रहेको आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान, एल. आर. आइ स्कूल, वडा १५ मा रहेको मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ रहेको कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल छन् ।

यसैगरी  २२ वडामा रहेको आरबी कम्प्लेक्स, २४ वडाको सुरज आर्केट, २९ वडाको शुभश्री कोअपरेटिभ लिमिटेड,   २८ वडाको काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट, ३० वडाको गोपालजी प्रपर्टिज प्रा. लि. र स्टार मल रहेका छन् । यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।