अमेरिकी सेयर बजारमा चिनियाँ कम्पनीहरुको अवस्था नाजुक, सन् २००८ कै अवस्थामा फर्किए

बिजमाण्डू
२०७८ साउन १२ गते १५:४९ | Jul 27, 2021

Tata
GBIME
Nepal Life

चीन सरकारले आफ्ना टेक जायन्टहरुमाथि निगरानी र कडाइ बढाउँदै जाँदा अमेरिकी सेयर बजारमा लिस्टिङ भएका चिनियाँ कम्पनीहरुको सेयरमा सन् २००८ यताकै सबभन्दा ठूलो गिरावट आएको छ।

बिगत दुई दिनको कारोबारमा नास्दाक गोल्डेन ड्रागन चाइना इन्डेक्समा १५ प्रतिशतको गिरावट आएको हो। यसमा ९८ ठूला चिनियाँ कम्पनीहरु सूचीकृत छन्। सन् २००८ को वित्तीय संकटको समयपछि अहिले चिनियाँ कम्पनीहरुको सेयरमा यति ठूलो संकट आइपरेको हो।

यो सूचक गत फेब्रुअरीदेखि ४५ प्रतिशतले तल झरिसकेको छ। बेइजिङले लगातार रुपमा आफ्ना प्रविधि तथा शैक्षिक उद्योगमा कडा प्रावधान ल्याउन थालेदेखि नै यो गिरावट सुरु हुन थालेको थियो। गत पाँच महिनामा मात्रै अमेरिकामा लिस्टिङ भएका चिनियाँ कम्पनीहरुले बजारबाट ७७० अर्ब डलर गुमाइसकेका छन्।

हालै बेइजिङले चीनको निजी शैक्षिक संस्थाहरुलाई कडा लगाम कसेसँगै यो सेयर बजारमा संकट गहिरिएको हो। चीनले देशका सबै निजी शिक्षण संस्थाहरुलाई एनजीओको रूपमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ।

नयाँ नियमका अनुसार यस्ता शैक्षिक संस्थाहरुमा वैदेशिक लगानी निषेध गरिएको छ भने उनीहरुले सेयर निष्कासन समेत गर्न पाउने छैनन्।

यस्तो नियमले अमेरिका, हङकङ र मेनल्याण्ड चाइनाका निजी शैक्षिक संस्थाहरुको सेयर बजार मूल्य घटेको छ।

चिनियाँ अधिकारीहरुले अनलाइन खाद्यान्न डेलिभरी एपहरुदेखि म्युजिक स्ट्रिमिङ प्लाटफर्महरुमा समेत अंकुश लगाउने तयारी गरेको छ।

हडकङको सेयर बजारमा चीनको सबैभन्दा ठूलो खाद्यान्न डेलिभरी एप मेइत्वानको सेयरमा रेकर्डस्तरकै १७.६ प्रतिशतको गिरावट आएको छ।

यस्तै टेन्सेन्टको सेयरमा पनि ९ प्रतिशतले तल झरेको छ। टेन्सेन्टलाई सरकारले म्युजिक लाइसेन्सिङ डिल समाप्त गर्न आदेश दिएसँगै यो कम्पनीको सेयर मूल्य ओरालो लागेको हो।

केही समयदेखि चीनले आफ्ना टेक जायन्टहरुलाई निगरानी र कडाइ गर्दै लगेको छ। केही समयअघि मात्रै इ कमर्स जायन्ट अलिबाबालाई बिभिन्न आरोपमा २.८ अर्ब डलर जरिवाना गरेको थियो।