आइतबार उर्लिएको सेयर बजार एकदिनमै रोकियो, अन्तिम मिनेटमा फूर्को तान्दा ८ अंक रिकभर

बिजमाण्डू
२०७८ साउन ११ गते १५:४९ | Jul 26, 2021
आइतबार उर्लिएको सेयर बजार एकदिनमै रोकियो, अन्तिम मिनेटमा फूर्को तान्दा ८ अंक रिकभर


Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार करिब ५५ अंकको बढेर हरियाली छाएको सेयर बजार एक दिनमै रातो भएको छ। सोमबार बजार सूचक ८ अंकले घटेर ३०५० बिन्दुमा आएको छ।

एक समय १६ अंक सम्म घटिसकेको बजार अन्तिम मिनेट सम्म १२/१३ अंकको गिरावट थियो। समग्रमा ८ अंक र अन्तिम मिनेटमा ५ अंकको रिकभर भएपछि फराकिलो अन्तरको गिरावटबाट भने सेयर बजार जोगिएको छ।

कारोबार रकम भने आइतबारकै हाराहारी करिब १४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। आइतबार १४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो।

लगातार मूल्य बढेर सर्किट लागिरहेको ङादी ग्रुपको सर्वाधिक ३९ करोड ३० लाख रुपैयाँको सेयर किनबेच हुँदा पहिलोपटक ६ हजार रुपैयाँ माथि मूल्य पुगेको हिमालयन डिष्टिलरीको ३३ करोड ५६ लाख रुपैयँको कारोबार भएको छ।

एनआइसी एसिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकको ३२ करोड ८६ लाख रुपैयाँ  र नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

 बिशाल बजार कम्पनी, रिडी हाइड्रोपावर, जानकी पाइनान्स, माउन्टेन हाइड्रो, हिमालयन ऊर्जा विकास, ग्रीन लाइफ हाइड्रोपावर र ङादी ग्रुपको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

लक्ष्मी बैंक, सनराइज बैंक पोखरा फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य ३/३ प्रतिशतले घटेको छ।

जलविद्युत उपसमूह सर्वाधिक १०२ अंकले बढ्दा लघुवित्त समूह ९८ अंक, उत्पादन समूह ८४ अंक र जीवन बीमा समूह ६८ अंकले बढेका छन्। फाइनान्स ६५ अंकले बढ्दा व्यापार समूह समेत ५५ अंकले बढेको छ।

आइतबार ७२ अंकले बढेको बैंकिङ उपसमूह भने सोमबार सबैभन्दा धेरै ४३ अंकले घटेको छ। विकास बैंक ३४ अंक र अन्य समूह १० अंकले घटेको छ।

२२३ कम्पनीको सेयर कारोबारमा आउँदा ११० कम्पनीको मूल्य बढेको छ। ७ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।