अर्थोडक्स चियाका लागि मौसमको साथ न सरकारको व्यवहार, प्रतिकूलता उत्पादन र गुणस्तरमा 

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ साउन ९ गते ०९:४७ | Jul 24, 2021
अर्थोडक्स चियाका लागि मौसमको साथ न सरकारको व्यवहार, प्रतिकूलता उत्पादन र गुणस्तरमा 


Tata
GBIME
Nepal Life

विराटनगर। चियाका जातमध्ये सर्वोत्तम र उच्च आम्दानी दिनेमा पर्छ अर्थोडक्स। मौसमी प्रतिकूलताका साथसाथ समयमा मलजल पनि नपाएपछि यस वर्ष अर्थोडक्स चियाको उत्पादनमा ह्रास आउने अवस्था छ।

इलाम र पाँचथरमा चिया खेती र उद्योग सँगसँगै गरिरहेका व्यवसायीका अगुवाले अर्थोडक्स चियाको उत्पादनमा यस वर्षको सिजनमा १० देखि २० प्रतिशतसम्मले ह्रास आउने प्रक्षेपण गरेका छन्।

अर्थोडक्स चियाको सिजन चैतको मध्यदेखि सुरु हुन्छ भने कात्तिकसम्म पत्ती टिपेर उत्पादन भइरहेको हुन्छ। मंसिरदेखि चैतको मध्यसम्म पत्ती टिप्ने र उत्पादन पनि ठप्प हुने गर्छ।

हिमालयन टी प्रोड्युसर कोअपरेटिभ लिमिटेडका अध्यक्ष एवम् गोर्खा टी स्टेट प्रालिका सञ्चालक उदय चापागाईंले यो वर्ष अर्थोडक्स चियाको उत्पादन विगतका तुलनामा कमजोर हुने बताए। उनका अनुसार नेपालमा अर्थोडक्स चियाको वार्षिक उत्पादन ६० लाख किलोग्राम हो। यस वर्ष ५० लाख किलोग्रामको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ।

'यो वर्ष एक त हिउँदमा पानी परेन। चियाका बोटलाई मलजल गर्ने त्यो बेला सरकारले प्रांगारिक मलको आपूर्ति पनि गर्न सकेन,' उनले भने, 'हिउँदमा टाक्सिएका चियाका बोट र मुनालाई चैत-वैशाखको असिनाले अझ थिलथिलो बनायो। जसले गर्दा उत्पादनमा असर पुगेको छ।'
उखु खेती गरिरहेका किसानलाई अनुदान दिने सरकारले निर्यातमूलक उद्योगका लागि चियाको खेती गर्ने किसानलाई किन दिँदैन? भन्दै उनले आक्रोश व्यक्त गरे। सरकारी बेवास्ता र उदासीनताकै कारण चिया किसानले पर्याप्त प्रांगारिक मल नपाउँदा उत्पादनमा असर पुगेको उनको आरोप छ।

उद्यमी चापागाईंले यस वर्ष इलाम, पाँचथरका किसानमा निराशा छाएको उल्लेख गर्दै यस्तै अवस्था भइरहेमा चियाखेतीबाट उनीहरू पलायन हुन सक्ने बताए। यस वर्ष किसानले प्रांगारिक चियापत्तीको प्रतिकिलो ६० देखि १ सय तथा रासायनिक मल र विषादी प्रयोग गरिएका चियापत्ती प्रतिकिलो ३० देखि ५० रुपैयाँ मूल्य पाइरहेको उनले जानकारी दिए।

हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका महासचिव डिल्ली बाँस्कोटा यस वर्ष ग्लोबल वार्मिङको असर नेपालको पहाडी र उच्च पहाडी क्षेत्रको अर्थोडक्स चिया खेतीमा परेको बताउँछन्। ग्लोबल वार्मिङकै कारण यस वर्षको चियाको उत्पादन र गुणस्तर दुवै खस्किएको उनले बताए।

बाँस्कोटाले भने 'यो वर्ष मंसिरदेखि चैतको मध्यसम्म नै वर्षा हुन नसक्दा यस्तो अवस्था आएको हो।'

एक दशक अघिसम्म पूर्वी नेपालका इलाम, पाँचथर र धनकुटा जिल्लामा ठूला व्यावसायिक घरानाले मात्र चियामा लगानी गरेका थिए। सन् २०१० देखि साना किसान पनि संगठित हुन थाले र आपसमा मिलेर उद्योग राख्न थाले। अहिले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र भोजपुर जिल्लामा गरी अर्थोडक्स चियाका ८० वटा उद्योग सञ्चालनमा आइसकेका छन्। त्यस्तै १५ हजारभन्दा बढी किसान अर्थोडक्स चियाको खेतीमा संलग्न छन्। करिब १५ हजार साना किसानले ९ हजार हेक्टर क्षेत्रफलमा खेती गरिरहेका छन्।

स्पेसियालिटी टी एसोसिएसन अफ नेपालका अध्यक्ष राजु सेर्मा लिम्बुले यस वर्ष चियाको गुणस्तर खस्कँदा समुद्रपार निकासी हुने चिया भारतमै बिक्री गर्नुपर्ने अवस्था भएको जिकिर गरे। तीन वर्षअघि इलाम र पाँचथरका साना किसान र उद्यमीलाई सहयोग गर्न मित्रराष्ट्र चीनबाट प्राविधिक र विशेषज्ञ झिकाएको उनले स्मरण गरे।

'चाइनिजहरू उच्च मूल्यका अर्थोडक्स ग्रीन चियाका सौखिन हुँदा रहेछन्,' उनले सुनाए, 'यसका लागि हामीले त्यहीँको प्रविधि र सीप भित्र्यायौं। मेसिन पनि चीनबाटै ल्यायौं। चिनियाँ उपभोक्ताका लागि हामीले अर्थोडक्स चियाको उत्पादन त गर्यौँ तर यसैबीचमा कोभिडले हामीलाई थला पार्‍यो।'

१८ महिनायता एक कन्साइनमेन्ट पनि चिया चीनतर्फ निर्यात गरिएको अभिलेख नभएको उनले गुनासो गरे। 'हामी प्रतिकिलो १५ सयदेखि १५ हजार रुपैयाँसम्म पर्ने चिया निकासी गर्न तयार थियौं,' उनले भने, 'तर कोभिडका कारण चीनसितका सबै उडान ठप्प भए। जहाज नचलेपछि हामीले गर्ने निर्यात पनि बन्द भयो। जसले गर्दा भारतको सिलिगुडी र दार्जिलिङका व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य हुनुपर्‍यो।'

लिम्बूका अनुसार चिनियाँहरूले इलाम र पाँचथरको अर्थोडक्स चियालाई मन पराएका थिए। तर कोभिडका कारण हुनुपर्छ, गत वर्ष पनि अर्डर आएन र यस वर्ष पनि अहिलेसम्म आएको छैन।

नेपाललाई विश्व बजारमा परिचय गराउने सामग्री उच्च मूल्यको चिया नै भएको उल्लेख गर्दै सरकारले अर्थोडक्स चियाको उत्पादन र बजारका लागि सहयोगी भूमिका नखेलेसम्म यसको व्यवसाय फस्टाउन नसक्ने उनको भनाइ छ।