कोभिड दोस्रो लहरले बन्द बन्जी र जीपलाइन पुनः संचालनमा, धुलिखेलमा २०% छुट अफर

बिजमाण्डू
२०७८ साउन ८ गते १३:४७ | Jul 23, 2021
कोभिड दोस्रो लहरले बन्द बन्जी र जीपलाइन पुनः संचालनमा, धुलिखेलमा २०% छुट अफर

Tata
GBIME
Nepal Life

काठमाडौं। ठूलो लागतमा पूर्वाधार तयार गरेर आम्दानी लिने बेलामा कोरोना महामारीको संकट झेलेका साहसिक खेलहरु बन्जी र जीपलाइन स्टेशनहरु सञ्चालनमा आउन थालेका छन्।  

धुलिखेल जीपलाइन शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। पर्वतको कुश्मा र पोखरामा संचालित 'द क्लिफ' नेपालले गत बुधबारदेखि आफ्नो बन्जी सेवा पुनः संचालनमा ल्याइसकेको छ।

पोखरा जीपलाइनले शनिबारदेखि आफ्नो सेवा पुनः सुरु गर्नका लागि सबै तयारी पुरा गरिसकेको जनाएको छ। यसैगरी पूर्वको भेडेटारस्थित भेडेटार जीपलाइनले पनि आफ्नो सेवा संचालन पुनः सुरु गरेको जनाएको छ।  एड्भेन्चर टुरिजमलाई मध्यनजर गर्दै संचालनमा ल्याइएका यी कम्पनीले कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै उच्च सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै तीन महिना पछि पुनः सेवा सुरु गरेको जनाएका छन्। 

पूर्वाधार तयारीमा ठूलो लागत खर्चिएका साहसिक खेल कम्पनीहरुलाई कोरोना महामारीले निकै अप्ठ्यारो पारेको थियो। सञ्चालन सहज हुँदै गए विस्तारै अवस्था सुध्रिने अपेक्षा सञ्चालकहरुको छ।  

कोरोना महामारीका कारण बन्द भएको धुलिखेल जीपलाइनले तीन महिनापछि आफ्नो सेवा पुनः सुरु गरेको छ। कोभिड संक्रमण अवस्था नियन्त्रणमा आएसँगै कम्पनीले आकर्षक छुटसहित सेवा पुनः सुरु गरेको संचालक भुपेश श्रेष्ठले बताए।

'जीपलाइनका विभिन्न रेन्जमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं,' उनले भने। क्लासिक जीपलाइनको २५ सय लाग्नेमा २ हजार,  सुपरम्यान जीपलाइनको ३५ सयमा छुट गरि २८ सय र टेण्डम (जोडी) जीपलाइनको ४५ सयमा छुट गरि ३४ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए। 

कम्पनीले जीपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिएको जनाएको छ। क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडियोको लागि सात सय रुपैयाँ लाग्दै आएकोमा हाल पाँच सय रुपैयाँ कायम गरेको र  टेन्डम (जोडी) जीपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ निर्धारण हुँदै आएकोमा पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। 

जीपलाइनका लागि आउने पर्यटकका लागि कम्पनीले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेशको व्यवस्था रहेको संचालक श्रेष्ठले जानकारी दिए। २०७५ फागुनदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो कम्पनीले क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) लगायत तीन प्रकारको जीपलाइन खेल संचालन गर्दै आएको छ। 

जीपलाइनको धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा ल्याण्डिङ स्टेसन छ। खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा आठ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क बनाइएको छ। पार्क परिसरबाट पर्यटकले लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमालको दृश्यावलोकन गर्न सक्ने कम्पनीले जनाएको छ।