हिलोमा थन्किए ‘प्रदेश परिवहन’, मन्त्री भन्छन्, ‘एक साता भित्रै यसको व्यवस्थापन गर्नेछौँ’

बिजमाण्डू
२०७८ साउन ७ गते १७:०६ | Jul 22, 2021
हिलोमा थन्किए ‘प्रदेश परिवहन’, मन्त्री भन्छन्, ‘एक साता भित्रै यसको व्यवस्थापन गर्नेछौँ’


Tata
GBIME
Nepal Life

जनकपुरधाम। प्रदेश २ सरकारले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो।

५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसके पनि बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन।सरकारले खरिद गरेको बसको नाम ‘प्रदेश परिवहन’ राखियो। प्रदेश २ सरकारले गत फागुन १ गते पत्रकार सम्मेलनको आयोजना गरी फागुन महिनाभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा ल्याउने घोषणा समेत गर्‍यो।

सरकारले घोषणा गरेको पनि ५ महिना बितिसक्यो। सरकारले घोषणा गरेर पनि बस सञ्चालनमा ल्याउन नसक्दा खरिद गरिएको बसहरू महिनौँदेखि मधेस भवन परिसरमा रहेका कवर्डहलको हिलोमा थन्क्याएर राखिएको छ। थन्क्याएर राखिएका बसहरु सञ्चालनमा नआउँदा खिया लाग्न थालेको छ।

निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मा उठाउने एउटा सञ्चालक समिति गठन गरिने बताएका थिए। सञ्चालक समितिले नै बसको चालक, सहचालक नियुक्ति गर्ने सोनलले जानकारी दिएका थिए। प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने उनको दाबी थियो।

जनकपुरधामदेखि वीरगंज, वीरगंजदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म सो परिवहन सेवा सञ्चालन गरिने मन्त्रालय र निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको योजना थियो। ति योजना योजनामै सीमित रह्यो र सोनलको मन्त्री पद पनि गयो।

यस सम्बन्धमा नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश परिवहन सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै सो बसहरूको व्यवस्थापन गर्ने तयारी थालिएको बताएका छन्। उनले प्रदेश परिवहनको एक साता भित्रै व्यवस्थापन गर्ने समेत दावी गरे।

यादवले भने, ‘प्रदेश सरकारले प्रदेश परिवहन सञ्चालनमा ल्याउनु सबैभन्दा व्यर्थको कुरो हो, बस बिना प्रयोजन खरिद गरिएको हो।’ उनले खरिद गरिसकिएका बसहरुको प्रयोग प्रदेश परिवहनका लागि नभएर संघ संस्थाहरुलाई वितरण योजना रहेको जानकारी दिए।

उनले भने, ‘हामीले छलफल गरेर खरिद गरिएका बसहरु प्रदेश सरकारकै विभिन्न निकाय, प्रदेश परिसर भित्र वा परोपकारी संस्थालाई वितरण गर्ने हाम्रो योजना रहेको छ। यस सबैको छिनोफानो गरी एक साता भित्रै यसको व्यवस्थापन गर्नेछौँ।’