सडकमा अराजकताको राज : पठाओ चालकमाथि यातायात व्यवसायीको हातपात

बिजमाण्डू
२०७८ साउन ७ गते १३:३५ | Jul 22, 2021
सडकमा अराजकताको राज : पठाओ चालकमाथि यातायात व्यवसायीको हातपात


Tata
GBIME
Nepal Life

काठमाडौं। यातायात व्यवसायीहरुले आज सात बुँदे मागसहित हड्ताल गर्दा राजधानीको यातायात मात्र बिथोलिएन, अराजकताको अवस्था नै देखियो। चलिरहेका सार्वजनिक सवारी साधानलाई समेत प्रर्दशनकारीले रोकेर अवरोध पुर्‍याउने मात्र होइन, पठाओका चालकमाथि पनि मुक्काबाजीमा उत्रिए आन्दोलनकारी।

शान्ति पूर्ण भनिएको हड्ताल अराजक बन्न पुग्यो। सडकमा सवारी तेर्स्याएर निजि सवारी साधानलाई समेत ठाउँ ठाउँमा अवरोध पुर्‍याए यातायात व्यवसायीको संगठनका समूहहरुले। पठाओ चालक उनीहरुको निशानामा परिरहे।

पठाओका चालकलाई रोकेर कुटपिट समेत गरेका थिए आन्दोलनमा उत्रिनेहरुले। ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको हो। दिउँसो करिब १ बजेतिर यात्रु बोकेर आइरहेको पठाओका चालकलाई रोकेर कुटपिट गरेका थिए।

'एकजना लेडिजलाई बोकेर बाइक आइरहेको थियो। पठाओको भन्ने थाहा पाएपछि लेडिजलाई उतारेर युवक माथि कुटपिट गरे,' पहिलोपोस्टकर्मी समर्थ रञ्जितले भने।

उनलाई प्रर्दशनकारीले कुटपिट गरिरहँदा प्रहरीको उपस्थिति भने थिएन।

ती युवामात्र होइन अन्य पठाओ चालक पनि प्रर्दशनकारीको निशानामा परेका छन।

'अहिलेसम्म ३/४ जनालाई यसरी कुटपिट भएको छ। केही ठाउँमा शान्तिपूर्ण भए पनि धेरै ठाउँमा अराजक भएको देखियो,' बिहानै देखि आन्दोलन कभर गरिरहेका फोटो पत्रकार प्रवीन रानाभाटले भने।