निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं वरपरका होटल भरिभराउ, विकेन्डमा होटलको अकुपेन्सी ८०%

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ साउन ५ गते १३:३८ | Jul 20, 2021
निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं वरपरका होटल भरिभराउ, विकेन्डमा होटलको अकुपेन्सी ८०%


काठमाडौं। कोभिड-१९ को दोस्रो लहर नियन्त्रणका लागि झण्डै दुई महिना निषेधाज्ञा लाग्यो। निषेधाज्ञाका कारण घरभित्रै थुनिए। कोभिड संक्रमण दर घट्न थालेपछि केही दिन अघिदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।

Tata
GBIME
Nepal Life

निषेधाज्ञा खुकुलो भएसँगै विकेन्डमा घुम्न निस्किनेको संख्या बढ्दा विभिन्न पर्यटकीय गन्तव्यका होटल भरिभराउ हुन थालेका छन्। त्यसले होटललाई केही भए पनि राहत दिएको छ। नगरकोट, धुलिखेल, चन्द्रागिरी लगायतमा रहेका होटलमा पर्यटकको संख्या राम्रो छ। विकेन्डमा ती ठाउँका होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि छ।

निषेधाज्ञा खुकुलो हुँदै गएपछि चन्द्रागिरी रिसोर्टमा आन्तरिक पर्यटकको चहपहल बढेको महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। कुल एक सय कोठामध्ये सामान्यतया २५ वटा कोठा भरिने गरेको उनले बताए।

उनका अनुसार विकेन्डमा भने ८० वटा कोठा बुकिङ हुँदै आएको छ। सरकारले तत्कालका लागि केबुलकार संचालनका अनुमति नदिएका कारण कम्पनीले रिसोर्टमा आउने पाहुना बाहेकलाई सेवा नदिएको उनले जानकारी दिए।

रिसोर्टले यतिखेर आन्तरिक पर्यटक लक्षित दुई जनालाई आठ हजार रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट सहितको आकर्षक योजना ल्याएको शाहले बताए। 'रिसोर्ट एभरेजमा चलिरहेको छ। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिइरहेका छौं। निकट भविष्यमा आन्तरिक  पर्यटक लक्षित थप आकर्षक योजना ल्याउने तयारीमा छौं,' महाप्रबन्धक शाहले भने। रिसोर्टमा कार्यरत डेढ सय जनाभन्दा बढी कर्मचारीले कोभिडविरुद्धको खोप दुवै चरणको लगाइसकेको उनले जानकारी दिए।

उता नगरकोटमा यतिखेर आन्तरकि पर्यटकको चहपहल सुरु हुन थालिसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए। अन्य दिन भन्दा पनि शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल बढी छ। 

'नगरकोटमा आन्तरिक चाप बढ्न थालेको छ। विशेष गरी विकेन्डमा आन्तरिक पर्यटकको चहलपहल थप उल्लेख्य रहेको छ,' अध्यक्ष गुरुङले भने,'तर हामीलाई नगरकोट-कमलविनायक सडक खण्डले समस्या पारेको छ।' पर्यटक तान्न क्लब हिमालय रिसोर्टले आकर्षक योजना लागु गरिसकेको छ। रिसोर्टले दुई जनाको लागि ११ हजार रुपैयाँमै बेड एण्ड ब्रेकफास्टको योजना ल्याएको हो। रिसोर्टका अनुसार पाहुनाले यो योजना अन्तर्गत १० प्रतिशत छुट र अतिरिक्त खानपिनमा १५ प्रतिशत छुट पाउन सक्नेछन्।   

स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै कुल  ६८ कोठा मध्ये २४ वटा कोठा संचालनमा ल्याएको छ। 'हामीले एकपटकमा २४ वटा कोठा संचालनमा ल्याइरहेका छौँ। एक पटक पाहुना बसेको कोठालाई पुनः डिसइन्फेक्ट गर्छौं,' होटलका एक कर्मचारीले भने। 

नगरकोटमा रहेका सबैजसो होटल तथा रिसोर्टले पर्यटक तान्न विभिन्न अफर ल्याएका छन्। धुलिखेलका होटलमा शुक्रबार र शनिबार ४० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको क्षेत्रीय होटल संघ धुलिखेलले जनाएको छ। निषेधाज्ञा खुकुलो हुँदै गएपछि काठमाडौंबाट आउने पर्यटकको  चहलपहल बढेको संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए। 

'अब विस्तारै आन्तरिक पर्यटकको सहभागिता बढ्दै गएको छ। २० देखि २५ जनाको सहभागी हुने गरी साना बैठक संचालन गर्न सुरु गरिएको छ। रिफ्रेसमेन्टका लागि धुलिखेल नजिकैबाट आउने आन्तरिक पर्यटकको सहभागिता बढेको छ,' उनले भने। 

उनका अनुसार धुलिखेलमा सामान्य अवस्थाको तुलनामा अधिकतम ५० प्रतिशत छुटमा दुई जनालाई बेड एण्ड ब्रेकफास्टसहितको सेवा दिइएको छ। धुलिखेलमा चार महिना अगाडि संचालनमा आएको हिमालय दृश्य रिसोर्टले आउँदो शुक्रबारदेखि आफ्नो सेवा पुनः सुरु गर्ने जनाएको छ। पछिल्लो समय विकेण्ड, रिफ्रेसमेन्ट, सेमिनार लगायतको माग आएसँगै रिसोर्टले आउँदो शुक्रबारदेखि आफ्नो सेवा सुरु गर्न लागेको संचालक सीबी थापाले बताए।

'निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक पर्यटकको मागहरु आउन थालिसकेको छ। हामीले आउँदो शुक्रबारदेखि आफ्नो सेवा पुनः सुरु गर्ने योजना बनाएका छौं,' उनले भने।