बर्खाले दिनदिनै महँगियो हरियो धनियाँ, थोकमै प्रतिकेजी ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुँदै  

बिजमाण्डू
२०७८ साउन २ गते १०:०० | Jul 17, 2021
बर्खाले दिनदिनै महँगियो हरियो धनियाँ, थोकमै प्रतिकेजी ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुँदै  

Tata
GBIME
Nepal Life

काठमाडौं। भान्सामा तरकारी र अचारमा प्रयोग गरिने हरियो धनियाँको मूल्य आकासिएको छ। हाल बजारमा हरियो धनियाँको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ पुगेको छ।

स्वाद र सुगन्धका लागि उपयोग हुने धनियाँको भाउ घटे पनि बिक्री घटेको छैन। वर्षाले उत्पादनमा कमी आएपछि मूल्य बढेर प्रतिकेजी ३ सयभन्दा माथि गएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन्। 'वर्षायाममा जहिले पनि यस्तै हो। योपटक पनि उत्पादन हुने ठाउँहरुमा डुबान सुरु भएपछि धनियाँ महँगो भएको छ,' उनले भने।

यति बेला देशको केही भागमा मात्र धनियाँको उत्पादन हुन्छ। वर्षाले धनियाँ खेतीलाई असर गरेपछि बजार आपूर्ति घटेको छ। यसले गर्दा मूल्य बढ्न थालेको उनले बताए। बर्खाकै कारण एक सातामा हरियो धनियाको मूल्य प्रतिकेजी एक सय ३० रुपैयाँसम्म पुगेको उनको भनाइ छ। गत साता प्रतिकेजी २ सय २० रुपैयाँमा बिक्री भइरहेको थियो। 'मूल्य घट्ने बढ्ने भइरहन्छ। वर्षा सुरु भएपछि मूल्य बढ्दै गएको हो। एक महिनादेखि हरियो धनियाको मूल्य केजीमै २ सय रुपैयाँ बढेको छ,' उनले भने।

पहिले प्रतिकेजी एक सय रुपैयाँमा बिक्री हुने गरेको थियो। बजारमा आइपुगेको हरियो धनियाँ अरु तरकारी जसरी लामो समय राख्न सकिँदैन। सिजनको समयमा सबैतिरबाट धनियाँ आपूर्ति हुने भएको बजारमा बिक्री नभएर फाल्नु पर्ने अवस्था हुन्थ्यो। अहिले त्यस्तो छैन। स्वास्थ्यका लागि राम्रो मानिने धनियाँको बिक्री गर्मि समयमा धेरै हुन्छ।

खुद्रा बिक्रेताले धनियाँ किलोको भाउमा खरिद गरेर ससानो मुठा बनाएर बिक्री गर्ने गरेका छन्। वर्षामा फस्टाउन गाह्रो पर्ने भएकाले खेती गर्नेहरुलाई हरियो धनियाँ बारीमा जोगाइराख्न गाह्रो पर्छ। 

तरकारी, अचारमा स्वादका लागि मात्र नभइ यसबाट भिटामिन सी र प्रोटिन पाइने हुनाले उपभोक्ताहरुले खोज्ने गरेका छन्। जसले गर्दा उत्पादन कम र माग धेरै हुँदा मूल्य उच्च भएको हो। हाल काठमाडौं नजिकका जिल्लाहरुबाट धनियाँ बजारमा भित्रिने गरेको छ। भक्तपुर ललितपुर, बनेपा र नुवाकोटहरुमा थोरै थोरै उत्पादन भएर आइरहेको व्यवसायीले बताएका छन्। बजारमा बिक्री हुने धनियाँ स्वदेशी उत्पादन हुने गरेको छ।

स्वदेशी उत्पादनले पुग्ने भएकाले भारतबाट धनियाँको आयात नहुने व्यवसायी बताउँछन्। धनियासँगै अचारको रुपमा प्रयोग गरिने पुदिनाको पनि मूल्य पनि बढेको छ। हाल पुदिना प्रतिकेजी एक सय २० रुपैयाँमा थोकमा बिक्री भइरहेरेको छ।

पछिल्लो समय बर्खायाम सुरु भएपछि अन्य तरकारीको मूल्य बढेको छ। अन्य समयभन्दा कम उत्पादन हुने र लगातारको वर्षाले तरकारीहरु छिटै बिग्रने भएपछि बजारमा आपृर्ति कम हुन जान्छ।

यति बेला हरिया तरकारीहरुको मूल्य प्रतिकेजी ५० देखि एक सय रुपैयाँ भन्दा माथि नै हुने गरेको छ। अबको केही समय तरकारीको मूल्य बढ्ने बजार विकास समितिले जनाएको छ ।