सामाजिक सुरक्षाविरुद्ध बैंकका कर्मचारी आन्दोलित: दर्जन बैंकमा विरोध कार्यक्रम, मुद्दाको तयारी

बिजमाण्डू
२०७८ असार १७ गते ०२:०३ | Jul 1, 2021
सामाजिक सुरक्षाविरुद्ध बैंकका कर्मचारी आन्दोलित: दर्जन बैंकमा विरोध कार्यक्रम, मुद्दाको तयारी


काठमाडौं। असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन्।

Tata
GBIME
Nepal Life

उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा बिरोधको कार्यक्रम सुरु गरेका हुन्। आन्दोलन माछापुच्छ्रे बैंकबाट सुरु भएको छ। माछपुच्छ्रेसँगै नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा सुरु भइसकेको छ ।

बाँकी संस्थाले पनि भोलिबाट सुरु गर्ने सम्बन्धित बैंकका वित्तीय संस्थाका युनियनहरुले जानकारी दिएका छन्। 

बैंकका कर्मचारीहरु पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ।

त्यही भएर यसलाई स्वैच्छिक बनाउन उनीहरुले माग गरेका छन्। पहिलो चरणमा उनीहरुले आफ्नो बैंकको व्यवस्थापनलाई विरोधपत्र बुझाउन थालेका छन्।

'जबर्जस्ती कोषमा दर्ता नगरिदिन माग गरेका हौं। कर्मचारीको अनुमतिबिना दर्ता गर्न पाइन्न' युनियन सम्बद्ध कर्मचारीहरुले भनेका छन्, 'जबर्जस्ती गरे आन्दोलन कडा पार्ने छौं।'

कर्मचारीले कोषलाई स्वैच्छिक बनाउन पहल गरिरहेको बताउँदै कोसँग वार्ता गर्ने भनेर सम्बन्धित व्यक्ति र संस्था नै नभेट्टाएको बताएका छन्।

'कोषको मान्छेहरु हामीले केही गर्न सक्दैनौं माथि नै भन्नुपर्छ भन्नुहुन्छ,' युनियन सम्बद्ध एक कर्मचारीले भने, 'मन्त्रीले भेट्दा सहजीकरण गरिदिएका छौं कोषले मिलाउछ भन्नुहुन्छ। के गर्ने गर्ने भएका छौं।'

उनीहरुका अनुसार, दुईचार दिनमा समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउँदै अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको छ। उनीहरुले अदालतमा मुद्दा हाल्नका लागि त्यसको ब्यहोरा भने तयार पारेका छन्।

सरकारी र निजी क्षेत्रबीचका कर्मचारीबीच विभेद गरिएको कुरा मुद्दाको ब्यहोरामा उल्लेख गरिएको छ। यसलाई खारेज गर्न माग गरिने भएको छ।