एफएनसीसीआई अध्यक्ष गोल्छा भन्छन्- ‘अर्थतन्त्रलाई लयमा फर्काउन खोप महत्वपूर्ण’ 

बिजमाण्डू
२०७८ असार ९ गते १३:४५ | Jun 23, 2021
एफएनसीसीआई अध्यक्ष गोल्छा भन्छन्- ‘अर्थतन्त्रलाई लयमा फर्काउन खोप महत्वपूर्ण’ 


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई लयमा फर्काउन कोभिड-१९ विरुद्धको खोप नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

बिजमाण्डुले बुधबार आयोजना गरेको मौद्रिक नीतिबारे राष्ट्रबैंकका गभर्नरसँगको बहस भर्चुअल कार्यक्रममा बोल्दै उनले बजेटमा खोपका लागि रकम छुट्याएको भए पनि खोप नै नहुनु दुर्भाग्यपूर्ण भएको बताए। कोरोना कारणले नेपालमा ८ हजारले ज्यान गुमाइसकेको तथ्यांक राख्दै उनले जनजीवन सहज बनाएर अर्थतन्त्र लयमा फर्काउन खोप छिटो उपलब्ध गराउनुको विकल्प नदेखिएको बताए। छिमेकी मुलुक भारतले दिल्लीमा दैनिक ८० लाखलाई खोप लगाइरहेको अवस्थामा नेपालमा खोप नै नहुनु चिन्ताजनक भएको भनाइ राखे। 

खोप ल्याउन नसक्नुले दीर्घकालीन समस्या समाधान नहुने उनले बताए। मौद्रिक नीतिले पर्यटन, होटल, मनोरञ्जन लगायतका उद्योगलाई विशेष ह्याण्ड होल्डिङ गर्नुपर्ने उनले बताएका छन्। 'त्यस्ता उद्योगहरु दुई वर्षदेखि धेरै समस्यामा छन्। अहिले ७० प्रतिशत उद्योग बन्द छन्। तर पर्यटन, होटल, मनोरञ्जन लगायतका उद्योग व्यापारमा नै कसरी आउने भन्ने स्थितिमा छन्,' उनले भने।

गत वर्ष घोषणा गरिएको व्यापार व्यवसाय पुनर्कर्जा सुविधा धेरैले सहजै नपाएको भन्दै उनले वितरणको नीति संशोधन गर्नुपर्ने उनले बताए। 'मैत्रीपूर्ण रूपमा संशोधन गर्न उद्योग वाणिज्य महासंघले सुझाव दिइसकेको छ,' उनले भने। चालु वर्षको मौद्रिक नीतिमा आएका सुविधाहरुलाई निरन्तरता दिनुपर्ने उनले सुझाव दिए।

गोल्छाले बजेटले निजी क्षेत्रलाई राहत दिए पनि धेरै कुरा मौद्रिक नीतिमा निर्भर हुने तर्क गरे। गत वर्ष कसैले पनि अपेक्षा नगरेको अर्थतन्त्र तंग्रिएको उनको भनाइ थियो। तरलता एग्रेसिभ्ली मेन्टेन हुँदा यो सम्भव भएको उनले जिकिर गरे।

'लिक्विडिटी टाइट हुन लागेको छ। तरलतामा चाप पर्ने देखिएको छ। तरलता मेन्टेन गर्नुपर्ने चुनौती छ,' उनले भने, 'विद्युतीय र डिजिटल भुक्तानीलाई अझ बढी आक्रामक ढंगले बढाउदा अर्थतन्त्रलाई औपचारिकीकरण गर्न ठूलो मद्दत गर्छ।'