राइड सेयरिङ र ट्याक्सी मात्र खुलाप्रति यातायात व्यवसायीको विरोध, ‘गाडी कहिलेसम्म थुनेर राख्ने?’

बिजमाण्डू
२०७८ असार ८ गते ०७:५८ | Jun 22, 2021
राइड सेयरिङ र ट्याक्सी मात्र खुलाप्रति यातायात व्यवसायीको विरोध, ‘गाडी कहिलेसम्म थुनेर राख्ने?’


काठमाडौं। मंगलबारबाट टुटल, पठाओ लगायतका राइड सेयरिङ र ट्याक्सीलाइ संचालन गर्न दिने निर्णय भएपछि यातायात व्यवसायीहरुले सबै सार्वजनिक यातायातका सवारीसाधन संचालन गर्न पाउनुपर्ने माग गरेका छन्। 

Tata
GBIME
Nepal Life

आइतबार बसेको उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको बैठकले टुटल, पठाओ लगायतका राइड सेयरिङ र ट्याक्सीलाई जोरबिजोर प्रणालीअनुसार संचालन गर्न दिने र  बाकी सार्वजनिक सवारीसाधनलाइ १४ गतेसम्म संचालनमा रोक लगाउने निर्णय गरेको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रशासनको निर्णय बिभेदकारी भएको भन्दै गुनासो गरे। 'क-कसलाई बुझाउँदै हिँड्नुपर्ने हो। जोरबिजोर गर्नै पर्दैन। सबै खालका गाडी खोल्दिए हुन्छ,' उनले भने, 'सबै गाडी चले यात्रुहरु बाँडिएर बस्न सक्छन्। स्वास्थ्य प्रोटोकल पालना गर्न पनि सजिलो हुन्छ।' 

अधिकांश व्यापार व्यवसाय संचालन हुन थालिसकेकाले सार्वजनिक सवारीसाधन पनि संचालन गर्न दिनुपर्ने उनको तर्क छ।

'बजार व्यवसाय चलेका छन्। किर्तिपुरमा काम गर्ने कामदारले ‍ महाराजगंज कोठा जाने आउने कसरी ?,' उनी प्रश्न  गर्छन्, 'सर्वसाधरणले चढ्ने सार्वजनिक सवारीसाधन राज्यको प्राथमिकतामा कहिल्यै परेको छैन। गैरकानुनी सवारीसाधनलाई प्राथामिकता दिने तर कर तिर्ने सवारीसाधनलाई थुनेर राख्नु कति जायज हो?'

सर्वासाधारण पनि यतिबेला सार्वजनिक यातायात संचालन हुनुपर्ने मत नै राख्ने जिकिर उनको छ । राइइ शेयरिङलाई कानुनी दायरामा ल्याएर मात्रै संचालन गर्नुपर्ने उनले बताए।

ऐन कानुन सार्वजनिक यातायातलाई मात्रै लाग्ने गरेको गुनासो गर्दै उनी  कोभिड संक्रमण नियन्त्रणका लागि समाधान जोरबिजोर प्रणाली नभएर कडा अनुगमन भएको बताउँछन्। ट्याक्सीमा पनि जोरविजोर प्रणाली आवश्यक नभएको उनको भनाइ छ।

सार्वजनिक यातायात र ट्याक्सी संचालनम समेत अनावश्यक कडाइ गरिँदा अहिले रातो नम्बर प्लेटका सवारीसाधनहरुले मान्छे ओसारपसार गरिरहेको आरोप सिटौलाको छ।

यातायात व्यवस्था विभाग र मन्त्रालयले पहल नलिएका कारण समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ। यातायात नै नबुझ्ने कर्मचारी रहेका कारण अहिलेको अवस्था आएको उनीहरुको आरोप छ।

सिटौला भन्छन्, 'टाउकोको औषधि पेट दुखेकालाई दियो भने के हुन्छ? यहाँ त अवस्था त्यस्तै छ। सरकारी कर्मचारीले बुझ्दैनन्। सुन्न-बुझ्न चाहने हो भने हामीसँग विज्ञता छ। हामी बुझाउँछौ।'

सवारी साधनलाइ थुनेर राखिएको भएपनि बैकहले ऋण तिर्न ताकेता गरेर हैरान पारेको व्यवसायीहरुले बताएका छन्। व्यवसाय कोमामा भएको अवस्थामा समेत एकातिर बैंकहरुले उत्तिकै च्यापेका छन् भने राज्यले केही पनि राहात नदिएको र यसले यातायात व्यवसायीहरुलाई सामाजिक रुपमा समेत अन्याय भएको गुनासो उनीहरूको छ।

सरकारले याताताय व्यवसायीहरुको मर्कालाई सुन्ने र बुझ्ने कोशिस नगरेमा सडकमा गाडी उतार्न सक्ने चेतावनी उनीहरुले दिएका छन् । सार्वजनिक स्वास्थ्यमा जोखिमको अवस्था रहेकाले तत्काल सडकमा गाडी ननिकालि चुप लागेर बसेको भएपनि सरकार उपेक्षा गरिरहे विकल्प सोच्ने सिटौलाको भनाइ छ।

महासंघका अनुसार सार्वजनिक यातायातका रुपमा देशभर चार लाख सवारीसाधन चल्छन्। यो क्षेत्रमा १० खर्ब रुपैयाँ बराबरको लगानी रहेको बताइएको छ। ११ लाख जनाले सार्वजनिक सवारी क्षेत्रबाट रोजगारी पाएको महासंघको आँकडा छ। उक्त रोजगारीबाट करिब ४० लाखले जीविकोपार्जन गर्दै आएको जिकिर गरिएको छ।

यस्तै, ६५ प्रतिशत स्वरोजगार व्यवसायी छन्। अधिकांश व्यवसायीले २० प्रतिशत आफ्नो र ८० प्रतिशत बैंकबाट ऋण लिएर व्यवसाय गरेका छन्।यसअघि पनि करिब एक वर्ष लक डाउन थेगेको भन्दै अब व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउन लागेको सिटौलाले बताए।  अहिले करिव दुइ महिनाको बन्द झेलिसकेको भन्दै अब नसक्ने अवस्थामा पुगेको उनको  भनाइ छ।