बगबाउन्टीमा जोडियो मोबाइल वालेट डी-पैसा, प्रणालीमा त्रुटि भेटे प्रति जोखिम साढे २३ हजार दिने

बिजमाण्डू
२०७८ असार ६ गते १२:३३ | Jun 20, 2021
बगबाउन्टीमा जोडियो मोबाइल वालेट डी-पैसा, प्रणालीमा त्रुटि भेटे प्रति जोखिम साढे २३ हजार दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। मोबाइल वालेट तथा अनलाइन भुक्तानी सेवा प्रदायक डी-पैसाले आफ्नो सफ्टवेयर तथा साइबर त्रुटि पत्ता लगाउन आह्वान गरेको छ। 

साइनिकल टेक्नोलोजीले डी-पैसाको प्रणालीको सुरक्षामा कुनै त्रुटि वा समस्या भेटिए रिसर्चरहरुलाई प्रति कमजोरी १० देखि २०० अमेरिकी डलरसम्म भुक्तानी गर्ने जनाएको छ।

गोल्डमाइन बिजनेस प्रालिले सञ्चालन गर्ने डी-पैसालाई नेपाल राष्ट्र बैंकले गत मंसिर २९ गते सञ्चालन अनुमति दिएको थियो। जसअनुसार कम्पनीको चुक्ता पुँजी १२ करोड रुपैयाँ रहेको छ। गोल्डमाइन नेपाल टेलिकमको रिचार्ज कार्डको आधिकारिक वितरकसमेत हो। 

साइनिकल टेक्नोलोजीले गत पुसमा पहिलोपटक साइबर सुरक्षामा काम गर्ने गरी 'बग बाउन्टी' सुरुआत गरेका थिए। 'बग बाउन्टी' मार्फत् विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन सक्ने प्रणाली नेपाली युवाहरुले नै विकास गरेका हुन्। 

जोखिम पत्ता लगाए वापत रिसर्चरहरुले रिवार्डसमेत प्राप्त गर्न सक्ने साइनिकल टेक्नोलोजीका संस्थापक एवम् सीइओ नरेश लाम्गादेले बताएका छन्। 

कम्पनीले साइबर सुरक्षाको आवश्यकता पर्ने सरकारी निकाय, विभिन्न निजी तथा सार्वजनिक संघ-संस्थालाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ। जसबाट बग-भीमा रहेका ह्याकरहरुमार्फत् आफ्नो सिस्टममा हुनसक्ने सुरक्षा खतरा वा जोखिम पहिचान गराउन सक्ने छन्। 

हाल 'बग' फेला परेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग कम्युनिकेसन गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना दोहोरिरहेका छन्। यस्ता घटनाहरु न्यूनीकरणमा सहयोगी बन्ने लक्ष्यसहित कम्पनी स्थापना गरिएको थियो।