‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता सुरु, उत्कृष्ट ७ लाई १ लाखसम्मको पुरस्कार

बिजमाण्डू
२०७८ असार ४ गते ११:५७ | Jun 18, 2021
‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता सुरु, उत्कृष्ट ७ लाई १ लाखसम्मको पुरस्कार

Tata
GBIME
Nepal Life

काठमाडौं। डिजिटलाइजेसनको वर्तमान अवस्था र भविष्यबारे नयाँ पुस्ताको बुझाइ थाहा पाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ।

माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूलाई लक्ष्य गर्दै आयोजित प्रतियोगितामा असार ३० गतेसम्म सहभागिता जनाउन सक्ने बताइएको छ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेसनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्ने छन्।

असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचनाहरुलाई छनोट गरी उत्कृष्ट सात वटालाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

२०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ। इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी (www.mydigitalnepal.org) वेबसाइटमा गएर आफ्नो रचना बुझाउन सक्ने बताइएको छ। 

सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्ने सक्ने आयोजकले जनाएको छ।

माई सेकेण्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लाटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ।

मेरो डिजिटल नेपाल थिममा आइसिटी राइटिङ एण्ड डिजिटल क्रिएटिभिटी कम्पिटिसन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित ७ जनाको छनोट समिति रहेको आयोजकले जनाएको छ।